धार्मिक द्वन्द्व निम्त्याउने दुश्प्रयास

सम्पादकीय
नेपाली समाज बिबिधतायुक्त समाज हो । यो सुन्दर पक्षबारे नेपालले सदैव गर्व र गौरव गरिरहेको छ । तर, विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय घटना एक पछि अर्को देखिन थालेको छ । जसले जातिय र धार्मिक द्धन्द्ध निम्त्याउने खतरा बढेको छ । केही साता अघि धरानमा हिन्दु धर्मालम्बी र क्रिस्चियन धर्मालम्बीका बिचको विवाद र त्यसपछि उत्पन्न तनावको अवस्था होस् या नेपाल गञ्जमा हिन्दू र मुस्लिम समुदाय बिचको तनावको घटना होस् या अरु केही जिल्लामा भएका धार्मिक र जातिय द्धन्द्ध झल्काउने घटना होस् । नेपाली समाजको एकता र सद्भाव निकै कमजोर हालतमा छ भन्ने प्रष्ट देखिएको छ । उसो त जाति र धर्मको नाममा पर्दा पछाडिबाट अनेक खेल खेलेर मुलुकमा अस्थिरता सिर्जना गर्ने नियोजित योजना पनि अन्र्तनिहित छ भन्ने कुरा लुकेको छैन । नेपालगञ्जको एक सामाजिक सञ्जालमा पोस्ट भिडियो र स्टाटसले सिंगो देश तरंगित बन्ने कुराले गम्भीर संकेत गरेको छ ।

धर्मको विषयले नेपालगञ्ज क्षणभरमै हिन्दू र मुस्लिमको तिव्र विवादले खतराको इपी सेन्टर बन्यो । यस क्रममा सार्वजनिक सम्पत्ति तोडफेड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि हुन थाल्यो । यस्तो अवस्था किन र कसरी उत्पन्न भयो त ? सेना परिचालनसहित कर्फ्यू लगाउनुपर्ने परिस्थितिको थालनी अमूक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस कारण थियो । बाँके नरैनापुरका युवक जार्बुद यादवले फेसबुकमा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर स्टाटस लेखेका थिए । धेरै फलोअर्स नभएका र सार्वजनिक परिचय सामान्य रहेका ती युवकको स्टाटस मुस्लिम समुदायमा विस्तारै फैलियो । मुस्लिम डे (११ असोजमा) कै दिन उक्त स्टाटस लेखिएकाले मुस्लिम समुदायले आपत्ति जनाए । आफ्नो धर्मका प्रतीक पैगम्बर मोहम्मदप्रति गरिएको टिप्पणीलाई लिएर मुस्लिम युवाहरुले आक्रोशित मुद्रामा टायर बाल्ने, उग्रनाराबाजी गर्नेदेखि जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडे । यसको प्रतिवादमा हिन्दूवादी धार्मिक संस्था ओमकार परिवारले बन्द आह्वान ग¥यो । यसबिचमा सद्भाव ¥याली निकाले पनि हिन्दूहरुको बन्द आह्वान र प्रदर्शन रोकिएन । हिन्दू राज्य र गौ हत्या बन्द गरिनुपर्ने माग उठ्यो । यही क्रममै दुई पक्षबीच झडप नै भयो । ढुंगा हानाहान, भागदौडमा केही घाइते भए पनि ज्यानै जाने सम्मको अप्रिय घटना भने भएन ।

धार्मिक तथा सामाजिक सद्भाव भड्कन सक्ने संभावित संकेत पछि स्थानीय प्रशासनले आजको समय र व्यवस्थामा पनि ठाउँ ठाउँमा पटक पटक अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुपर्ने अवस्था आउनु दुखद कुरा हो । नेपालगञ्ज घटनामा स्थानीय प्रहरी प्रशासनले समयमै धार्मिक सद्भाव बिथोल्ने प्रयासमा गरिएको बेवास्ता गम्भीर कमजोरी हो । धर्म र जात यस्तो चिज हो, जुन विषयमा नेपाली समाज निकै छिटो बिभाजित हुने मात्र होइन, मुलुक नै अस्थिरताको भूमरीमा पर्ने खतरा हुन्छ । भारतको मणिपुर घटनाको ताजा उदाहरण हो । पूर्वी नेपालकै धरान र सर्लाहीको घटनामा पनि कफ्र्यू नै जारी गर्नुपर्ने अवस्था आएको थियो । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक, धर्मनिरपेक्ष राष्ट्र हो । आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ । यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ । तर, आफ्नो धर्म मनाउँदै गर्दा अर्को धर्म या आस्थामा चोट पुग्ने गतिविधि कसैले पनि गर्नु हुँदैन । वर्तमान व्यवस्था र संविधानले दिएको वाक स्वतन्त्रता हो तर त्यसको आडमा जे पनि लेख्ने, बोल्ने र अराजक गतिविधि गर्ने स्वतन्त्रता होइन । यसमा सरकार, सरोकारवाला निकाय र हरेक नागरिक उत्तिकै सचेत र जिम्मेवार हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *