निजी क्षेत्रले ढोरपाटनको विकासमा सहकार्य गर्छ : अध्यक्ष ढकाल

पर्यटन प्रवद्र्धन गर्न नेपाल उद्योग वाणिज्य महासंघले बागलुङको पर्यटकीय स्थल ढोरपाटनमा केन्द्रीय कार्यकारिणी समितिको बस्यो । महासंघको यो बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । रहेक वर्ष आन्तरिक तथा बाह्य पर्यटक आउने ढोरपाटन पूर्वाधारका हिसाबले निकै पछाडि छ । यहाँ विकास निर्माणमा निजी क्षेत्रको पनि मत्वपूर्ण भूमिका रहने स्थानीयले बताउँदै आएका छन् । ढोरपाटनमा बसेको बैठकले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने, देशका पाँचै प्रदेशमा प्रदेश सरकारको सहभागितामा लगानी सम्मेलन गर्ने लगायतका निर्णय पनि गरेको छ । त्यसबाहके बैठकले कस्तो सन्देश दियो ?, उपलब्धी के हुन्छ ?, लगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग आदर्शकर्मी खेमराज गौतमले गरेको कुराकानी –

ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघका बैठक बस्नुको उद्देश्य के हो ?
महासंघको नयाँ कार्यसमितिले पहिलो निर्णय नै कार्यसमितिको बैठक जिल्ला बाहिर गर्ने भनेका थियौ । दोस्रो बैठक वर्षातका कारण पुन काठमाण्डौ बाहिर गर्न सकिएको थिएन । ढोरपाटन आफैमा पर्यटकीय हिसाबले प्रसिद्ध भएको छ । तर भनेजस्तो विकास भएको छैन । आफ्नो गृह जिल्ला समेत भएकाले र यहाँको ढोरपाटनको पर्यटन प्रर्बद्धन गर्ने सोचका कारण बागलुङमा तेस्रो केन्द्रीय बैठक आयोजना गर्ने भनेर कार्यसमितिमा प्रस्ताव गरेको थिएँ । कार्यसमितिका साथीहरुले स्विकार गर्नुभएपछि त्यसैले ढोरपाटनमा बैठको आयोजना गरिएको गरिएको हो । ढोरपाटनको विकासमा निजी क्षेत्रले चासो दिएको सन्देश समेत हो यो बैठकको उदेश्य हो ।

गृह जिल्लाको विकासमा समेत आवश्यक चासो र चिन्ता हुनु स्वभाविक हो । जिल्लाको पर्यटनको विकासमा आफूले केही काम गर्ने सोच सेमत बनाएकाले देशभरका नीजि क्षेत्रका नेतृत्वकर्ताहरुलाई ढोरपाटन ल्याएको हुँ ।

ढोरपाटनमा निजी क्षेत्रको नेतृत्वसहित दुई दिन बिताउनुभयो, के–के संभावना देख्नुभयो ?
म दोस्रो पटक ढोरपाटन आएको हुँ । पहिला केही कामले हेलिकप्टर मार्फत आएको थिएँ, त्यसैले धेरै बुझ्न पाएको थिएन । पर्यटनका हिसावले धेरै सम्भावना छ, जैविक विविधता छ, बन्यजन्तुको सिकार यहाँको मुख्य आकर्षण रहेको छ । यहाँ जलविद्युतको पनि राम्रो सम्भावना रहेको पहिल्यै एक अध्ययनमा आइसकेको कुरा हो । त्यो बाहेक यहाँ सुविधा सम्पन्न होटल सञ्चालन गर्न सकिने, पदयात्रा मार्फत पर्यटक भित्राउने सकिने र आलुको निर्यातदेखि स्याउ खेतीको विस्तार समेत गर्न सकिने सम्भावना हामीले देख्यौँ ।

यहाँको स्थलगत सबै अध्ययन गरेपछि मलाई थाहा भयो कि ढोरपाटन आफैमा एक अथाह सम्भावनाको खानी रहेछ । यहाँको मौसम, वातावरण र स्थानीय उत्पादनहरुका कारण मुख्य गरी पर्यटकहरु लोभ्याउन सक्ने क्षमता यो माटोसँग प्रसस्तै छ । धार्मिक पर्यटक र साहसिक पर्यटक दुबैलाई आकर्षित गर्नसक्ने गन्तव्य बन्न सक्ने मैले देखेँ । विशेषगरी सिकार पर्यटनलाई नै संस्थागत गर्दै पर्यटकीय पूर्वाधार नै लगानी बढाउन आवश्यक छ । हामीले यो सम्भाना यहाँ देख्यौँ, हेरौँ केही गर्न सकिएला ।

यहाँले केबलकार, होटल लगायतका ‘हस्पिटालिटी’ का क्षेत्रमा ठूलो लगानी गरिरहनुभएको छ । ढोरपाटनमा पनि केही गर्ने सोच आयो की ?
हामीले लगानी जुटाउने वातावरण बनाउछौँ । यही ढोरपाटनको बैठकबाट देशभरका उद्योगी तथा व्यवसायीहरुको समुहिकरुपमा ठूलो कम्पनी निर्माण गर्ने र सम्भावना भएको क्षेत्रमा लगानी गर्ने सोच पनि यतिखेर हामीले बनाएका छौँ । ढोरपाटनमा पहिलो सुविधा सम्पन्न होटल नै आवश्यक देखिन्छ । होटल प्रमुख सम्भावना सँगै प्याराग्लाइडिङ लगायतका थुप्रै सम्भवनाहरु हामीले देखेका छौँ । म गृह जिल्लाबासी समेत भएकाले ढोरपाटनमा लगानी गर्न र ढोरपाटनको पर्यटकीय सम्भावनालाई थप प्रबद्र्धन र विकासमा सदैव मेरो साथ र सहयोग हुन्छ । ढोरपाटन सहित जिल्लाको समग्र विकासमा मेरो सहयोग र सहकार्य हुन्छ ।

ढोरपाटनमा हाम्रो पहिलो प्राथमिकता आतिथ्यता नै हो । यो त मेरो गृह जिल्ला समेत भएकाले केही न केही गर्ने योजना त छ नै । यस विषयमा निजी क्षेत्रका अन्य साथीहरुसँग पनि परामर्श गर्छु ।

यहाँको अध्यक्षताको महासंघको तेस्रो बैठकले के–के निर्णय ग¥यो ?
यो बैठकबाट मुख्यतः तीन वटा मुख्य निर्णय गरेका छौं । ढोरपाटनमा आयोजना गरिएको बैठकले अंग्रेजी वर्ष २०२५ लाई निजी क्षेत्रबाट पर्यटन वर्षको रुपमा मनाउने निर्णय भएको छ । त्यस्तै नेपालका सातै प्रदेशमा लगानी सम्मेलन गर्ने र आर्थिक संकट घटाउँदै तरलता बढाउन असोज मसान्त भित्र उच्चस्तरीय राजनैतिक तथा सरोकारवाला निकायहरुबीचको छलफल गरेर ठोस उपाय निकाल्ने गरी कार्यशाला जस्तै एक कार्यक्रम गर्ने निर्णय भएको छ । अहिले व्यवसायिक क्षेत्रमा आएको नैराश्यतालाई मध्यनजर गर्दै सरकारसँग सहकार्य र समन्वय गरेर व्यापारीहरुको मनोवल बढाउने काममा महासंघ केन्द्रित हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *