उद्धारमा छैन गम्भीरता, राहत घोषणामा हतार

सम्पादकीय
उच्च शिक्षाका लागि इजरायल पुगेका १० विद्यार्थीले ज्यान गुमाएको खबरले सिंगो नेपाल र नेपाली स्तब्ध छ यतिबेला । जन्म दिएर हुर्काइ, पढाइ लेखाइ गरेका सम्बन्धित परिवार, आफन्तको पीडा र क्रन्दन कति होला ? त्यो साँेच्दा सम्म पनि निकै गाह्रो अनुभव हामीलाई हुन्छ । तर, देशले नेपाली नागरिकले पटक पटक यस्तो नियति भोग्न बिबश छौ । अहिले इजरालयमा आतंककारी समूह हमासको आक्रमण निरन्तर जारी छ । गोलाबारुद देखि रकेट प्रहारले अरु ठुलो संख्यामा रहेका विद्यार्थी र नेपाली कामदार भयग्रस्त अवस्थामा नेपाल सरकारसँग उद्धारको याचना गरिरहेका छन् । अहिले प्रायः सबै बंकर भित्र बसिरहेको र रातको समयमा कति बेला आक्रमणमा ज्यान जान्छ भन्ने भय र तनावमा तीन दिनको समय बितिसकेको छ । उनीहरुले नेपाल सरकार र प्रधानमन्त्री प्रचण्डलाई भिडियो सन्देश र कापीको पानामा लिखित पत्र लेख्दै आफूहरुको श्वास जोगाइदिन आग्रह गरेका छन् ।

युद्ध भूमिमा जीवनको याचना, अनुनय विनय गरिरहेका विद्यार्थी र अरु थुप्रै नेपाली दाजुभाइको उद्धार पहिलो प्राथमिकता हो । सरकार यसकै लागि लागि पर्नुपर्छ । तर, हाम्रो देशमा संघीय सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार यथोचित समयमा पहल र उद्धार गर्ने कार्य गर्न सकिरहेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वंयम् उद्धार गरिसक्नु बेला सम्म अझै पहल, समन्वयको अधिकतम कोसिस भइरहेको बताइरहेका छन् । अझ यही पीडाबोधका बिच इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले हठात् दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । हमासको आक्रमणबाट इजरायलको किबुजस्थित कृषि फर्ममा इन्टर्न गरिरहेका सुदूरपश्चिम प्रदेश घर भएका सातसहित १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने सबै सुदूरपश्चिम विश्वविद्यालयमा बिएस्सी एग्रिकल्चर अध्ययनरत थिए । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू एक महिनाअघि इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीमध्ये १० जनाको हमलामा ज्यान गएको दुखद खबरले सर्वत्र पीडाबोध भइरहेको छ ।

सरकारले अरु दायाबाया केही नसोचि आफ्ना नागरिकको सकुशल फिर्ताका लागि पहल, समन्वय गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । तीन दिनदेखि बंकरमा छन्, राम्रो सँग खान पाएका छैनन् । आफ्नै साथीहरु रकेट बममा उडेर भयानक मृत्यु झेलिरहेको कसरी सामना गरिरहेका होलान् ? यो समय त निकै भयानक त्रासदीपूर्ण क्षण हो । निरन्तर आक्रमणको यतिका समय बितिसक्दा सरकारले उद्धार गरिसक्नु पर्ने हो, हाम्रो देशको अन्तर्राष्ट्रिय सम्बन्ध पहुँचका कारण लाचार बन्ने अवस्था कहिले सम्म ? १० जना विद्यार्थीको त अनाहकमा ज्यान गुमिसकेको छ । अब पनि ढिलाइ या प्रभावकारी कदम चाल्न नसक्ने हो भने अरु थप अप्रिय दुर्घटना र क्षति बेहोर्नु पर्ने अवस्था सन्निकट छ । अतः सरकार, प्रधानमन्त्री, मन्त्रीहरुले कुरामा भन्दा पनि काम र व्यवहारमा उद्धार र राहतको काम गर्न सक्नुपर्छ । अझै पनि प्रथमतः इजरायलमा ज्यान धरापमा रहेका नागरिकहरुको उद्धारमै केन्द्रित गर्नुपर्छ । सम्पर्कविहीन तथा घाइते विद्यार्थीको शीघ्र खोज तथा उद्धार सँगै मृतकका शव पनि नेपाल ल्याउन पहल हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *