क्रिसमस डेको शुभकामना

सम्पादकीय
आज क्रिसमस डे । इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको रौनकताले नेपालको पनि शहर बजार झिलिमिली बनेको छ । केही दिन यता देखि नै क्रिसमसको रौनकता र उत्साहले सर्वत्र छोपेको छ । धर्मनिरपेक्ष देश भए यता नेपालमा पनि क्रिसमसको चहल पहलमा उल्लेख्य बृद्धि भएको छ । हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलूक हो । नेपालको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको छ । विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । फलतः यस पर्वका अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत हो । यही भावना र मर्मका साथ जनताको संघर्ष र बीरतापूर्ण बलिदानीबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरियो । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता हो । यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा उल्लेखित लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको पनि छ । हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् ।

कुनै समय यस्तो थियो, एउटा धर्म मान्ने र अर्को धर्म मान्ने बिच तिब्र कटुटता, शत्रुता हुन्थ्यो । पछिल्लो समय सबै धर्मावलम्बी बिच एक आपसमा धार्मिक सहिष्णुता बढ्दै गएको छ । जसरी बडादशैं, तिहार अरु धर्मालम्बीले पनि उत्साहका साथ मनाउछन्, त्यसरी नै इसाईहरूको महान् पर्व क्रिसमस इसाईहरूले मात्र नभएर अन्य धर्मका अनुयायीहरूले पनि पर्वको रूपमा मान्न थालेका छन् । वनभोज, पार्टी, कार्ड र उपहारद्वारा शुभकामना आदानप्रदान गर्ने गरेका छन् । यो नेपाली समाजको विविधता, विशेषता मात्र होइन, धार्मिक सद्भावको सुन्दर दृश्य र सद्भाव पनि हो । हुन त कतिपय अवस्थामा क्रिस्चियन भन्न साथ नकारात्मक सोच्ने प्रवृत्ति पनि छ । तर, ०६२÷०६३ को दोस्रो जनआन्दोलनको प्रतिफल धर्मनिरपेक्षता पनि एक हो, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न त्यसको आधारभूत मूल्य र मान्यतालाई कसैले पनि उपेक्षा गर्न मिल्दैन । जुन कुनै पनि नागरिकले आफुलाइ मन लागेको धर्म मान्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ, यद्यपि अरुको धर्म मान्ने स्वतन्त्रतामा हस्तक्षेप गर्न पाइदैन । यस वर्षको क्रिसमस पनि उत्सवमय बनोस् । समस्त इसाइ धर्मालम्बी दाजुभाइ दिदीबहिनीहरुमा क्रिसमस डेको हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *