बालकुमारी प्रकरणः गैरजिम्मेवार मन्त्री र प्रहरी

सम्पादकीय
ललितपुरको बालकुमारीमा शुक्रवार दुखद घटना भयो । प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान प्रयासरत देशका उदाउँदा दुई युवकले अनाहकमा ज्यान गुमाए । सुरक्षाकर्मीले हानेको गोली पेटमा लागेर अछामका वीरेन्द्र शाहको ज्यान गयो भने सोही घटनामा दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको छ । यद्यपि, उनको पनि मृत्यु भएको छ । सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुनसक्ने सुरक्षाकर्मीको दावी छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरू पानीजहाज निर्माण गर्ने कम्पनीका लागि दिएको परीक्षामा असफल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि फारम भर्न पाउनुपर्ने माग सहित प्रदर्शनमा उत्रिएका थिए । यसमा उच्च अदालत पाटनले समेत निवेदन दिएका १८ जनालाई फारम भर्न पाउने आदेश दिएको थियो । तर अर्को आदेश भने दुई जनाको ज्यान गए पछि मात्रै दियो । जुन निकै महँगो सावित भयो ।

यस घटनाको विकसित समाचार जे जसरी आयो । आइतवार सम्म आउँदा नयाँ तथ्यहरु उजागर भएको छ । अदालतको आदेशअनुसार फारम भर्न पाउनेलाई ईपीएस कार्यालयमा प्रवेश अनुमति र अरूलाई हटाउन थाले फारम भर्न नपाउने र प्रहरीको बिचमा ‘धकेला धकेल’ हुन भयो । यही क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी रोकेर प्रदर्शनकारीले जलाएको समाचार भाइरल बन्यो । ‘तनावपूर्ण ठाउँमा मन्त्री ज्वाला किन गए ?’ उनका पिएसओ पनि किन अर्को बाटो रोजेनन् ? यो आम प्रश्नको विषय बनिरहेको छ । यसमा अझ दुर्भाग्यपूर्ण कुरा त यो घटनामा मन्त्री ज्वालाले आफू घटनास्थलमा भएर पनि थिइनँ भनेर झुट्टो बोलेको पनि पुष्टि भएको छ । उनले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएको र आफूलाई बैठकस्थलमा छोडेर फर्किंदा गाडीमा आगजनी भएको बताएका थिए । अहिले सामाजिक सञ्जाल मार्फत बाहिरिएको भिडियोमा मन्त्री ज्वाला त्यहीँ भएको र उनी झन्डा फहराएको गाडीबाट निस्केपछि प्रदर्शनकारीले हातपात गर्न खोजेको देखिन्छ । त्यसपछि पैदल हिँड्दै उनी फेरि कान्तिपुर गार्डेन स्थित पार्टीको बैठक स्थलमा प्रवेश गरेका थिए । घटनामा अझ अर्को गम्भिर तथ्य मन्त्रीको गाडीमा आगजनी गर्नुअघि नै ग्वार्को चोकमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको खुलेको छ । जबकि सुरक्षा अधिकारीले मन्त्रीको गाडी आगजनी गरेपछि गोली चलाउनुपर्ने अवस्था आएको भन्दै घटनालाई विषयान्तर गर्न खोजेको थियो ।

बालकुमारी घटना प्रकरणमा सरकार लाचार छ । प्रहरी सनकको भरमा दुई युवा माथि गोली चलाएर ज्यान लिएको छ । घटनास्थलमा कारक बनेका श्रममन्त्री झुट बोलेर आफ्नो इमानको असली मुकुण्डो उतारेका छन् । घटनाबारे अध्ययन गर्न गृहमन्त्रालयले छानविन समिति त गठन गरेको छ । तर, यो छानविन समिति पीडित परिवारले नमान्ने अडान लिएका छन् । जसका बारेमा प्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च स्तरीय छानविन समिति गठनका लागि सत्तारुढ गठबन्धन दलसँग छलफल समेत गरेका छन् । चरम लापरवाहीपूर्ण तबरबाट भएको घटनाको सर्वत्र बिरोध भइरहेको छ । यस घटनाले सरकार र सम्बद्ध सबैलाई लज्जाबोध बनाएको छ । आम सर्वसाधारणमा थप निराशा बढाएको छ । सरकार र यसका निकायहरु यति गैरजिम्मेवार र उदासीन कदापि हुन मिल्दैन । अतः सरकारले यस घटनालाई भोलि कुनै पनि हालतमा दोहोरिन नदिने नयाँ नजिर स्थापित गर्ने गरी काम गरोस् । फेरि पनि देशमा लासको राजनीति गरिनु हुन्न । बरु यस दुखद घटनालाई साक्षी राखेर यी र यस्ता घटना र लापरवाही हुनुमा कहाँ समस्या छ ? खोजी र बहस थालौ । अनि त्यस पश्चात चालिनु पर्ने कदममा सरकार, यसका निकायलाई थप जिम्मेवार बनाउन पहलकदमी लिऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *