अराजकता भर्सेस अराजकता

सम्पादकीय
पछिल्ला समय मिटरव्याजी, बैंक तथा वित्तीय संस्थाको मनोमानी बिरुद्ध खरो उत्रिएका मात्र होइन, कालो मोसो दल्ने लगायतका अराजक कदम सहित सडक आन्दोलनमै ओर्लिएका दुर्गा प्रसाइँको चर्चा केही समय यता सेलाएको थियो । राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा देशभरबाट नागरिक ल्याएर संघीय राजधानी काठमाडौंमा चरणबद्ध आन्दोलनको घोषणा पनि गरे । केही दिन मान्छे उतारे । तर, संघीयता धर्मनिरपेक्षताको खिलापमा राजतन्त्रको पक्षमा उत्रेर देशलाई पछाडि फर्काउन खोजेको भन्दै त्यसको काउन्टरमा नेकपा एमाले निकट युवा संघले प्रदर्शन गरे पछि प्रसाइँको आन्दोलन कमजोर मात्र बनेन, सरकार समेत एक खालको दबाबबोध गरिरहेका बेला उनी क्रमशः गुमनाम जस्ता बन्न पुगेका थिए । अहिले बागलुङमा कार्यक्रमकै शिलशिलामा पुगेका बेला स्थानीय एक युवकले हातपातको प्रयास गरे पछि प्रसाइँको पुनः चर्चा सुरु भएको छ ।

प्रसाइँ तिनै पात्र हुन्, जो एक समय अहिलेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकसाथ भेट सहित मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए । ‘मेडिकल माफिया’को आरोप खेपेका प्रसाइँ डा.गोविन्द केसीको आन्दोलनका कारण कलेज ठप्प प्रायः अवस्था पछि आक्रोशित मुद्रामा छन् । सरकारले पनि पहिले अनुमति स्वीकृत पत्र दिएर अर्बौ रकम लगानी गरिसकेको अवस्थामा पछि डा.केसीकै दबाबमा मेडिकल कलेज चलाउन रोकेर सरकारले नै प्रसाइँलाई अहिलेको स्वरुपमा जन्माएको हो । त्यसयता आर्थिक व्यवहारका हिसाबले उनको ५ सय करोड ऋण छ । यद्यपि उनकै शब्दमा २ हजार करोडको सम्पत्ति छ । देशमा बढेको बेथिति, भ्रष्टाचार, अनियमितता, बैंक तथा वित्तीय संस्थाहरुको मनोमानी बिरुद्ध प्रसाइँले गरेको सनसनीपूर्ण भाषण, अभियान र आन्दोलन सरकारदेखि सहकारी, बैंक, शीर्ष नेताहरु सम्मलाई टाउको दुखाइको विषय बनिरहेको छ ।

प्रसाइँले उठाएको एजेण्डा र भन्ने गरेको भाषण केही सत्य छन्, केही अर्धसत्य छन्, केही भ्रामक छन् र केही कपोकल्पित पनि छन् । उनले उठाएको व्यवसायी र मिटरव्याजी पीडितको पीडा जायज छ । सर्वसाधारण, व्यापार व्यवसायी यतिबेला समस्यामा छन् । प्रसाइले ऋण मिनाहा गरिदिने उद्घोष गरे पछि कैयन ऋणी ब्याज, किस्ता तिर्न छोडेर उनकै आन्दोलनको पछि लागिरहेका छन् । तर, यसको विकल्प या समाधान लिएको ऋण तिर्दैनौ, नतिर भन्ने कुरा होइन र हुन सक्दैन । प्रसाइँको भ्रामक, सनसनी र धम्कीपूर्ण भाषणले अराजकता बढाएको मात्रै छैन, वित्तीय अनुशासन खलबलिने खतरा छ । यति हुँदा¬–हुँदै पनि यो लोकतन्त्र हो, यस व्यवस्थामा सबैलाई आफुलाई लागेको कुरा भन्ने, चित्त नबुझे आन्दोलन गर्ने अधिकार सुनिश्चित छ । यसो भन्दैमा जे पनि गर्न पाउने भन्ने हुँदैन । बिहीबार आन्दोलनकै दौडानमा बागलुङमा उनी माथि बानपा ७ का ३७ वर्षीय रमाकान्त शर्माले चप्पल प्रहार गर्ने दुश्प्रयास गरे । यो सरासर गलत कदम हो । एउटा अराजकताको उपचार या समाधान अर्को अराजकता हुनै सक्दैन । सरकार, सरोकारवाला निकाय सबै तहतप्काबाट यस्ता अराजकतालाई निरुत्साहित गर्न पहल र कदम तदारुकताका साथ चालिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *