पुतली नाच संरक्षणमा युवाको सक्रियता

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे चौबिसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच निसीखोला गाउँपालिका–६ भल्कोटमा मात्रै नाच्ने गरिन्छ । पछिल्लो एक दशक यता कम हुँदै गएको यस नाचलाई भल्कोटका युवाले यस वर्ष भव्य रुपमा प्रदर्शन गरे । गत वर्ष एक दर्जनको हाराहारीमा बुढापाका र युवाले नाच देखाएका थिए । अहिले भने झण्डै तीन दर्जन वृद्ध, युवा र बालक सहभागी थिए । पुतली नाच हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ । पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ ।

युवा पुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षणमा जुटेका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको यो नाच संरक्षणमा स्थानीय तिलाचन युवा क्लवले नेतृत्व गरेको छ । बुढापाकाबाट नयाँ युवालाई सिकाउने र हरेक वर्ष नाच्ने नयाँ व्यक्ति तयार गर्नका लागि क्लवले महत्वपूर्ण भूमिका खेलेको छ ।

वर्षौँ पुरानो मानिने यो नाच कहिलेबाट नाच्न सुरु गरिएको भन्ने एकिन छैन । पुर्खाहरुले परम्पराको रुपमा मनाउँदै आएको हुँदा यसलाई संरक्षण गर्ने दायित्व नयाँ पुस्ताको भएको तिलाचन युवा क्लवका सचिव फुलबहादुर बुढा मगरले बताउनुभयो । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष नाच्नेहरुको संख्या दोब्बर बढी भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “लामो समयदेखि युवाहरु सक्रिय भएर पुतली नाच संरक्षणमा जुटेका छौँ, कोही बजार झर्ने, कोही विदेश जाने र बुढापाकाबाट पुस्ता हस्तान्तरण नहुँदा यो नाच लोप हुन्छ कि भन्ने चिन्ता बढेको थियो, तर अहिले धेरैले नाच्न चासो दिनु भएको छ, अग्रजहरुले पनि सहज रुपमा सिकाउने हुँदा अब धेरै समयसम्म यसको संक्षरण हुन्छ भन्ने आशा पलाएको छ, बुढापाकासँगै नयाँ युवाहरुलाई सँगै राखेर यो लगायत अन्य मौलिक संस्कृतिको जगेर्णा गर्ने र संरक्षण गर्नु पर्छ भन्नेमा हामीहरु निरन्तर लाग्दै आएका छौँ ।

के हो पुतली नाच ?
स्थानीय बुढापाकाको अनुसा बाइसे चौबिसे राज्यका बेला राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरुको स्मृतिमा नाच्ने गरिएको नाच हो । स्थानीय ८२ वर्षीय मानसिंह बुढा मगरले बाइसे चौबिसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र राजाको मृत्युपछि सम्झनामा हरेक वर्ष पुतली नाच नाच्दै आएको बताउनुभयो । उहाँका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ । राजा, रानी र धाइमा गरी तीन वटा मूर्ति जस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरु पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् ।

माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ । माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरु डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते विहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेता, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै भनेका उनीहरु दिन भर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् ।

“हामीहरु बच्चा हुँदा हाम्रो बाउ बाजे नाच्ने गर्थे, उनीहरुबाटै हाम्ले सिकेको हो, दुई÷चार वर्ष अगाडिसम्म अब लोप हुने भयो भन्ने लागेको थियो, अहिले युवाहरु एकजुट भएर बचाउन लागेका छन्, धेरै खुसी लागेको छ,” उहाँले भन्नुभयो – “हाम्रो बाजेहरुले यहाँ मगर राजाले राज्य संचालन गरेको र राजा, रानी र उनीहरुको स्याहार सुसार गर्ने धाइमाको मृत्यु भएपछि यहाँका जनताले सम्झनामा यो नाच नाच्न थालेको हो भन्नुहुन्थ्यो, हामीहरुलाई पनि त्यस्तै लाग्छ, सोही अनुसार अहिलेसम्म चल्दै आएको छ ।”

पुतली नाचसँगै नाचिन्छ पट्टा नाच
हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरुनै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन मगर राजाका सिपाहीहरुले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको स्थानीय मेयरसिंह घर्ती मगरले बताउनुभयो । पट्टा नाच्दा दुई तर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुबैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफै गर्दछन् ।

“हाम्रो यस ठाउँमा मगर राजाले राज गरेको हुँदा त्यस बेलाका सेनालाई तालिम दिँदा पट्टा नचाइन्थ्यो रे, त्यसलाई अहिले पट्टा नाचका रुपमा नाच्ने गरिएको छ, यो बारेमा जानकार अहिले कोही पनि हुनुहुन्छ, पहिलेका हाम्रा अग्रजहरुले भन्दै आएको कुरा हामीहरुले सुनेको बुझेको हो” उहाँले भन्नुभयो – “हाम्रो पुस्तासम्म यसको अलिअलि ज्ञान छ, हामीभन्दा पछाडिका युवालाई यस बारेमा जानकारीनै छैन, अब यो इतिहासनै मेटिने खतरा भयो ।”

देवी खुसी पार्न कापै खेल्ने र यौनाङ्ग देखाइने गरिन्छ
स्थानीयहरु माघ २ गते भल्कोट गाउँमा स्थानीय जम्मा हुन्छन् । जम्मा भएका उनीहरुले कपडाको टालो बेरेर पुतली बनाउँछन् । पुतली बनाउनु सुरु गरेदेखि पुतली खोलामा लगेर नसेलाउन्जेलसम्म अश्लिल शब्द प्रयोग गरि भट्याउँदै कापै खेल्छन् । कापै खेल्ने १०/१२ जना युवाको टोली हुन्छ । उनीहरुले डम्फु, घाँडो लगायतका थोँत्रा भाँडा बजाउने गर्छन् । पुराना थाग्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् । उनीहरु मध्ये एक जनालाई पुरानो घुम (भेडाको रौँबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरुले भालु भन्छन् ।

कापै खेल्नेहरुले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्निे गर्छन् भने बेला बेलामा उत्तानो पारेर देखाइ दिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् । देख्दा अवस्भाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको प्रचलन हो । उनीहरुले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर, लगायत सुन्न पनि अत्न्यतै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लिल शब्द बोल्दा देवी देवता खुसी हुन्छन् भन्ने मान्यता रहेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले बताउनुभयो । गाउँपालिकाले पुतली नाच लगायत यहाँ सबै प्रकारका संस्कृति संरक्षणमा लागेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भन्नुभयो – “हाम्रो पुरानो मौलिक संस्कृति हो, हाम्रो आँकलनमा यो सयौँ वर्ष पुरानो परम्परा हो, हाम्रो पुस्तौँ पुस्तादेखि मनाउँदै आएको संस्कृतिलाई हामीहरुले नकार्न सकिदैन, अहिले पनि पुरानै शैलीमा मनाउँदै आएका छौँ, पहिलेको तुलनामा यो केही कम त भएको छ, संरक्षणमा हामीहरुले जोड दिएका छौँ, यौनाङ्ग देखाउनु राम्रो होइन तर पहिले देखिनै यो ‘कल्चर’ रहँदै आएको हुँदा अहिले पनि जीवितै छ, यसरी भालुको पित्त देखाउँदा देवी खुसी हुन्छ भन्ने बुढापाकाले बताउँदै आएका छन्, हामीहरुले पनि सानैदेखि यही सुन्दै आएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *