मेलम्ची, महत्वकांक्षा र भ्रष्टाचार

सम्पादकीय
मेलम्ची यस्तो आयोजना हो, जुन आयोजना सुरु भएको दुई दशक बढी समय व्यतित भइसकेको छ । तर, मेलम्ची आयोजना अझै सम्पन्न हुन नसकेको मात्रै होइन । अनेकन भ्रष्टाचार, अनियमितता र विवादले बदनाम बनिरहेको छ । जसका कारण अझै पनि मेलम्ची आयोजना सम्पन्न हुनेमा आम उपभोक्तामा संशय पैदा भइरहेको छ । यस आयोजनामा अहिलेसम्म ३० अर्ब रकम त खर्च भइसकेको छ । आयोजनाअन्तर्गत पहिलो चरणमा अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किलोमिटर सुरुङबाट १७ करोड पानी उपत्यका ल्याइएको छ । दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के नदीबाट थप १७–१७ करोड पानी ल्याउन बल्ल काम सुरु हुन लागेको छ । मेलम्ची आयोजना पुरा नहुँदा काठमाडौं अझै पनि अधिकांश समय काकाकुल जस्तो बन्ने गरेको छ ।

मेलम्ची आयोजना अब त पूर्णता पाउला कि भन्ने झिनो आशा जागृत भएको बेला अर्को सनसनीपूर्ण खबर सार्वजनिक भएको छ । राष्ट्रिय गौरवको बहुचर्चित मेलम्ची खानेपानी आयोजनामा आठ अर्ब ७१ करोडको ठेक्कामा एक अर्ब ६३ करोड भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । अख्तियारले यसमा संलग्न चार पूर्वसचिव, मेलम्ची खानेपानी विकास समितिका तीन तत्कालीन कार्यकारी निर्देशक, तीन लेखा प्रमुख (उपसचिव) र अध्यागमन विभागका बहालवाला महानिर्देशकसहित १८ जना (परामर्शदाता, ठेकेदार कम्पनी) लाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । एक हजार ४५ दिनभित्रमा बाँकी निर्माण कार्य सम्पन्न गर्ने गरी ३१ असार ०७० मा कम्पनीसँग भएको ठेक्का सम्झौतामा कर्मचारी, ठेकेदार र परामर्शदाताको मिलेमतोमा निर्णय र भुक्तानीका विभिन्न चरणमा भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसले पछिल्लो समय बेथिति, भ्रष्टाचार बिरुद्ध सामाजिक सञ्जालमा खरो उत्रेर लाखौं समर्थक बनाएका पूर्व सचिव भीमप्रसाद उपाध्याय समेत यतिबेला चौतर्फी आलोचित बनेका छन् ।

मेलम्ची नेपालको महत्वाकांक्षी र महँगो आयोजना हो । यस आयोजना हेर्दा नेपालमा किन अपेक्षित सुशासन, विकास, समृद्धि हासिल हुन सकिरहेको छैन, प्रष्ट देखिन्छ । ठेकेदारलाई भुक्तानी गर्दा सरकारको स्वामित्वमा रहेको सम्पत्ति प्रयोग गरेबापतको रकम बिलबाट कट्टी गर्नुपर्नेमा नगरी सरकारलाई हानि–नोक्सानी गर्ने, परामर्शदाताले ४१ पटक विभिन्न कार्यको गुणस्तर तथा संशोधनका लागि निर्माण व्यवसायीलाई निर्देशन लेख्दा पनि काम नगर्ने, सम्झौता तोडेर ठेकेदार भाग्दा पनि भुक्तानी गर्ने लगायतका बेथिति उदेक लाग्दो छ । एक महिनाअघि उपत्यकावासीको धारामा आएको मेलम्चीको पानी स्थायी रूपमा ल्याउनका लागि अझै ठोस पहल सुरु हुन सकेको छैन । आयोजना विस्तारै अघि बढ्ने चरणमा रहेकै बेला अहिले अर्को ठुलो भ्रष्टाचार प्रकरण मेलम्ची आयोजनामा देखिएको छ । यद्यपि, विशेष अदालतमा पुगे पछि यस्ता ठुला र चर्चित भ्रष्टाचारका प्रकरणहरु बिस्तारै निस्तेज र अस्वभाविक सफाईमा टुंगिने गरेका छन् । यस प्रकरणमा विशेष अदालतले देश र जनताको हितमा, सुशासन र समृद्धिको पक्षमा न्यायोचित फैसला अबश्य गर्नेछ । अबका दिनमा कुनै पनि आयोजनाको खराब उदाहरण दिँदा सधैंभरी मेलम्चीको नाम आउने बिडम्बना अन्त्य हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *