सम्पादकीय
वैदेशिक रोजगार नेपाल र नेपालीको बाध्यात्मक गन्तव्य हो । यद्यपि, यसमध्ये पनि अमेरिकन र युरोपियन देशहरु भने पछिल्लो समय रहर र सपनाको गन्तव्य बन्न थालेको छ । सके सम्म सुविधा सम्पन्न विकसित देशमा जाने र नसके अरु अरबियन र खाडी मुलुकमा भए पनि जानेहरु अधिक छन् । शारीरिक श्रम गर्न गएका अधिक नेपाली कठिन, जोखिमयुक्त काम गर्न बाध्य छन् । जसले देश र घर फर्किने बेलामा अनेकन रोग र जटिलता बोकेर फर्किन बिबश छन् । उसो त बिदेशको ठाउँमा पुगे पनि आफ्नै देशको जस्तो स्वच्छन्द जीवनशैली अपनाउँदा त्यहाँको कानुनी फन्दामा पर्नेहरु पनि अत्यधिक छन् । साउदी कारागारको ६ सय १५ नेपाली रहेको पछिल्लो तथ्यांकले पनि यसलाई प्रष्ट गर्छ । विदेश गएर धन कमाउने सपना, परिवारको जीविका चलाउने, साना साना आधारभूत आबश्यकता पुरा गर्ने ‘नेपाली सपना’ जेलमा हुँदाको पीडा जेलमा परेकाहरुले त भोगिरहेका छन् नै, त्यो भन्दा अझ बढी पीडा परिवारले भोगिरहेको छ ।
साउदी अरब कानुनी रुपमा निकै कडाई भएको देश हो । यो देशमा निकै ठुलो संख्यामा नेपालीहरु पुगेका छन् । जहाँ गैरकानुनी कार्यमा संलग्न रहेको आरोपमा छ सय १५ जना नेपाली साउदी कारागारमा पुगेको नेपाली राजदूतावास रियाद (साउदी अरब)ले जनाएको छ । जसमध्ये घरेलु मदिरा उत्पादन तथा लागुऔषध सेवन, बिक्री–वितरण, ओसार–पोसारमा सबैभन्दा बढी नेपाली पक्राउ परेर कारागारमा छन् । यसबाहेक चोरी, बेइमानी, दुर्व्यवहार, कुटपिटको आरोपमा पक्राउ परेका छन् । साउदी अरबले आवाससम्बन्धी कानुन, श्रम कानुन र अवैध रूपमा सीमा पार गरेर कानुन उल्लंघन गरेको भन्दै पछिल्लो एक साताभित्र मात्रै २१ हजार १ सय ५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा बढी आवास कानुन उल्लंघन गरेका १३ हजार सात सय ९९ जना छन् । अवैध रूपमा साउदी अरब प्रवेश गर्न खोज्ने चार हजार सात सय ६८ र सीमासँग जोडिएका घटनामा दुई हजार पाँच सय ८४ जना छन् । साउदी अरबबाट छिमेकी देशहरू युएई, कतार, ओमान, कुवेतलगायतमा अवैध रूपमा प्रवेश गर्न खोज्ने समेत पक्राउ परेका छन् ।
साउदी अरबको कानुन विश्वमै कडा मानिन्छ । गैरकानुनी रूपमा रहेका आप्रवासीलाई आवास र यातायात सुविधा उपलब्ध गराएको पाइएमा साउदी कानुनअनुसार १५ वर्ष कैद सजाय र एक लाख रियाल (नेपाली ३५ लाख बढी) जरिवाना लाग्ने कानुनी व्यवस्था छ । यसअघि चैत पहिलो साता १९ हजार सात सय ४६ जनालाई सुरक्षा अधिकारीहरूले गैरकानुनी रूपमा बस्दै आएको र अन्य अपराधमा संलग्न भएको भन्दै पक्राउ गरेका थिए । हामी जुन देशमा जान्छौ, त्यो देशको कानुन जरुर मान्नुपर्छ । नेपालबाट सुरुवातमै साउदी या अरु सम्बन्धित देशमा जाँदा त्यहाँको पूर्ववत नियम, कानुन र अरु व्यवस्थाबारे अनिवार्य बुझेर जानुपर्छ । धन कमाउने सपना या परिवारको जीविकाका लागि आयआर्जनको लागि विदेश पुग्ने तर नियम कानुन मिचेर जेल बस्नु पर्ने दुर्भाग्यपूर्ण अवस्थाले स्वयंम् व्यक्तिलाई मात्र होइन, सिंगो परिवार र आफन्तलाई समेत दुःख र तनाव दिन्छ । यसमा सचेत र जिम्मेवार बन्ने बनाउने, जेल परेकाहरुलाई सके सम्म क्षमायाचना सहित स्वदेश फर्काउने वातावरण सिर्जनामा सरकारले पहल र भूमिका खेल्नुपर्छ ।