बेथितिका चाङ

सम्पादकीय
आजको समय र व्यवस्थामा मुलुक समृद्धि, सुशासनको दिशामा गतिशील बनिरहेको हुनुपथ्र्यो । देशमा लामो आन्दोलन, संघर्ष, बलिदान र त्याग पश्चात स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा यो आम अपेक्षा र आशा थियो । पछिल्लो ऐतिहासिक जनआन्दोलन पश्चात स्थापित गणतन्त्र र त्यसको भावना, मर्म अनुसारको संविधान जारी भए पनि पुराना पात्र र प्रवृत्तिजन्य समस्या र बेथितिमा उल्लेख्य सुधार आउन सकिरहेको छैन । सत्ताको कुरुप राजनीतिक खेल सँगै दैनिकजसो एक पछि अर्को भ्रष्टाचार, बेथिति, बिसंगतिको समाचार सार्वजनिक छ । जसका कारण परिवर्तन, विकास, समृद्धि र सुशासनको गहिरो अनुभूति आम नागरिकले गर्न पाइरहेका छैनन् भने सर्वत्र व्याप्त बेथितिले नागरिकमा निराशा बढ्दो छ ।

पछिल्लो केही घटनाक्रम हेरौं । जसले नेपालमा बेथितिको डरलाग्दो परिदृश्य देखाउँछ । एउटै कम्पनीबाट पाँच अर्ब १८ करोड कर छली भएको छ । जुन मुद्दामा अमेरिकी लगानी रहेको कम्पनी कोटिभिटी नेपाल प्रालि बिरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । वस्तु निर्यातबापत तिर्नुपर्ने चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र स्वामित्व परिवर्तन हुँदा तिर्नुपर्ने ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ पुँजीगत लाभकर छली गरेको दाबी विभागको दाबी छ । उता ५ पैसा पर्ने स्टिकर ४३ करोड ३२ लाख थान छाप्न ९० पैसाका दरले लगाइएको ठेक्का लगाएर भ्रष्टाचार गरेको खबर सार्वजनिक छ । मदिरा र सुर्तीजन्य वस्तुमा टाँसिने अन्तःशुल्क स्टिकर छपाइ र प्रिन्टर खरिदमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । गाडीको इम्बोस्ड नम्बर प्लेटमा पनि उस्तै चलखेल भएको पाइएको छ । सवारीसाधनको चोरी, राजस्व छली तथा अन्य आपराधिक क्रियाकलाप रोक्न सवारीसाधनको व्यवस्थापन आधुनिक र वैज्ञानिक बनाउन भन्दै सरकारले अघि बढाएको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन पाँच वर्षमा सक्ने गरी सम्झौता भएकोमा कार्यावधि बढाएर नौ वर्ष पु¥याइएको हो । यसमा अनियमितता भएको आशंकामा अख्तियारले छानबिन थालेको छ । नौ इन्टरनेट सेवा प्रदायकले झन्डै तीन अर्ब रुपैयाँ कर छली गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले तिर्न बाँकी दायित्वबारे विस्तृत अध्ययन गर्न नियुक्त गरेको स्वतन्त्र परामर्शदाताले पछिल्लो १० वर्षको अवधिमा तीन अर्ब हाराहारी कर छली भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

समृद्धि र सुशासन आजको अपरिहार्यता हो । तर, दुर्भाग्य मुलुकको बागडोर सम्हालेका प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी संयन्त्र सम्म यसको उपलब्धि हासिल गर्न इमान्दार पहल र प्रयास हुन सकेको छैन । बरु जो सत्ता र शत्तिमा हुन्छ, उसले मिलिभगत गरेर राज्यको स्रोत र सम्पत्ति माथि अबैध दोहन गर्नमा उद्दत रहेको देखिएको छ । यो दुरावस्था र बेथिति आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि भइरहनु लज्जाको विषय हो । यसमा सरकार, सम्बन्धित निकायले गम्भीरतापूर्वक सोच्नु र समीक्षा गर्नुपर्छ । आजको समय र व्यवस्थामा नागरिकमा आशा, सम्भावना र उत्साहको सञ्चार गराउनु पर्ने हो तर मुलुकमा बढ्दो आर्थिक मन्दी, मनमौजीका कारण नागरिकमा चरम निराशा बढ्दो छ । यो निराशा बढ्दै जाँदा आज दैनिक सयौंको संख्यामा दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । सरकारमा भएकाहरुको ध्यान सत्ता कसरी जोगाउने र सत्ता इतर भएकाको ध्यान सत्तामा कसरी पुग्नेमा मात्रै केन्द्रित छ । तसर्थ, अब देशमा बिद्यमान बेथिति आखिर कहिले सम्म ? हामीले नरोके कसले रोक्ला ? अब इमान्दार र निर्भयताका साथ सबैले साझा कदम र आवाज बुलन्दित गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *