काठेखोलामा कोभिड अस्थायी अस्पताल

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले काठेखोलाको केन्द्र बिहुँ सुल्डाँडा स्थित भिमसेन प्राथमिक विद्यालय भवनमा १० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । भिमसेन प्रावि भिमसेन माविमा मर्ज भए पछि बिद्यालयले अस्पताल सञ्चालनका लागि भवन उपलब्ध गराएको हो ।

अस्पतालको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बुधवार उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएकाले स्वास्थ्य सुरक्षाका लागि कोरोना रोकथाम र उपचारमा कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

‘विगतमा पनि हामीले स्थानीय सिमित स्रोत साधनका बीच धेरै चुस्त व्यवस्थापन गर्ने प्रयास गरेका छौ, जसको प्रत्यक्ष अनुभूति गाउँपालिकाबासीले गरिरहेका पनि छन्,’ उहाँले भन्नुभयो,‘अक्सिजन सहितको पाँच शैयाको अस्पतालमा पालिकाको तर्फबाट अहिले थप पाँच शैया थपेका छौ, अब सबै बेडमा अक्सिजन पनि जडान गर्नेछौ ।’

केन्द्र सरकारले पाँच शैयाको अस्थायी अस्पतालका लागि एक डाक्टर, दुई नर्सको व्यवस्था गर्ने निर्देशन सहित १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । त्यसमा गाउँपालिकाको तर्फबाट पाँच शैया थप गरेर १० बेडको अस्थायी अस्पताल तयार गरिएको अध्यक्ष थापाको भनाई छ । पाँच बेडमा अक्सिजन समेत जडान गरिएको छ ।

अस्पतालबाट कोभिड १९ सम्बन्धि लक्षण देखिएका बिरामीको परीक्षण, उपचार, परामर्श लगायतका सेवा उपलब्ध गराइने काठेखोला गाउँपालिकाका जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँ कमिटी अध्यक्ष डिलबहादुर कार्की, नेपाली काँग्रेस काठेखोलाका सभापति ज्ञामनाथ कंडेल, राष्ट्रिय जनमोर्चा काठेखोलाका अध्यक्ष लक्ष्मण पुन, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले अस्पताल सञ्चालन हुनु सकरात्मक भए पनि अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाइनु पर्ने बताउनुभयो ।

कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी बिहुँ उपशाखासँगको समन्वयमा एम्बुलेन्स समेत सञ्चालन गरिरहेको छ भने उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० देखि ७५ प्रतिशत सम्म जोखिम भत्ता उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनुभयो ।

अस्थायी अस्पताल पनि निकै कम खर्चमा निर्माण गरिएको र कोरोना रोकथाम, उपचारको अभियानलाई अझ थप प्रभावकारी बनाइने उहाँको भनाई छ । कार्यक्रमको सञ्चालन मनोज कार्कीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *