राजनीतिक दाउपेचले विकास योजना प्रभावित

आदर्श अनाइन, बागलुङ
बागलुङ बजार हुँदै सिगाना, चापाखर्क देखि बरेङ जोड्ने एक निर्वाचन क्षेत्र सडक रणनीतिक सडक तीन वर्षमा कालोपत्रे गर्ने तयारी थालिएको थियो । डिपिआर सकेर टेण्डर प्रक्रियाको अनुमति लिन मात्रै बाँकी रहेको सडक योजनाको बजेट अहिले एकाएक कटौती भएको छ ।

जंगल क्षेत्र नभएको केही स्थानमा पक्की नाली र आठ मटर चौडा गरी सिगानाको बौडचौर सम्मको १० किलोमिटर सडक रु.४० करोडमा कालोपत्रे गर्ने गरी डिभिजन सडक कार्यालय बागलुङले तयारी थाले पनि नयाँ सरकारले उक्त सडक संगै बागलुङ क्षेत्र नम्बर १ का मात्रै १७ सडकको योजना र बजेट कटौती गरिदिएको छ । प्रतिस्थापन बजेट आएसंगै धौलागिरीका चार जिल्लाका ५५ सडक कटौती भएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त सडक मध्ये केही निर्माणको चरणमा प्रवेश गरिसकेका समेत थिए ।

तीन वर्ष भित्र सडक कालोपत्रे गर्ने सपना देखेका यस क्षेत्रका स्थानीयले सडक कटौती गरे पछि निराश बनेको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । “अहिले सडक कटौती भयो, नयाँ योजना र नयाँ नीति त आउला तर विकासमा भने केही वर्ष पछि पर्ने भयो” अध्यक्ष जिसीले भन्नुभयो “जुन राजनीतिक दलको सरकार परिवर्तन भए पनि विकासे काम भने निरन्तर हुनुपर्ने थियो, यो दुर्भाग्य भयो, राजनीतिक दाउपेचका कारण विकास निर्माण प्रभावित हुनु हुँदैन ।”

बागलुङे जनताको लागि निरन्तर रुपमा पहलकदमी गरी १७ सडक छनौटमा पारेर केही परिणाम समेत दिइसेको अवस्थामा सडक कटौती भएको बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले बताउनुभयो । “राजनीति परिवर्तनशील छ, सरकार समेत स्थिर नभएको अवस्था त छँदै थियो तर विकासे योजना जुन रातो कितावमा समावेश भएका बुहवर्षे योजना थिए, ती निरन्तर हुनुपर्दथ्यो” सांसद पाठकले भन्नुभयो “हामीले उक्त सडकहरु निकै सोच, विचार र नागरिकको जीवनस्तर उकास्ने संग जोडिएका थिए, तर अहिले कटौती भएको छ, पुनः योजना त आउला तर विकास निर्माण पछि धकेलियो ।”

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत संघीय सरकारको भौतिक पुर्वाधार मन्त्रालयको रातो किताबमा सूचिकृतहरु बागलुङ–मालढुङ्गा बलेवा कुश्मिसेरा सडक (बरेङ्ग गुल्मी शान्तिपुर), बागलुङ बजार सिगाना चापाखर्क गौजाको दह बरेङ्ग सडक,मालढुङ्गा पैयापटा लहरेबर अमलाचौर हुँदै कुश्मिसेरा सडक, भीमापोखरा अक्षेते देखि सलाम मलठाना सिम म्याग्दी जोड्ने पयर्टकीय सडक, मालढुङ्गा– वलेवा– कुश्मीशेरा– वरेङ– शान्तिपर गुल्मी सडक, खरज्यनङ्ग दरवार गौडाकोट जुभुङ मुजुवा शान्तिपुर हुग्दीशिर बागलुङ, गलुवा, द्वार भकुण्डे डोठे ताल, रामतोला रायडाँडा फेदी कुश्मिशेरा जैमिनी, सडक, भैरवस्थान कामिचौतारा सतिपोखरा ढकालथोक सम्माचौर करिडोर सडक, काठेखोला गाँउपालिका भिमपोखरा सिम सायकोट ओखले हुँदै म्याग्दी भकिम्लि कालोपत्रे गर्ने सडक, काठेखोला भिम पोखरा सिम सायकटेरा खोख्ले भकिम्लि सडक, भाङ्गी तारीखेत पुरानो गाउँ गहुखेत सडक,कालीगण्डकी कोरीडोर भुनेवा वडा कार्यालय भड्कुवा खोलाखानी मोटरबाटो, बुकेनी मनकामना दिहिडाँडाँ गैडाफाँट सिम्स्वारा बोडेचौर सडक, बाग्लुङ मालढुङ्गा गणेश घुम्ती म्याग्दी जोड्ने सडक, बडारचौर ढाडेनी सडक, बाग्लुङ तित्याङ निफन्नी भकुण्डे भ्यूटावर रायडाँडा सडक सिमलपाटा देखी निफन्नी सम्म स्तरोन्नति लगायतका सडक कटौती गरिएको छ ।

सविक धौलागिरीका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका सडक हेर्दै आएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुरेन्द्र गौतमले यस कार्यालय अन्र्तगतका ५५ सडक कटौती भएको बताउनुभयो । “अहिलेलाई सडक कटौती भएको मात्रै अवगत भयो, पुनः के व्यवस्था आउँछ अहिले भन्न सकिन्न” इन्जिनियर गौतमले भन्नुभयो “कुनै साना सडक आयोजना स्थानीय तह मार्फत सम्पन्न गर्नका लागि कटौती भएको होला, सडकले ठूला आयोजना मात्रै हेर्ने नीति आएर हो के कारणले अब केही दिनमा जानकारी होला ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *