लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

डम्मर बुढा मगर, बागलुङ
सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइ राख्ने सोलेडाँडको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनै भरी फूलेको छ ।

वनै भरी फूलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट माटोरबाटोले जोडिएको सोलेडाँडामा पर्यटकहरु कतिपय गाडी लिएर त कति पैदल यात्रा मार्फत यहाँ घुम्न आउने गरेका छन् । पुस माघमा हिउँले सेताम्य हुने यो ठाउँ यस वर्ष वर्षा नहुँदा हिउँ परेन । हिउँ नपर्दा खडेरीले सोलेडाँडा उराठिलो बन्यो । पर्यटक हिउँ खेल्न पाएनन् ।

पुस माघमा हिउँ खेल्न नपाएका पर्यटकहरु यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजार नजिक रहेको सोलेडाँडामा पुग्ने सडक सहज हुँदा पर्यटकको आगमनमा बढेको पाइएको छ । केही दिनदेखि वनभोज, ‘क्याम्प फायर’ र पदयात्राका लागि टाढा–टाढादेखि पर्यटकहरु आउने गरेको स्थानीय प्रेमबहादुर विकले बताउनुभयो ।

दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडा घना जंगलको बिचमा हुँदा मनोरोगीहरुलाई प्राकृतिक उपचारका उपयुक्त हुने उहाँको भनाई छ । पछिल्लो समय प्राकृतिक उपचारका लागि भन्दा घुमफिर र रमाइलो गर्न आउने गरेको विकले बताउनुभयो । खास गरि बिदाका दिनहरुमा शैक्षिक भ्रमणका साथै वित्तीय संस्थाका कर्मचारीहरु वनभोजका लागि बढी आउने गरेको उहाँको भनाई छ ।

विक भन्नुहुन्छ– “गाउँपालिकाले सोलेडाँडामा ठूलो लगानी गरेर राम्रो बनाएको छ, तमान आउनेहरु सजिलै सोलेडाँडा पुग्न सक्छन्, पहिलेको जस्तो अप्ठ्यारो बाटो छैन, गाडीमै त्यहाँसम्म पुग्न सकिन्छ, अहिले त झन् गुराँस फुलेर वनै ढोकेको छ, त्यसले गर्दा धेरै मान्छेहरु रमाउन आउँछन्, होटल, रेष्टुरेण्टको व्यवस्था छैन, त्यसले गर्दा उनीहरु घुम्ने फर्किने गर्छन् ।”

गुल्मीको मुसिकोटबाट घुम्न आउनु भएको सुनिले घिमिरेले वनभरी फुलेको लालीगुराँसले मनै लोभ्याएको बताउनुभयो । सोलेडाँडा घुम्न दुई वर्ष अगाडि आएको सुनाउँदै पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको बताउनुहुन्छ । पदयात्राका लागि सोलेडाँडा उपयुक्त गन्तव्य भएको भन्दै यहाँ पर्यटकीय संरचनाहरु निर्माण गर्न सके बाह्य पर्यटकलाई पनि भित्राउन सकिने उहाँको भनाई छ ।

“संभवत यो बागलुङकै उच्च स्थान होला, पहाडको शिरमा यति सुन्दर समथर भाग बिरलै ठाउँमा हुन्छन् होला, हिमाल त आँखै अगाडि देखिँदो रहेछ,” घिमिरेले भन्नुभयो– “केही पूर्वाधार त बनेका रैछन्, बाहिर पर्यटक ल्याउने हो भने यहाँ यतिले मात्रै पुग्दैन, यसलाई थप व्यवस्थापन गर्न जरुरी देखिन्छ, म त पटक–पटक आएँ, तर घुमेर धितनै मरेन ।”

सोलेडाँडा आफैमा सुन्दर छ, त्यसमाथि देखिने हिमश्रृङ्ला र दर्जनौ प्राकृतिक मनोरम दृश्यहरुले धेरैलाई लोभ्याउने गर्छ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँहरुसँगै धौलागिरी, धौलाश्री, माछापुछ«े, मानापाथी लगायतका दर्जनौँ हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । तमानखोला गाउँपालिका–४ मा पर्ने सोलेडाँडालाई उत्कृष्ट पर्यटकी गन्तव्य बनाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगरले पहिलो पटक निर्वाचित हुँदा सोलेडाँडाको विकासका लागि खाका तयार गरेको भन्दै अहिले बिस्तारै यहाँ पूर्वाधार निर्माणका कामहरु भइरहेको बताउनुभयो । आगन्तुकलाई लक्षित गरि यहाँ शौचालय र स्वच्छ खानेपानीको धारो निर्माण गरेको अध्यक्ष बुढा मगरको भनाई छ । उहाँ भन्नुहुन्छ– “सोलेडाँडा तमानखोलाको मात्रै नभई समग्र जिल्लाकै उत्कृष्ट गन्तव्यमा पर्छ, विगतमा सरोकारवाला निकायको ध्यान पुगेको थिएन, हामी आएपछि केही परिवर्तन भएको छ ।”

सहिदको सम्मानका लागि सालिका निर्माण
तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनहरुमा ज्यान गुमाएका सहिदहरुको सम्मानमा सोलेडाँडामा पार्क निर्माण गरि सालिक स्थपाना गरेको छ । गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्रद्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गंगबहादुर पुनको सालिक स्थापना गरेको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो ।

सोलेडाँडालाई अन्तराष्ट्रिय पर्यटनसँग जोड्न घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको उहाँको भनाई छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडक मार्फत बुर्तिबाङ बजार हुँदै सोलेडाँडा पुग्न सकिने हुँदा केही वर्षमै सोलेडाँडाले मुहार फेर्न अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– “सोलेडाँडा देशकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बीच भागमा छ, लोकमार्ग हुँदै ढोरपाटन र सालझण्डी हुँदै मुक्तिनाथ जाने पर्यटक यहाँ आउने सक्छन्, अझ मुक्तिनाथ जाने मुख्य सडक त सोले हुँदै म्याग्दी जोडिनेछ, अहिले सडक कच्ची हुँदा बाहिरी पर्यटक भित्राउन सकिएको छैन, केही वर्षमै यहाँका सडकहरु स्तरोन्नती भए भने यो ठाउँ विदेशीको रोजाईमा पर्ने अपेक्षा लिएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *