चैते दशैंमा पाँच लाख धार्मिक पर्यटक भित्राइदै


आदर्श अनलाइन, बागलुङ

चैते दशैं बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दशै मेला प्रसिद्ध कालिका भगवती मन्दिर संग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको संख्यमा उल्लेख्य वृद्धि भएको छ । चैते दशैको अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला र भारतबाट समेत धार्मिक पर्यटक भित्रिने गरेको छन् ।

मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेको धार्मिक पर्यटकहरु समेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैतेदशै शुर भएसंगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ ।

नवरात्री शुरभएसंगै कालिका मन्दिरमा टाढा–टाढाबाट भक्तजनहरु आउने क्रम शुरु भएको छ भने रमाइलो मेला, विभिन्न घरायसी सामाग्रीको स्टल तथा स्थानीय उत्पादनहरुको स्टलहरुमा व्यापार समेत शुरु भइसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदेशैको अवसरमा पाँच लाख धार्मिक पर्यटकले बागलुङ कालिका मन्दिर दर्शन गर्ने कालिका मन्दिर गुठी व्यवस्थापन समित तथा चैतेदशै मेला मूल आयोजक समितिले जनाएको छ ।

नेपालकै महवपूर्ण मेलाहरु मध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैतेदशैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेला मूल आयोजक समिति बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“नवरात्र देखि पूर्णीमा सम्म पाँच लाख दर्शनार्थीले कालिका मन्दिर आउने लक्ष्य छ, नवरात्रको चौथो दिनदेखिनै धार्मिक पर्यटक बोकेका सवारीसाधनहरुलाई बाङ्गेचौर खेल मैदानमा व्यवस्थापन गर्न थालिएको छ, दिन प्रतिदिन कालिका मन्दिरमा दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ” खड्काले भन्नुभयो “परम्परागत चैतेदशैको सबै तयारी पुरा भइसकेको छ, अहिले रमाईलो मेला शुरु भइसकेको छ भने चैतेदशैको मेलाको उद्घाटन चैत्र १३ गते हुनेछ ।” अहिले कालिका मन्दिरको पार्कीङस्थलमा सवारीसाधन नअटाएका कारण बाङ्गेचौर खेल मैदानमा पठाइएको ट्राफिक कार्यालयका निमित्त प्रमुख प्याम नारायण पौडेलले जानकारी दिनुभयो ।

‘गन्तव्य बागलुङ कालिका–कला, संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रर्बद्धन’ भन्ने मुला नाराका साथ यस वर्षको चैते दशै मेलाको सबै तयारी पुरा भइसकेको खड्काले बताउनुभयो । कला, संस्कृति, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रर्बद्धनमा चैते दशै मेला र बागलुङ कालिका ममन्दिरले ठूलो टेपा पु¥याएदै आएको स्थानीय दुर्गा बहादुर आचार्यको भनाई छ ।

चैते दशैका अवसरमा रु. एक करोड लागतमा मन्दिरको जीर्णोद्वार गरी कलात्मक बनाइएको छ । मन्दिर संगै विभिन्न काष्ठकला प्रयोग गरी हवन कुण्ड, शिवालय र गणेश मन्दिर समेत निर्माण गरिएपछि कालिका मन्दिर थप आकर्षक बनेको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

रु.तीन लाख नगद पुरस्कार सहितको कालिका खुल्ला पुरुष भलिवल प्रतियोगिता, रु. एक लाख ५० हजार पुरस्कार सहितको राष्ट्रिय स्तरको लोक दोहोरी प्रतियोगिता, छोलो प्रतियोगिता र रथ यात्रा लगायतका कार्यक्रमहरु आयोजना गरिएको कालिका कपका मुल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भएपनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको पाका पुरानाहरु बताउछन् ।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरि पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर वि.सं.१५९१ सालमा स्थापना गरिएको इतिहास छ ।

चैते दशै मेलामा घरायसी प्रायोजनका सामाग्रीहरु डाला, नाङ्ला, ठेका, हातहतियार लगायतका बस्तुहरुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । पछिल्लो समय भने स्थानीय उत्पादनले बजार नपाएको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *