मुहार फेरेको दुर्गम गाउँको एक विद्यालय

डम्मर बुढा मगर, बागलुङ
बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिर पहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिक रुपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रंगरोघन गरे सिंघारिएको केही भवनहरु देखिन्छन् । भवन वरिपरी घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो । दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला शहरका शैक्षिक संस्थाभन्दा कम छैन ।

आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ । भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ । केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे । पर्याप्त डेक्स बेञ्च थिएनन् । खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो । जब स्थानीय सरकार आयो, तब शान्ति माविको स्वरुपनै परिवर्तन भएको छ ।

गाउँको विद्यालय भए पनि यहाँ डिजिटल माध्यमबाट पढाई हुन थालेको छ । प्रबिधिमैत्री शिक्षा अवलम्बन गरेको विद्यालय जिल्लाकै नमुना बनेको छ । भौगोलिक विकटताका कारण विभिन्न समस्या झल्दै आएको शान्ति मावि अहिले बजारका विद्यालयहरुका लागि पनि प्रेरणाको स्रोत बनेको छ । जिल्ला सदरमुकाम नजिकै रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले पनि डिजिटल माध्यमबाट शिक्षण सिकाई क्रियाकला हुँदैनन् तर यहाँ अघिल्लो वर्षदेखिनै ‘पेपरलेस’ पढनपाठन सुरु गरेको विद्यालयमा प्रधानाध्यापक सत्यनारायण सिंहले बताउनुभयो ।

सिंहले पछिल्लो आधा दशकमा विद्यालयले भौतिक संरचना र शैक्षिक गुणस्तरमा धेरै सुधार गरेको बताउनुभयो । उहाँले अहिले आफूहरुले समयानुसार प्रबिधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन सुरु गरेको बताउनुहुन्छ । उहाँले पाँच वर्ष अगाडिसम्म विद्यालय भौतिक, शैक्षिक र अन्य प्राबिधिक रुपमा कमजोर रहेको सुनाउँदै अहिले अब्बल बन्न थालेको बताउनुभयो । कक्षा १–५ स्थानीय पाठ्यक्रम लागु गरेको र कक्षा ६–१० डिजिटल माध्यमबाट पठनपाठन हुने गरेको प्रधानाध्यापक सिंहको भनाई छ ।

“आजभन्दा पाँच/सात वर्ष अगाडि विद्यालयको अवस्था निकै दयनीय थियो, कक्षाकोठा नपुग्दा बालबालिकालाई भुइँमै राखेर पढाउनु पथ्र्यो, पूर्वाधार जीर्ण थिए, विद्यालय घेराबार थिएन, असुरक्षित थियो” प्रधानाध्यापक सिंहले भन्नुभयो– “अहिले विद्यालयमा धेरै संरचना बने, शैक्षिक गुणस्तर पनि राम्रो भएको छ, अब राम्रो ध्येय भनेको शैक्षिक गुणस्तरलाई बढाउनु हो, हामीहरु सोही अनुसार लागि रहेका छौँ, अहिले पनि धेरै सुधार गरेका छौँ ।”

पूर्वाधारमा सम्पन्न भएसँगै विद्यालयले शैक्षिक गुणस्तरलाई पनि बढाएको छ भने विद्यार्थी संख्या पनि बढेको छ । पहिले ४० प्रतिशत मात्रै शैक्षिक प्रगति गरेको विद्यालयले अहिले ८० प्रतिशत बढी उपलब्धी हाँसिल गर्न थालेको प्रअ सिंह बताउनुहुन्छ । पहिले दुई सय विद्यार्थी हुने गरेकोमा अहिले करिब साढे तीन विद्यालर्थीले अध्ययन गरि रहेको उहाँको भनाई छ । विद्यालय प्रति समुदाय र अभिभावकको भरोस बढेपछि विद्यार्थीहरुको आकर्षण बढेको उहाँले बताउनुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस विद्यालय विकटमा रहेर पनि छुट्टै पहिचान बनाउन सफल भएको बताउनुहुन्छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानी अनुसार शान्ति माविले प्रतिफल दिन थालेको उहाँको भनाई छ । अध्यक्ष बुढा मगरले पहिलो कार्यकालको सुरुवातदेखिनै शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले पनि पालिकाका थुप्रै विद्यालयहरुमा सुधार गरि रहेको बताउनुभयो ।

अध्यक्ष बुढा मगर भन्नुहुन्छ– “खुङ्खानी गाउँ भौगोलिक हिसाबले टाढा र विकटमै छ, यहाँ विकास गर्न त्यत्ति सहज थिएन, तर पनि निरन्तरको प्रयासले सफल भयौँ, अहिले एउटा चरणमा पुग्यो, विद्यार्थीहरुको चाप पनि राम्रो छ, गुणस्तरलाई बढाउन तर्फ जोड दिएका छौँ, नेट इन्टरनेट र अन्य प्राबिधिक सहयोग पनि गाउँपालिकाले गरि रहेको छ ।”

कक्षा १० सम्म पढाई हुने यस विद्यालय वि.सं. २०२१ सालमा स्थापना भएको थियो । वि.सं. २०४२ देखि निम्न माध्यमिक र २०६४ बाट माध्यमिक तह पढाई हुँदै आएको छ । यहाँ दश कक्षासम्म पढाई सकेर उच्च शिक्षाका लागि यहाँका विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गादोभान स्थित जनजागृति माध्यमिक विद्यालयमा पुग्नु पर्छ ।

छ घण्टा हिँडेर पढ्ने बाध्यता हट्दै
तमानखोला गाउँपालिका–६ नर्जाखानी, पात्ले, भित्रीवन लगायतका गाउँहरुबाट विद्यार्थीहरु दैनिक छ घण्टा हिँडेर माध्यमिक तहको अध्ययन गर्दै आएका छन् । वडा नम्बर ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाई विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि उनीहरु शान्ति माध्यमिक विद्यालयमा पुग्नु पर्छ । नर्जाखानीदेखि शान्ति मावि खुङ्खानी पुग्न तीन घण्टा बढी लाग्छ ।

वर्षौँदेखि घण्टौँ हिँडेर माध्यमिक शिक्षा हाँसिल गर्दै आएका नर्जाखानी क्षेत्रका विद्यार्थीले अब होस्टेलमै बसेर माध्यमिक तहको पढाई गर्न पाउने भएका छन् । शान्ति माध्यमिक विद्यालयमा होस्टेल संचालनका लागि चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको प्रधानाध्यापक सत्यनारायण सिंह बताउनुहुन्छ । नर्जाखानीदेखि आएर कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने भएको उहाँको भनाई छ ।

प्रधानाध्यापक सिंहले भन्नुभयो– “यहाँका विद्यार्थीलाई निकै समस्या थियो, दैनिक छ घण्टा पुरै हिड्नु पथ्र्यो, हिँडाइको थकाइले गर्दा उनीहरुमा पढाईप्रति रुची कम हुने गरेको पाइयो, त्यसले गर्दा यस वर्षबाट होस्टेलमा राखेर पढाउन थालेका छौँ, यस वर्ष छोटो समय राख्यौँ, आगामी वर्षदेखि थप व्यवस्थापनका साथ विद्यार्थीलाई सहज हुने गरि पढनपाठन गराउँछौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *