दुर्गम गाउँका विद्यार्थीलाई प्रविधिसँग जोड्न निःशुल्क कम्प्युटर कक्षा

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रबिधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढेकी दिपीकालाई त्यो अवसर भने थिएन । सूचना प्रबिधिका हिसाबले हर्दा अझै पछाडिनै रहेको निसीखोलामा राम्रो कम्प्युटर सिक्ने ठाउँ पनि छैन । गत चैतमा एसईई दिएर खाली बसेकी दिपीकालाई अहिले ठूलो अवसर प्राप्त भएको छ । निसीखोला गाउँपालिका–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरि निःशुल्क कम्प्युटर तालिम संचालन गरेपछि दिपीकालाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो ।

कम्प्युटर सिक्ने ! भन्दा सुगम ठाउँहरुमा सामान्य लाग्न सक्छ तर दुर्गम गाउँमा यसले ठूलो महत्व राक्छ । निसीखोलाका धेरै ठाउँमा अहिले पनि नेट इन्टरनेट पुग्न सकेका छैनन् । कम्प्युटर सिक्ने त धेरै टाढाको कुरा हो । देवीस्थान माविले विद्यार्थीका लागि दिएको यो अवसरबाट धेरै विद्यार्थी लाभाम्वित भएका छन् । यस विद्यालय बाहेक अन्य ठाउँबाट आए विद्यार्थीलाई समेत निःशुल्क कम्प्युटर सिक्न पाइरहेका छन् । एसईई दिएपछि बुर्तिबाङ बजारमै झरेर कम्प्युटर कक्षा लिने सोच बनाउनु भएकी दिपीकाले अहिले गाउँ नजिकैको विद्यालयमा कम्प्युटर सिक्न पाएपछि खुसी हुनु भएको छ ।

विद्यालयले निःशुल्क कक्षा दिन थालेपछि विद्यार्थीको हजारौँ रुपैयाँसमेत बचत भएको छ । नजिकमा कम्प्युटर सेन्टर नहुँदा विद्यार्थीहरु बुर्तिबाङ, बागलुङ लगायतका ठूला बजारहरुमा पुग्नु पर्ने स्थिती छ । खाली समयमा देवीस्थान माविले आफूहरुलाई सुनौलो अवसर दिएको दिपीका बताउनुहुन्छ । उहाँले बुर्तिबाङ बसेर कम्प्युटर सिक्न थालेको भए तीन महिनामा ४०÷५० हजार भन्दा बढी खर्च हुने बताउनुभयो । अहिले घरकै खाना खाजा खाएर निःशुल्क पढ्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ– “एसईई दिएपछि बुर्तिबाङ बजारमै गएर कम्प्युटर सिक्ने घरमा कुरा भइ रहेको थियो, त्यही बेला साथीहरुले देवीस्थान स्कूलमा ‘फ्रि’मा कम्प्युटर सिक्न पाइन्छ रे भन्नु भयो, बुझ्दा खेरी हो रैछ, अहिले यही आएर कक्षा लिइरहेका छौँ, बुर्तिबाङ गएको भए कोठा खोज्नु पथ्र्यो, खर्च बढी हुन्थ्यो, अहिले यहाँ त विहान एक घण्टा हिँडेर आएपछि सिक्न पाइयो, कम्प्युटर चलाउने मेरो सानैदेखिको चाहाना अहिले पूरा हुँदैछ, कम्प्युटर सिकेपछि अरु जागिर खान पनि सजिलो हुने भयो ।”

दिपीका जस्तै निसीखोला गाउँपालिका–१ हुल्दीका कपिल मगर पनि अहिले यही विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा लिइराख्नु भएको छ । एसईई दिएर केही दिन घुमघाम गर्ने र बाँकी समय घरको काम गर्ने योजना बनाउनु भएका मगर अहिले दैनिक कम्प्युटर सिक्न आउनु हुन्छ । आफूहरु जस्ता दुर्गम गाउँका विद्यार्थीलाई विद्यालयले ठूलो अवसर दिएको कपिल बताउनुहुन्छ । उहाँले अहिलेसम्म आफूले कम्प्युटर सिक्न नपाएको सुनाउनुभयो ।

“गाउँ घरमा कम्प्युटर सिक्न चाहेर पनि सिक्ने अवस्था छैन, यहाँ वरपर सिक्ने ठाउँहरु पनि छैनन्, सिक्नका लागि ठूलै बजारहरुमा जानु पर्छ,” उहाँले भन्नुभयो– “एसईई दिएर साथीहरुसँग केही दिन घुम्ने र केही दिन गाउँमै काम गर्छु भन्ने सोचेको थिए, सरहरुले यहाँ निःशुल्क कम्प्युटर सिक्न पाइने सूचना दिएपछि अहिले निरन्तर सिक्न आइरहेको छ ।”

बजारमा कम्प्युटरको ‘केसिक कोर्ष’ को चारदेखि छ हजार रुपैयाँसम्म शुल्क लिने गर्छन् । विद्यालयले निःशुल्क तीन महिना विद्यार्थीलाई तालिम दिने भएको हो । विद्यालयले विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न र उनीहरुको खाली समयको सदुपयोगका लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको देवीस्थान माध्यमिक विद्यालयमा प्रधानाध्यापक झगबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले देवीस्थान माविको मात्रै नभई निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयबाट विद्यार्थीहरु कम्प्युटर सिक्न आइरहेको बताउनुभयो ।

अहिले ५० जना विद्यार्थीले कक्षा लिइरहेको भन्दै दिनदिनै सिक्नेको संख्या बढ्दै गएको प्रअ क्षेत्रीको भनाइ छ । विद्यालयले दुई प्रशिक्षकनै राखेर कक्षा संचालन गरेको छ । प्रशिक्षकलाई विद्यालयले न्यूनतम पारिश्रमिक र खाजा खानाको व्यवस्था गरेको क्षेत्रीले बताउनुभयो । गत वैशाख १३ देखि सुरु भएको कम्प्युटर कक्षा एसईई नजिता आएर प्रकाशन भएर विद्यार्थी भर्ना नहुँदासम्म संचालन भइराख्ने उहाँको भनाई छ ।

“दुर्गम भेगका विद्यार्थीलाई प्रबिधिसँग जोड्न, उनीहरुको फुर्सदको समय सदुपयोग गर्न र विद्यार्थीलाई सकरात्म सोचको विकास गर्न हामीहरुले निःशुल्क कम्प्युटर कक्षा सुरु गरेका हौँ,” प्रधानाध्यापक क्षेत्रीले भन्नुभयो– “उनीहरुबाट कुनै शुल्क लिइँदैन, यहाँ कम्प्युटर सिक्ने राम्रो वातावरण पनि नभएको हुँदा विद्यालयले एउटा प्रयास गरेको हो, विद्यार्थीहरु निकै उत्साहपूर्वक सहभागी भइरहेका छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *