गलकोटमा हाटबजार : किसानको उत्पादन विक्री नभए सहकारीले किन्दिने

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौँ भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । तर अब आशा जस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूले मूल्य पाउने भएको छ । गलकोट नगरपालिका र गौमुखी कृषि विकास सहकारीको सहकार्यमा हटिया बजारमा हाटबजार तथा तरकारी संकलन केन्द्र संचालनमा आएको छ । गलकोट क्षेत्रका अधिकांश नागरिक कृषि क्षेत्रमा आवद्ध भए पनि अहिलेसम्म हाट बजार संचालन भएको थिएन ।

असोज २८ गते हाटबजार तथा तरकारी संकलन केन्द्र स्थापना भएपछि कृषकहरु हर्षित भएका छन् । एउटै गाउँमा दर्जनौँ कृषकले व्यवसायिक तरकारी खेति गर्दै आए पनि बजार र उचित मूल्य नपाउँदा समस्या भोग्दै आएको श्रीसले बताउनुभयो । गाउँमा रासायनिक मल प्रयोग नगरि अर्गानिक तरकारी र फलफूल उत्पाद गर्दै आएको उहाँको भनाइ छ । अब बजार तथा ग्रामीण क्षेत्रमा उत्पादन हुने उत्पादनले सहज रुपमा बजार पाउने श्रीसले विश्वास व्यक्त गर्नुभयो । आफूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरि रहेको भन्दै बजार नपाउँदा कुहिएर नष्ट हुँदा लाखौँ रुपैयाँ नोक्सानी भोग्नु परेको स्मरण गर्नुभयो ।

“नगरपालिका र सहकारीले हाम्रो लागि ठूलो काम गरेको छ, धेरै किसान बजार नपाए बिचलित हुनु भएको थियो, कयौँले कृषि पेसा छोडेर विदेश पनि जानु भयो, अहिले गर्दै आउनु भएका कुनै पनि किसानले आफ्नो पेसा छोड्न पर्दैन कि भन्ने आशा गरेका छौँ” श्रीले भन्नुभयो – “हाम्रो मुख्य समस्या बजार र मूल्यको थियो, गाउँमा धेरै विक्री गर्न सकिदैन, बजारमै ल्याउनु पर्छ, बजारमा ल्याउँदा गाडीको भाडानै नउठ्ने डर हुन्थ्यो, अब सहज हुने भयो ।”

गलकोट नगरपालिका–१ का कृषक रविन्द्रबहादुर बुढाथोकी अब आफू जस्ता किसान ठगिन नपर्ने बताउनुभयो । नगरपालिका र गौमुखी सहकारीले तरकारी तथा फलफूल विक्रीका लागि मूल्य सूचि बनाएको हुँदा उपभोक्ता तथा किसान कोही पनि ठगिन नपर्ने उहाँ बताउनुहुन्छ । गलकोट क्षेत्रमा लामो समयदेखि कृषि गर्दै आएका किसानले अब राज्य भएको अनुभूति गर्न पाउने बुढाथोकीको भनाइ छ ।

उहाँले भन्नुभयो – “अब कृषकले जति उत्पादन गरे पनि खेर नजाने भो, विक्री हुँदैन कि भनेर चिन्ता गर्ने दिन गए, हामीले जति उत्पादन गरे पनि हाटबजारमा ल्याएर बेच्ने छौँ, बजार–बजारमा पनि गएर विक्री गर्न पाइने छ, विक्री नभएको तरकारी र फलफूल सहकारीले राख्ने र त्यसको मूल्य हामीहरुलाई उपलब्ध गराउने छ, अब हामीहरु उत्साहका साथ उत्पादनमा लाग्ने छौँ, पहिलेनै यो काम भएको भए धेरै मान्छेहरु व्यवसायिक तरकारी खेतीमा लाग्ने थियो ।”

गौमुखी कृषि विकास सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीले आफूहरुले वि.सं. २०६४ सालदेखि थालेको प्रयास अहिले सफल भएको बताउनुभयो । सहकारीमार्फत किसानको समस्या समाधान गर्न, उनीहरुलाई प्रबिधिसँग जोड्न र आयआर्जनलाई बलियो बनाउनका लागि लामो समयदेखि काम गर्दै आएको अध्यक्ष खत्रीको भनाइ छ । अघिल्लो वर्षदेखि नगरपालिकासँग सहकार्यमा जग्गा व्यवस्थापन गरि हाटबजार र संकलन केन्द्र निर्माणपछि संचालन सुरु गरिएको बताउनुभयो । हाटबजार हप्तामा एक दिन संचालन गर्ने र विक्री नभएका किसान तरकारी तथा फलफूल प्रत्येक दिन आफूहरुले राख्दिने बताउनुभयो । किसानको विक्री नभएका वस्तु प्रशोधन गरि विभिन्न परिकार बनाउने अध्यक्ष खत्रीको भनाइ छ । प्रशोधनका लागि मेशिनसमेत खरिद गरि सकेको उहाँ बताउनुहुन्छ ।

“अब किसानका कुनै पनि उत्पादन नोक्सान हुने छैनन्, उहाँहरुले बेच्न सकेको बेच्नुहुन्छ, नसकेको हामीले राखेर उहाँहरुलाई रकम दिन्छौँ, उहाँहरुले बेच्ने मूल्यभन्दा प्रति किलो पाँच रुपैयाँ बढी रकम उपलब्ध गराउँछौँ,” अध्यक्ष खत्रीले भन्नुभयो – “कृषि गर्दै आएका कृषकहरु ठगिएको अवस्था थियो, जसले धेरै दुःख गरेर उत्पादन गर्छ, त्यसले उचित मूल्य पाएको थिएन, उपभोक्ताले पनि महङ्गोमा उपयोग गर्नु पथ्र्यो, उहाँहरुले जति उत्पादन गर्नु हुन्छ, विक्री भएन भनेर चिन्ता गर्नु पर्दैन, हामीहरुले उहाँको उत्पादन राख्छौँ, अब कृषकहरु उत्पादनमा लाग्नु पर्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले किसानलाई व्यवसायिक बनाउनका लागि हाटबजार संचालनमा ल्याएका बताउनुभयो । यहाँका हरेक घरमा फलफूल तथा तरकारी उत्पादन हुने र विक्री नहुँदा यतिकै खेर गइ रहेको हुँदा नगरपालिका भित्रका सबै नागरिकको आयआर्जनमा टेवा पु¥याउनका लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरि सहकारीसँग सहकार्यमा हाटबजार र तरकारी संकलन केन्द्र संचालन गरेको बताउनुहुन्छ । हाटबजार संचालनसँगै नगरपालिकाले किसानलाई उन्नत जातका बिउभिजन वितरण, आवश्यक अनुदान, तालिम तथा पराशर्म र प्राबिधिक सहयोग गर्दै आएको प्रवक्ता भण्डारी बताउनुहुन्छ । हरेक किसानको तरकारीमा नगरपालिकाले प्रति किलो तीन रुपैयाँ थप गरि दिने उहाँको भनाइ छ ।

हाटबजार र तरकारी संकलन केन्द्रमा ११ वटा स्टल निर्माण गरिएको छ । यी स्टलमा पालिकाका ११ वटै वडाका किसानले उत्पादन गरेको वस्तुहरु विक्रीका लागि राखिने भण्डारीले बताउनुभयो । अब गाउँ–गाउँबाट सबै किसान बजारमा आउनु नपर्ने उहाँ बताउनुहुन्छ । गाउँमा उत्पादन भएको वस्तुलाई संकलन गरि एक जना कर्मचारीमार्फत हाटबजारमा ल्याएर विक्री गर्ने व्यवस्था मिलाएको भण्डारीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *