सुन्दर र समुन्नत बेनी निर्माणमा केन्द्रित छौँ : नेत्रप्रसाद पौडेल

म्याग्दीमा एउटा मात्रै नगरपालिका छ, बेनी नगरपालिका । यो नगरपालिका साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्लि, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर बनाइएको हो । ७६.५७ वर्ग किलोमिटर क्षेत्रफ रहेको यस नगरपालिकाको २०७८ को जनगणना अनुसार ३३ हजार ६२ जनसंख्या रहेको छ । यही नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा अन्य कार्यहरुको बारेमा के कस्ता कार्य भएका छन् ? र आगामी योजनाहरु के कस्ता रहेका छन् ? भन्ने विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलसँग आदर्ककर्मी अमृत बास्कुनेले गरेको कुराकानी :

बेनी नगरपालिकामा हजुरको आगमनपछि के कस्तो सकारात्मक परिवर्तन भए ?
यो पटक म स्थानीय तहको गठन पश्चात प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा छु । बेनी नगरपालिकामा मेरो यो दोश्रो पटक आगमन हो । मेरो पहिलो कार्यकाल साविकको स्थानीय निकायको कार्यकारी अधिकृतको रूपमा थियो । त्यो बेला थोरै समय बेनी नगरपालिकामा सेवा गर्ने मौका पाएको थिएँ । त्यो बेलाको स्थानीय निकाय र हालको सङ्घीय स्थानीय तहमा निकै नै फरक छ । साधन स्रोत, जनशक्ति, कार्यप्रकृया तथा अधिकार तथा कर्तव्यको हिसाबले स्थानीय तहले धेरै कामहरू गर्न सक्ने अवस्था छ । अहिलेको मेरो जिम्मेवारी भनेको बेनी नगरपालिकाको नीति, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गराउने हो । सेवाप्रवाहलाई सरल, सहज र झन्झटरहीत तबरको बनाउने हो । यही कार्यमा म र मेरो सकल टिम लागिरहेको अवस्था छ । बेनी नगरपालिकाको निर्वाचित जनप्रतिनिधिहरूलाई कानूनको परिधिमा रहेर नगर विकासको लागि सघाउने काम नै कर्मचारीको मुख्य काम हो । यसैमा मेरो ध्यान सँधै नै गईरहेको हुन्छ ।

सुन्दर र समुन्नत बेनी नगरपालिका बनाउनका लागि के कस्ता योजनाहरु अगाडि सारिएका छन् ?
बेनी नगरपालिकाको समग्र विकासको लागि आवधिक योजना तयार भएको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को नीति, योजना र कार्यक्रम छ । नगर सभाले विभिन्न योजना तथा कार्यक्रमहरू अघि सारेको छ । नेपाल सरकार र गण्डकी प्रदेश सरकारका विभिन्न सशर्त तथा निशर्त अनुदानहरू पनि छन् । समग्रमा बेनी नगरपालिकाको स्थानीय शासन, विकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउने, पर्यावरणीय सन्तुलन कायम गर्ने, कृषि क्षेत्रको विकास गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, स्थानीय सडक विस्तार र विकास, कालीगण्डकी र म्याग्दी खोलाको जलसम्पदाको संरक्षण, फोहोरमैला व्यवस्थापन, भू–क्षय नियन्त्रणका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, शिक्षा र स्वास्थ्यका कार्यक्रमहरूलाई जनसन्तुष्टी हासिल हुनेगरी कार्यान्वयन गराउने, स्थानीय आन्तरिक श्रोतको अभिवृद्धि गर्ने, स्थानीय सुशासन कायम गर्ने र स्थानीय सरकारको प्रभावकारिता बढाउँदै संघीय शासन प्रणालीलाई सबलीकृत गर्ने नै बेनी नगरपालिकाले अघि बढाएका र बढाउने योजना तथा कार्यक्रमहरू हुन् । उल्लिखित योजना र कार्यक्रमहरूलाई कार्यान्वयन गरी प्रतिफल हासिल गर्न विभिन्न अल्पकालीन र दीर्घकालीन रणनीतिहरू अवलम्बन गर्नुपर्ने आजको नगरपालिकाको आवश्यकता हो भन्नेमा म विश्वास गर्दछु । त्यही विश्वासलाई मूर्तरुप दिनका लागि म र मेरो टिम अहोरात्र खटेर लक्ष हासिलका लागि लाग्ने नै छ ।

शिक्षा, स्वास्थ्य, विद्युत तथा खानेपानीको क्षेत्रमा नगरपालिकाले के कस्तो योजना ल्याएको छ ?
नेपालको संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य र माध्यमिक तहसम्मको शिक्षाको प्रभावकारी व्यवस्थापन गरी जनचाहना बमोजिमको सेवा प्रवाह गर्नु स्थानीय तहको मुख्य जिम्मेवारीमा नै पर्छ । बेनी नगर क्षेत्र भित्र माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालयहरूलाई सेन्टर अफ् एक्सेलेन्स बनाउने जिम्मेवारी पनि नगरपालिकाको नै हो । यसका लागि विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने हुन्छ । विद्यालयहरूमा भौतिक संरचनाको अवस्था सन्तोषजनक नै छ । अव क्रान्ति ल्याउनुपर्ने छः पठन पाठन क्रियाकलापमा । शिक्षाको गुणस्तर सुधार गर्नको लागि विद्यार्थीहरूमा युगले मागे बमोजिम ज्ञान, सीप र धारणाको विजारोपण गर्नुपर्ने हुन्छ । आजको युग भनेको ग्लोवल भिलेजको युग हो । विश्व समुदायसँग प्रतिष्पर्धा गर्नसक्ने विद्यार्थीहरूको उत्पादन नगरपालिकाले गर्नुपर्ने हुन्छ । त्यसका लागि नगरपालिकाको नेतृत्वलाई सबैले सघाउनुपर्ने हुन्छ । हाम्रा योजना तथा कार्यक्रमहरूपनि उल्लिखित लक्ष्योन्मुख हुनुपर्छ । आधुनिक प्रविधिको अवलम्वन गरी अध्ययन अध्यापन गराउनुपर्छ । शिक्षक विद्यार्थीहरू राजनीतिक क्रियाकलापमा उपयोग हुनु हुँदैन । यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरूरी छ । कुनै पनि विद्यालयहरुमा राजनैतिक कृयाकलाप गर्ने र बिद्यार्थी तथा शिक्षण क्षेत्रका शिक्षक तथा कर्मचारीलाई प्रत्यक्ष रुपमा राजनैतिक गतिबिधिमा सम्लग्नता रोक्नु नै पर्छ ।

स्वस्थ्य जीपनयापन गर्न पाउने नेपालीको मौलिक हक हो । यो कुरा संविधानमा नै उल्लेख भएको अवस्था छ । स्वास्थ्य सेवाको प्रस्थान बिन्दू भनेको स्थानीय तह नै हो । हाम्रा सबै स्वास्थ्य संस्थाहरूलाई सबलीकृत गरी कार्यक्रमहरूको कार्यान्वयन गर्नेतर्फ नगरपालिका लागीपरेको छ । यही नै हाम्रो प्राथमिकताको विषय हो । नगर क्षेत्र भित्र दीगो र स्वस्थ्य ऊर्जा र खानेपानी उपलब्ध गराउनु नगरपालिकाको मुख्य जिम्मेवारी भएकाले पनि सोहीतर्फ हाम्रा क्रियाकलापहरू निर्देशित छन् । आउँदा दिनहरूमा यी विषयहरूमा हामी अझै प्रभावकारी ढंगले कामकार्यवाही अघि बढाउनेछौं ।

नगरपालिकामा कर्मचारी व्यवस्थापन कसरी भएका छन् ? के अहिले नगरपालिकामा पर्याप्त कर्मचारी छन् ?
कर्मचारीहरू अहिले पर्याप्त नै भएको अवस्था छ । स्थानीय तहमा कर्मचारीको व्यवस्थापन प्रदेश लोकसेवा आयोगको सिफारिसमा हुन्छ । यो विद्यमान कानूनी प्रवन्ध हो । साविकमा कर्मचारी समायोजन ऐन, २०७५ ले आवश्यक कर्मचारीको माग पूर्ति गरेको थियो । अहिले रिक्त पदहरू नगरपालिकाकाले पदपूर्तिको लागि गण्डकी प्रदेश लोकसेवा आयोगमा लेखी पठाउँछ । अनि उक्त आयोगले परीक्षा सञ्चालन गरी उपयुक्त उम्मेदवारलाई सिफारिस गरी पठाए पछि कर्मचारीको पदपूर्ति हुन्छ । अहिले केही २÷४ पदहरू बाहेक नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा कर्मचारीको आपूर्ति सन्तोषजनक नै छ । कर्मचारीको संख्या जति बढी भयो त्यति सञ्चालन खर्च बढ्ने र विकास निर्माणका काममा बजेट कम हुनेहुँदा थोरै संख्याले धेरै काम गराउनु उत्तम हो । प्रविधिको प्रयोग गरियो भने नगरपालिकाको विद्यमान कर्मचारी संख्याले जति पनि काम गर्न सकिने अवस्था रहन्छ ।

बेनीको व्यवस्थापन गर्न तपाईको योजना के छ ?
मेरो योजनाभन्दा पनि नगरपालिकाको योजनामा मेरो नेतृत्वको कर्मचारी टीमले सघाउने हो । योजना र कार्यक्रम त नगरसभा, विभिन्न योजनाहरू, कार्यपालिका तथा कार्यालयस्तरीय निर्णयहरूबाट हुने गर्छन् । बेनीबजार सानो छ । बजार पुरै भरिभराउ भैसक्यो । साविकमा कुनै योजना विनै बजार वस्तीहरूको विकास भयो । नदीकिनारामा भएको बजार भएरपनि कतिपय मापदण्डहरू पूरा हुन सकेका छैनन् । अहिले नगरपालिकाले राइट अफ वे को मापदण्ड बमोजिम टहराहरू हटाउने कार्यक्रम अघि बढाएको छ । यस कार्यमा सबै नगरवासीले सहयोग गर्नुपर्ने अवस्था छ । सडकको मर्मत तथा नव निर्माणको काम नगरपालिकाले गरिरहेको छ । बजारको सरसफाइमा सबै सर्वसाधारण जनताको साथ र सहयोगको नगरपालिका अपेक्षा गर्दछ । दुई नदीको जलसम्पदाको संरक्षण र नदीको सरसफाईमा विशेष ध्यान दिनुपर्ने अवस्था छ । कालीगण्डकीको सफाई र शालग्राम भगवानको संरक्षणमा हामी सबैले हातेमालो गर्नुपर्ने अवस्था रहेको छ । यसतर्फ नगरपालिका पूर्ण सचेत भई आफ्ना योजना तथा कार्यक्रमहरू अघि बढाइरहेको छ ।

जातिय विभेद, महिला हिंसा, बालविवाह जस्ता समस्या नगरपालिका भित्र छन् कि छैनन ?
नगरक्षेत्रमा विद्यमान अवस्थामा तपाईँले भन्नु भए जस्तो विभेदका घटनाहरू छैनन् । यस सम्बन्धमा नगरपालिकाको न्यायीक समिति पनि क्रियाशिल छ । घरेलु हिंसा, महिला विभेदीकरण जस्ता सामाजिक विसंगतिहरूको न्यूनीकरण तथा निर्मूलीकरणको लागि आम नागरिक तथा जनताहरूको सचेतीकरण पनि जरूरी हुन्छ । यस्ता घटनाहरूको निरोधको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि नगरपालिकाले गरिरहेकै छ ।

नगरपालिका भित्र सार्वजनिक जग्गा के कती छन् र नगरपालिकाको नाउमा रहेका जग्गाको प्रयोग कसरी भएको छ ?
यस सम्बन्धमा एकीकृत तथ्याङ्क सहितको विवरण तयार गरिरहेको छ, नगरपालिकाले । सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग प्रचलित नेपाल कानून र स्थानीय कानूनको अधीनमा रही हुन्छ । राज्यको जग्गा जमिनको अवैध प्रयोग हुन नदिन हामी प्रतिबद्ध छौं त्यसमा हामी सँधै लागि रहन्छौं ।

नगरपालिकाको राजश्व आम्दानीको अवस्था के कस्तो रहेको छ ?
हाम्रो नगरपालिका ग्रामीण क्षेत्रमा अवस्थित नगरपालिका हो । बजार क्षेत्र अत्यन्त न्यून छ । आन्तरिक श्रोत निकै कम छ । राजश्वका क्षेत्रहरूमा विविधिकरण र विस्तृतिकरण गरी आन्तरिक श्रोत अभिवृद्धि गर्नुपर्ने अवस्था छ ।

अन्त्यमा केही भन्नु छ कि ?
हामी संघीय शासन प्रणालीमा छौं । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । बेनी नगरपालिकाको नीतिगत नेतृत्व निर्वाचित जनप्रतिनिधिज्यूहरूले गर्नुहुन्छ । नीति निर्माणमा प्रशासनको सकारात्मक सहयोग रहन्छ । नीति कार्यान्वयनको जिम्मेवारी कार्यालयमा हुन्छ । हामी जनतालाई सकारात्मक अनुभूति हुनेहिसाबले योजना तथा कार्यक्रमहरूको कार्यान्वयनमा लागिरहेका छौं । अहिलेको शासन प्रशासन सहनिर्माण, सहउत्पादन तथा सहशासनको हो । नगरपालिकाले लिएका नीति तथा उद्देश्यहरूको परिपूर्तिको लागि सबै सरोकारवाला तथा आम सर्वसाधारण नागरिकको सकारात्मक सहयोग जरूरी छ । राजनीति तथा प्रशासनको आआफ्नो अधिकार क्षेत्रमा इमान्दारिता साथ सबै लाग्नु पर्ने हुन्छ । विकसित र समुन्नत बेनी नगरपालिका हामी सबैको दीर्घकालीन योजना भएकाले सबैलाई यसै उद्देश्य तथा योजनामा हातेमालो गर्न अनुरोध गर्दछु । प्रभावकारी सेवा प्रवाह तथा सुशासन स्थापना गरी जनसन्तुष्टी हुने गरी सबैले आ–आफ्नो जिम्मेवारी दत्तचित्त भएर पूरा गरौं । अन्त्यमा दशै, तिहार, छठलगायतका चाडपर्वहरूको सबै नगरबासीहरूमा शुभकामना व्यक्त गर्दछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *