गलकोट–म्याग्दी सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत मात्रै काम

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट हटिया बजारदेखि ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नती गर्न थालिएको चार वर्ष भयो । वि.सं. २०७६ कात्तिकमा सम्झौता गरि काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । पूर्वधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रकसनलाई दुई वर्षमा सक्ने गरि जिम्मा दिएको थियो । वि.सं. २०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने काम तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ । दुई जिल्ला जोड्ने सडकको काम सुस्त गतिमा हुँदा यात्रा गर्न निकै कठिन भएको छ । निर्माण कम्पनीले लामो समय काम रोकेको थियो ।

अहिले निर्माण कम्पनीले कामदार खटाएर काम गरि रहेको छ । दुई दशकसम्म कच्ची सडक हुँदा समय–समयमा दुर्घटना हुने गरेको छ भने यात्रा निकै कष्टकर हुने गरेको यात्रुको भनाइ छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले निर्माण कम्पनी सम्झौता गरेर काम गर्न आएदेखि समस्यामा सहजीकरण गर्दै आए पनि समयमै काम गर्न नसकेको बताउनुभयो । बारम्बार काम गर्नका लागि आग्रह गरे पनि अटेर गर्दै आएको उहाँको भनाइ छ । समयमै सडक कालोपत्रे नहुँदा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती भोग्नु उहाँ बताउनुहुन्छ ।

प्रमुख गैरेले अहिले वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल संचालन गरेको र नागरिकहरु उपचारका लागि त्यहाँ जाँदा बढी समस्या खेप्नु परेको सनाउनुभयो । सडक आसपासका स्थानीय बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेको गैरे बताउनुहुन्छ । सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नु परेको उहाँको भनाई छ ।

प्रमुख गैरेले भन्नुभयो – “ट्रयाक खुलेको धेरै वर्षपछि सडक स्तरोन्नती हुँदा स्थानीय खुसी भएका थिए, हामीहरु पनि खुसी थियौँ तर निर्माण कम्पनीले चार वर्ष बित्न लाग्दा पनि काम सकेको छैन, हटिया बजारदेखि नगरपालिकाको कार्यालयसम्मको केही भाग नगरपालिकाले पनि काम गरेको छ, यतिका समयसम्म काम नगर्दा स्थानीय आक्रोसित भएका छन्, हामीहरुले सहयोग गर्दा पनि समयमा काम गर्न सकेको छैन ।”

निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म काम सक्ने पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार १० किलोमिटर आठ सय मिटर कालोपत्रे गर्नका लागि जिम्मा पाएको निर्माण कम्पनीले गलकोट खण्डमा नाली निर्माण, फराकिलो बनाउने काम सकेको छ ।

ताराखोला खण्डमा नाली व्यवस्थापन र फराकिलो पार्ने काम गरि रहेको इन्जिनियर पुनले बताउनुभयो । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–४ साँदीसम्मका लागि पहिलो चरणमा काम भएको हो । अहिले गाईघाट झरनासम्म काम भइरहेको पुनको भनाइ छ । निर्माण कम्पनीले २८ करोडको जिम्मा लिएको पुनले बताउनुभयो ।

“काम सुरु भएपछि निर्माण कम्पनीले बीचमा लामो समय काम गरेन, अहिले ‘फिल्ड’मा आएर धमाधम काम गरि रहेको छ, असार मसान्तसम्म म्याद छ, काम ग¥यो भने सकिने संभावना देखिन्छ,” इन्जिनियर पुनले भन्नुभयो – “अब ४० प्रतिशत काम बाँकी छ, नाली र सडक चौडा गर्ने काम सकियो भने कालोपत्रे गर्न धेरै समय लाग्दैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *