होटलले भरिदै ढोरपाटन : अब गोठमा बस्नु पर्दैन पर्यटक

डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडिसम्म नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको संख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तिर्थयात्रु ढोरबराह मन्दिरमा पूजा अर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्ट मात्रै मानिसहरु घुम्न जान्थे । ढोरपाटन पुग्नेहरु गाईभैसीँ बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नु पर्ने अवस्था छैन । अहिले कच्ची भए पनिसडक पुगेको छ । सामान्य भए पनि होटल तथा होमस्टे (घरबास) ठाउँ–ठाउँमा छन् ।

सडक र होटल संचालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन् । यहाँ दैनिक पर्यटकको संख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास संचालनमा आएका छन् । होटल संचालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नु परेको छैन । काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घरहरु बन्न थालेका छन् । स्थानीयसँग बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल संचालन गर्नेहरु पनि धेरै छन् ।

ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बुढापाका दंग छन् । पहिले सामान्य झुपडी रहेको बस्तीहरुमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल संचालनमा आएका छन् । चिसो ठाउँ भएको हुँदा न्यायो हुने गरि यहाँका भवनहरु निर्माण भएका छन् । ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा बढी होटलहरु निर्माण भएको पाइन्छ । कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको संख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन कुमार पुन मगरले बताउनुभयो । पहिले ढोरपाटन आउँदा बास बस्न र खानाको ठूलो समस्या हुने हुँदा कम मात्रामा पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

अहिले टोल–टोल र बस्ती–बस्तीमा होटल तथा घरबास संचालनमा आएको हुँदा एक रातमा करिब छ सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको अध्यक्ष पुन गरेको बताउनुभयो । हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उहाँको भनाइ छ । संचालनमा आएका होटलहरु सहर बजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्नका लागि भने उपयुक्त रहेको पुन मगरले बताउनुभयो । पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै गएको उहाँ बताउनुहुन्छ ।

“चार वर्ष अगाडिसम्म ढोरपाटन आउने पर्यटकलाई कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या थियो, सामान्य गोठमा स्याउला बिच्छाएर चिसोमा रात बिताउनु पर्ने अवस्था थियो, खाना खाने व्यवस्था थिएन, तर अहिले त्यो समस्या पूर्ण रुपमा समाधान भएको छ, दुई÷तीन वर्षको अवधिमा यति धेरै होटल र होमस्टे संचालनमा आए” उहाँले भन्नुभयो – “सहरको जस्तो ‘लक्जसिएस’ त नहोलान् तर भोक टार्न र रात बिताउनका लागि होटल भने प्रसस्तै छन् ।”

ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गंगा भण्डारीले यो क्षेत्र निकै परिचत भए पनि विकासका हिसाबले पछाडि रहेको बताउनुभयो । स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको गुनासो पोख्नु भयो । हिउँदमा बेसी (बोबाङगाउँ) र बर्खामा लेक (ढोरपाटन) मा बस्ने स्थानीयहरु अहिले उपत्यका क्षेत्रमै स्थायी रुपमा बसेर होटल व्यवसाय गर्न थालेको उहाँको भनाइ छ । गाउँलेले आगन्तुकका लागि बस्न र खानको लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचे अनुसार पर्यटक ल्याउन नसकेको भण्डारीले बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “यो ठाउँका अधिकांश मान्छेहरु बुकी जाने, वस्तुभाउ चराउने र खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए, व्यापार व्यवसाय गर्ने वातावरण थिएन, अहिलेका जस्ता घरहरु पनि थिएनन्, बिस्तारै बाटो आयो, मोटरगाडी आउन थालेपछि घरहरु पनि राम्रा बन्न थाले, होटल भन्ने थाहा हुँदैनथ्यो, सहर बजार जाँदा मात्रै सुनिन्थ्यो, अहिले त यहाँ पनि धेरै होटल खुलेका छन्, यस क्षेत्रका जनतालाई सबैभन्दा बढी समस्या बुर्तिबाङदेखि यहाँसम्म आउने बाटोको छ, धेरै वर्ष भयो बाटो खुलेको तर अहिलेसम्म राम्रो बन्न सकेको छैन ।”

ढोरपाटन पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष बेगबहादुर विश्वकर्माले एक दशक अगाडि यहाँ आउने पर्यटकको संख्या निकै न्यून रहेको भन्दै पछिल्लो समय बढ्दै गएको बताउनुभयो । पहिले ढोरपाटन आएका पर्यटकले गोठमा बसेर आलुको ढिँडो, आलुकै खोले खानुको विकल्प नभएको भन्दै अहिले पाहुनाले चाहे अनुसारको ठाउँमा बस्न र स्थानीय उत्पादनका परिकारहरु खान पाउने उहाँको भनाइ छ । ढोरपाटन आउने अधिकांश पर्यटक उपत्यका क्षेत्रमा मात्रै डुलेर जाने गरेको विश्वकर्माले बताउनुभयो ।

उपत्यकाभन्दा बुकी क्षेत्र, जलजला, छुन्तुङ लगायत माथिल्लो क्षेत्र निकै रमणिय रहेको उहाँको भनाइ छ । होटल तथा घरबास संचालनमा आएपछि पर्यटक आगमनमा निकै वृद्धि भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । अहिले चिसोका कारण पर्यटक आउन छोडेको भन्दै सिजनमा दैनिक करिब तीन सयदेखि पाँच सयसम्म आउने गरेको उहाँको भनाइ छ ।

बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटर उत्तर पश्चिममा रहेको ढोरपाटन उपत्यका कच्ची सडकका कारण गाडीमा करिब दुई घण्टा लाग्छ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडक वि.सं. २०६६ सालदेखि निर्माण सुरु भएको थियो । बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिट सडक स्तरोन्नतीका लागि अघिल्लो वर्ष कात्तिकमा ठेक्का प्रक्रियामा गए पनि अपेक्षित रुपमा काम हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *