पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तारोन्नती हुँदै

डम्मर बुढा मगर, बागलुङ
पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । वि.सं. २०६४ सालमा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले यस सडक स्तरोन्नती गर्न थालेको छ । निसीखोला गाउँपालिका–२ र ढोरपाटन नगरपालिका–५ मा पर्ने अर्नाकोट उच्च पहाडी क्षेत्रमा पर्छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि करिब सात किलोमिटर दक्षिण पश्चिममा पर्ने अर्नाकोटसम्म पुग्ने सडकलाई स्तारोन्नती गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

पूर्वधार विकास कार्यलय बागलुङमार्फत सडक स्तरोन्नतीको काम हुन थालेको हो । उक्त सडक निर्माणका लागि भगवती मालिका कन्स्ट्रक्सन म्याग्दीले जिम्मा पाएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर मनिष भण्डारीले जानकारी दिनुभयो । यस वर्ष करिब पाँच किलोमिटर सडक स्तरोन्नती हुने उहाँको भनाइ छ । सडकको सलामकोट–मस्ती–अर्नाकोट क्षेत्रमा ग्राभेलिङ, सडक चौडा गर्ने र नाली निर्माण गरिने भण्डारीले बताउनुहुभयो । ८६ लाख बजेट लागत स्टिमेट गरे पनि निर्माण कम्पनीले ६३ लाख २८ हजार ९२० मा सम्झौता गरेको उहाँ बताउनुहुन्छ ।

इन्जिनियर भण्डारीले भन्नुभयो – “कार्यालयले ठेक्का प्रक्रिया अगाडि बढाएर सम्झौता पनि गरेको छ, अब केही दिनमा निर्माण कम्पनी ‘फिल्ड’मा पुगेर काम गर्ने छ, यो वर्ष बजेट निकै कम छ, त्यसले गर्दा धेरै काम गर्न सकिने स्थिती छैन, निर्माण कम्पनीले आगामी असार मसान्तसम्म काम सक्नु पर्ने छ, सडकको एक ठाउँमा ह्युमपाइप राख्नु पर्ने छ भने केही ठाउँमा ग्याविनसहितको पर्खाल, नाली निर्माण र केही भागमा ग्राभेलिङ गरिने छ ।”

ढोरपाटन नगरपालिका–५ का स्थानीय मीनबहादुर विकले वर्षौँ बित्दा पनि सडक स्तरोन्नती नहुँदा यहाँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो । सडक अप्ठ्यारो हुँदा गाउँमा उत्पादन भएका तरकारी बुर्तिबाङ बजारमा पु¥याउन निकै कठिन हुने गरेको उहाँको भनाइ छ । सडक खुलाएको २० वर्ष हुन लाग्दा पनि स्तरोन्नती नहुनु दुःखद भएको विकले बताउनुहुन्छ । यस वर्ष स्तरोन्नती गर्ने भनिए पनि पूरै सडक नहुने उहाँको भनाइ छ ।

बागलुङ क्षेत्र नम्बर २ (ख)का सांसद दोर्णकुमार कुँवरले वि.सं. २०६४ सालमा निकै दुःखका साथ सडक खुलाएको भन्दै यस वर्ष बल्ल स्तरोन्नतीका लागि थोरै भए पनि बजेट व्यवस्थापन भएको बताउनुभयो । खास गरि दूर गाउँका नागरिकलाई बजारसँग जोड्न र पर्यटकीय क्षेत्र अर्नाकोटमा पर्यटक आगमनलाई बढाउनका लागि यो सडक खुलाएको उहाँको भनाइ छ । यो सडकले यस क्षेत्रका हजारौँ नागरिकको जीवनस्तर परिर्वतनमा ठूलो भूमिका खेलेको सुनाउँदै अब केही वर्षमै बुर्तिबाङदेसख अर्नाकोटसम्म स्तरोन्नती गर्ने सांसद कुँवरले बताउनुभयो ।

“सडकले अर्नाकोट नजोडिँदा दैनिक उपभोग्य सामान ल्याउन बुर्तिबाङ बजार झनु पर्ने स्थिती थियो, स्थानीयले बोकेरै सामान ओसारपसार गर्थे, बजारमा पुग्नै तीन÷चार घण्टा लाग्थ्यो, अहिले कच्ची भए पनि सडक गाउँसम्म पुगेको छ,” कुँवरले भन्नुभयो – “सडकले सहजता प्रदान त गर्नेनै भयो, कहिलेकाहीँ अप्ठ्यारो सडकका कारण दुर्घटनासमेत हुने गरेको छ, अब यस वर्ष थोरै बजेट विनियोजन भयो, यसले स्तरोन्नतीको थालनी हुने छ, आगामी वर्षदेखि बढी बजेट व्यवस्थापन गरेर काम सक्नु पर्ने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *