ट्रेकिङका लागि उपयुक्त गन्तव्य बन्दै ‘बराह ताल’

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसँग वन जंगल पुगेर स्वच्छ हावापानी र चराचुरुङ्गीको आवाजसँग रमाउनेको संख्या बढि रहेको छ । अझ बढी त ‘ट्रेकिङ’ गर्ने छ । बागलुङको तल्लो क्षेत्रदेखि उच्च पहाडसम्म युवाहरु फुमफिर गर्न थालेका छ । दुई वर्षदेखि तमानखोलाको बराह ताल र ढोरपाटनको बुकी क्षेत्रलाई आन्तरिक पर्यटकले ‘ट्रेकिङ’को मुख्य थलो बनाएका छन् । पश्चिम बागलुङको मुख्य व्यापाकरीक केन्द्र बुर्तिबाङ बजारदेखि नजिकै रहेको बराह ताल क्षेत्रमा केही समय यता ‘ट्रेकिङ’ गर्नेको संख्या बढ्दै गएको छ । उच्च पहाडी हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताका कारण बराह तालमा पुग्नेको संख्या दिनप्रति दिन बढ्दै गएको छ ।

घना जंगलको बीचमा रहेको बराह तालले आगन्तुकलाई स्वागत गरि रहेको छ । छेउँमै रहेको सिद्ध बराह मन्दिर र यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारि रहेको छ । तमानखोला गाउँपालिका–२ मा रहेको बराह तालसम्म धेरै ठाउँबाट पुग्न सकिने हुँदा ‘ट्रेकिङ’ गर्नेहरुका लागि मुख्य केन्द्र बनेको हो । बराह तालमा बुर्तिबाङ बजारदेखि ३ तीन घण्टा ३० मिनेट, अधिकारीचौरदेखि ३ घण्टा, ढोरपाटन सिकार आरक्षबाट गुर्जाघाट हुँदै ४ घण्टा र तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट साढे १ घण्टामा पुग्न सकिने हुँदा आन्तरिक पर्यटकले ‘ट्रेकिङ’ गर्न रुचाउने गरेका छन् । बराह ताल आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि तमानखोला गाउँपालिकाले पनि वर्षेनी लाखौँ रुपैयाँ लगानी गर्दै आएको छ ।

आधा दशक अगाडिसम्म ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका हुन नसक्दा ओझेलमा थियो । गाउँपालिकाले पूर्वधार निर्माण प्रचारप्रसार गर्न थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बराह ताल क्षेत्रको विकासका लागि हालसम्म साढे एक करोड बढि लगानी गरेको बताउनुभयो । यहाँ पूर्वधार निर्माण हुनु पूर्व कहिलेकाहीँ नजिकको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी ठाउँबाट आउने निकै कम भएको उहाँ भनाइ छ । गाउँपालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माण लगायतका संरचना बनाएको अध्यक्ष बुढा मगरले बताउनुभयो । पछिल्लो समय दैनिकजसो आन्तरिक पर्यटक तालमा आउने गरेको उहाँ बताउनुहुन्छ ।

“बराह तलामा आउनेको संख्या हरेक वर्ष बढि रहेको छ, अहिले पनि दिनहुँ पर्यटकहरुले तालको अवलोकन गर्ने, यति बेला जंगल पुरै लालिगुराँसले राताम्य बनेको छ, फूल र यहाँको वातावरणसँग रम्न आउने धेरै छन्,” अध्यक्ष बुढा मगरले भन्नुभयो – “हामीहरु निर्वाचित भएर आएदेखि सुरुको कार्यकालमै यसको विकासमा जुटेका थियौँ, सडक पुगेको थिएन, सडक पु¥यायौँ, पदमार्ग बनाएका छौँ, अन्य थुप्रै संचरना बन्ने चरणमा छन्, घुमफिर गर्नेहरुको रोजाईमा बराह ताल परेको छ, हामीहरुले निरन्तर लगानी गर्दै आएका छौँ ।”

चितवनबाट घुम्न आउनु भएका राजु पौडेलले बराह ताल निकै रमणिय रहेको बताउनुभयो । गर्मी बिदामा ढोरपाटन घुम्न आएको सुनाउँदै ११ जनाको टोली बुर्तिबाङदेखि बराह तालसम्म ‘ट्रेकिङ’ गरेर गरेको सुनाउँदै एक रात ताल छेउमै ‘क्याम्प फायर’ गरेर बसेको बताउनुभयो । आफूहरु बराह ताल पुग्दाको साँझ अन्य तीन टोली पनि त्यहाँ पुगेको सुनाउँदै यही रुट हुँदै ढोरपाटन पुगेको उहाँको भनाइ छ । वसन्त ऋतुमा फुलेका विभिन्न थरीका फूल, चराचुरुङ्गीको आवाज र यहाँबाट देखिने दृश्यले आफूहरुलाई लोभ्याएको पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो सिजन निकै उपयुक्त हुँदो रैछ, खास्सै चिसो पनि भएन, गर्मी पनि भएन, हाम्रो पुख्र्यौली घर यतै भएको हुँदा साथीहरुसँग घुम्न आएका थियौँ, निकै रमाइलो भयो, बुर्तिबाङ बजारदेखि धेरै टाढा रहेनछ, त्यही भएर होला अरु पनि धेरै यहाँ आउँदा रहेछन्, अर्को वर्ष पनि समय मिलाएर आउने भनेका छौँ, यो ठाउँले हाम्रो मन जित्यो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *