पूर्वाधारले तान्यो आन्तरिक पर्यटक


खेमराज गौतम, बागलुङ

झाँडीले भरिएको भिरालो जग्गा । कालीगण्डकीले कटान गरेको पहराको खोच । त्यही खोच अहिले पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ ।

पर्यटकीय पूर्वाधार निर्माणका कारण व्यवस्थित बनाइएको उद्यान पर्यटक आकर्षणको केन्द्र बनेको हो । बागलुङ नगरपालिका–१ रामरेखा स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा हुइकने जो कोहीको ध्यानाकर्षण गर्ने थलोको रुपमा बिकास भएको छ विपि उद्यान ।

२०७६ साल सम्म झाडीले भरिएको डरलाग्दो भीरमा थपिएका पर्यटकीय पूर्वाधारले सबैलाई लोभ्याउन थालेको छ । विपि उद्यानमा पहरामाथी खोपेर हालै मिर्नाण गरिएको भ्यू पोइन्टले सबैको ध्यान तान्न सफल भएको छ । अहिले कालिगण्डकी नदि हेर्नका लागि निर्माण गरिएको उक्त भ्यू पोइन्ट सयांै पर्यटकको गन्तव्यका रुपमा विकास भएको हो । झण्डै दुई रोपनी जग्गालाई विपि उद्यानको नामाकरण गरी व्यवस्थित बनाइएको छ ।

उद्यानमा दुबो लगाएर हरियाली बनाइएको छ भने फुल, धुपी लगाइएको छ । पर्यटकका लागि आवश्यक बेन्च, शौचालय र पानीको व्यवस्था मिलाइएको छ भने रातीमा आउने पर्यटकका लागि विद्युतीय लाईट समेत जडान गरिएको छ । विपि उद्यानको मुहार फेर्नका लागि रु. ४६ लाख ७६ हजारको पूर्वाधार निर्माण भइसकेको विपि उद्यान समितिका अध्यक्ष महेन्द्र आचार्यले बताउनुभयो ।

उहाँले विपि उद्यानमा पूर्वाधारको अधिकांश लगानी गण्डकी प्रदेश सरकारले गरेको बताउनुभयो । उहाँले झाँडी फाडेर भीरको खोच पुरेर उद्यान बनाइएको जानकारी दिनुभयो ।

अहिले मध्यपहाडी लोकमार्ग भएर हिड्ने पर्यटक र स्थानीयको विश्रामस्थलको रुपमा विपि उद्यान विकास भएको छ । “सार्वजनिक रुपमा प्रयोगमा नआएको भिरको जग्गालाई व्यवस्थित बनाएर पार्क निर्माण गरेका थियौ, हरीयाली पार्क, छेउमा मन्दिर र दृश्याअवलोकनका लागि भ्यूपोइन्ट बनाएपछि धेरैको आकर्षणको केन्द्रका रुपमा विकास भएको पाएका छौं” आचार्यले भन्नुभयो “पार्क निर्माणका लागि जग्गा व्यवस्थापन, पर्खाल, तारबार, विद्युत, पानी, शौचालय, दुबो लागउने, पर्यटकलाई बस्ने बेन्च राख्ने र पहरामाथी पुगेर कालीगण्डकी हेर्ने व्यवस्थाका लागि भ्यू पोइन्ट निर्माण गरिएको छ ।”

मध्यपहाडी लोकमार्गसंगै जोडिएको पार्क शौन्दर्यकरण भएसंगै मुस्ताङ, ढोरपाटन, पञ्चकोट र शालग्राम संग्रहालय हिडेका पर्यटकहरु त्यहाँ आउने गरेका छन् । उनिहरुले सवारीसाधन रोकेर पार्क अवलोकन गर्दै आएका छन् ।

अध्यक्ष आचार्यका अनुसार २०७३ सालमा शहरी बिकास कार्यालयबाट प्राप्त रु. २ लाख ८८ हजारमा भीरको खोच पुरेर बिरुवा रोपिएको थियो । त्यसपछि २०७७ सालमा वन डिभिजन कार्यालय मार्फत रु.१४ लाख ३३ हजार, २०७८ सालमा सामाजिक विकास कार्यालयबाट रु.९ लाख ३७ हजार, २०७९ सालमा पर्यटन तथा घरेलु उद्योग कार्यालयबाट रु. ८ लाख ९८ हजार र चालु आर्थिक वर्षमा पर्यटन तथा उद्योग कार्यालय बागलुङबाट रु. ९ लाख ६० हजार बजेट र रु. एक लाख ६० हजार चन्दा संकलन गरी रु. ४६ लाख ७६ हजारको पूर्वाधार निर्माण भइसकेको छ ।

बाँसघारी, झाडी र फोहोरफाल्ने स्थानका रुपमा रहेको जग्गालाई पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रुपमा विकास गरिएको स्थानीय दुर्गा बहादुर आचार्यले बताउनुभयो । रामरेखामा मध्यपहाडी लोकमार्ग संगै शहिदपार्क, मदन आश्रीत पार्क, विपि पार्क, मनिलाल भ्यू पोइन्ट र डिबि पार्क गरी पाँच वटा पार्कहरु रहेका छन् । पछिल्लो समय निकै व्यवस्थित र शौन्दर्यपूर्ण पार्कको रुपमा विपि पार्क रहेको छ ।

जग्गा व्यवस्थापन, जग्गा सम्माउने, खाल्टा पर्ने, ढुङ्गा छाप्ने, सिढि बनाउने, बाटो, बगैचा निर्माण गर्ने, झाँक्रीको मन्दिर निर्माण, शौचालय, खानेपानी, पर्खाल, तारबार, बेन्च, दृश्वयाअवलोकन गर्ने स्थान, अहिले भ्यूपोइन्ट निर्माण लगायतका काम भएपछि पार्कको स्वरुप फेरिएको छ ।

सबै पार्कमध्ये व्यवस्थित कालीगण्डकी दर्शन गर्न सकिने गरी निर्माण भएको पार्क सबैको नजरमा पर्न सफल भएको छ । अहिले दैनिक सयौ पर्यटक र बागलुङ बजारबासीको विश्रामस्थलका रुपमा विपि पार्कको विकास भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *