युगकवि श्रेष्ठको जन्मजयन्तीमा धवलागिरी क्याम्पसमा उज्यालो साँझ

आदर्श अनलाइन, बागलुङ

युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १२ औं जन्म जयन्ती बागलुङमा पनि मनाइएको छ ।

धवलागिरि बहुमुखी क्याम्पस बागलुङ प्रेरणा समूह र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा बुधबार युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औं जन्म जयन्तीको अवसरमा आयोजित
रचना वाचन तथा उज्यालो साँझ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद उपाध्यायले नयाँ पुस्तामा कविता, गायन, नृत्य, मुक्तक, गजल, वाद्यवाधन लगायतका सिर्जनात्मक र रचनात्मक कार्यमा रुचि भएका विद्यार्थीको प्रतिभालाई विशेष ध्यान दिदैँ युगकवि श्रेष्ठको जन्मजयन्ती स्मरणीय बनेको बताउनुभयो ।

कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरि प्रसाद पाण्डे, हिरालाल रेग्मी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदिप सागर कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

रचना वाचन तथा उज्यालो साँझ कार्यक्रम अन्तरगत धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले युगकवि सिद्धिचरण श्रेष्ठको स्मरणमा उहाँ प्रति आफ्नो सिर्जना तथा रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रम धवलागिरि बहुमुखी क्याम्पस बागलुङ स्वतन्त्र विद्यार्थी युनियनका सदस्य तथा प्रेरणा समूहका संयोजक विशाल थापाको अध्यक्षता, सह-संयोजक रविना कंडेलको स्वागत तथा सदस्य सुशीला पौडेल र गणेश छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिनुहुन्छ ।वि.सं. १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । श्रेष्ठ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिनुहुन्छ ।

युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाउनुभएको थियो ।

उहाँका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । त्यस्तै उहाँका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् । युगकवि श्रेष्ठको वि.सं.२०४९ साल जेठ २२ गते निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *