शिक्षासेवी गौचनको स्मृतिमा शोक सभा

आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर माविका संरक्षक,सल्लाहकार शिक्षासेवी ओमकार गौचनको स्मृतिमा विद्यामन्दिर माध्यमिक विद्यालयमा शोक सभा आयोजन गरिएको थियो ।

आज आयोजित सभामा वक्ताहरुले गौचनले देश,धौलागिरि अंचल र बागलुङ जिल्लाको लागि गरेको शैक्षिक,सामाजिक,सांस्कृतिक र संचारको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

शोकसभामा पूर्व सांसद गोविन्द प्रसाद कँडेल,नेपाल रेडक्रस सोसाइटी बागलुङको पूर्वसभापति विश्वनाथ रेग्मी,नेकपाका नेता हिरा केसी,विद्यामन्दिर माध्यामिक विद्यालयका पूर्वप्रअ जगन्नाथ आचार्य,समाजसेवी लालचन्द्र राजभण्डारी,देव बहादुर श्रेष्ठ,विद्यामन्दिर माविका व्यवस्थापन समितिका अध्यक्ष सुवाशचन्द्र राजभण्डारी,शिक्षक छविरमण रेग्मी,प्रधानाध्यापक शान्तामणि ढकाल र सांसद मन केसीले गौचनको भूमिका,योगदान र सेवाको बारेमा प्रकाश पार्दै मृतक आत्मा प्रति श्रदान्जलि व्यक्त गरेका थिए ।कार्याक्रमको संचालन शिक्षक भिमप्रसाद गौतमले गरेका थिए ।

गौचनमा रहेका सादगिपन,इमान्दारिता र बौद्धिकता बारेमा वक्ताहरुले प्रकाश पारेका थिए ।गौचन विसं १९९७ सालमा निर्मित विद्यामन्दिर माविका पहिलो पुस्ताका विद्यार्थी, पूर्वमन्त्री, शिक्षासेवी, संस्कृतिविद र समाजसेवी थिए । गौचन १९९२ सालमा पिता ओमप्रसाद र माता पतिसाङ्मोको जेठा छोराका रूपमा बागलुङ नगरपालिका–३ नारायण चोकमा जन्मिएका थिए ।

गौचनको सम्पादकत्वमा धौलागिरि अञ्चलमै पहिलोपटक हस्तलिखित साप्ताहिक पत्रिका ‘सही बाटो’ को प्रकाशन भएको थियो ।उक्त पत्रिकाले यस क्षेत्रमा पहिलो सञ्चार सामग्रीका रूपमा स्थानीयलाई सुसूचित गर्ने काम गरेको थियो ।

गौचन २०२४ सालमा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए ।पञ्चायत कालमा उनी यस क्षेत्रबाट शिक्षा सहायक मन्त्री, सञ्चार सहायक मन्त्री र उनी विसं २०४२ सालमा निर्मित पंचायतको अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वको सरकारको वन राज्यमन्त्रीसमेत भएका थिए ।

उनी १९९७ सालमा निर्मित विद्यामन्दिर माध्यमिक विद्यालयको संरक्षक तथा सल्लाहकार, विसं २००३ सालमा निर्मित विद्यामन्दिर पुस्तकालयको पूर्वअध्यक्ष तथा प्रधान संरक्षक थिए ।२०३४ सालमा नेपाल परिवार नियोजन संघ बागलुङको संस्थापक अध्यक्ष, २०४८ सालमा नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।उनी नेपाली काग्रेस जिल्ला समिति बागलुङको सल्लाहकार पनि थिए ।

गौचन हुलाक टिकटको संस्था फिलाटेलिक सोसाइटीका पूर्वअध्यक्ष पनि थिए । लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत रहेका गौचनले २०६० सालमा बृहत्तर लुम्बिनीको अवधारणासँगै मायादेवीको मन्दिर बनाउन नेतृत्वसमेत गरेका थिए ।

विसं २०५९ सालमा गौचनको संरक्षकत्वमा विसं २००७ सालमा स्थापन भएको विद्यामन्दिर पुस्तकालयका वानपा ३ भुपिचोकमा नयाँभवन बनाउने समेत पहल गरेका थिए ।पिता ओमप्रसाद र मेघ कुमार वैघको नेतृत्वमा १९९७ सालमा स्थापित विद्यामन्दिर माविका उनी पहिलो पुस्ताका विद्यार्थी थिए ।

त्यही विद्यालय २०७२ सालको भूकम्पले भत्काएपछि २०७३ सालमा उनकै संरक्षण र अभिभावकत्वमा अत्याधुनिक भवन बनाइएको छ ।गौचनलाई बागलुङको सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक पक्ष र जिल्लाका २२ खानीका विषयमा पनि विशेष दक्खल थियो ।

बागलुङको पश्चिमी भेगमा थुप्रै झोलुङे पुल र यस क्षेत्रका धेरै दुर्गम क्षेत्रहरुमा विद्यालय स्थापनाको लागि उनले नेतृत्व गरेका थिए । सोही कारण आज बागलुङलाई झोलुङे पुलको जिल्ला र शैक्षिक हिसाबले साक्षर जिल्ला भनेर चिनिन्छ ।

गौचनले मुस्ताङको सातसय थाक गाउँका थकालिहरुको भाषा,संस्कृति,परम्परा,ब्यापार,ढिकुरी र जिवनशैलीको उतखनन् गर्ने गरी थाकसाङ अनुसन्धानमुलक पत्रिका प्रकाशनको नेतृत्व गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *