सत्ताको बहस : बेमौसमी बाजा

सम्पादकीय
सत्ता धेरैका लागि प्रियकर हुन्छ । अझ नेपालको राजनीतिमा त सत्ता भने पछि जे गर्न पनि तयार हुन्छन् भन्ने प्रशस्त इतिहास र उदाहरण छन् । मुलुकको राजनीतिक घटनाक्रम हेर्दा कहाली लाग्दा घटना र परिदृश्य देखिन्छन् । त्यसैले देशमा अपेक्षित परिवर्तन र विकास हुन सकेन । राजनीतिक अस्थिरताले देश गाजिरह्यो । नेताहरु सत्ता शक्तिकै वरिपरी घुमिरहे । समाज र देशको स्वार्थ भन्दा आफुलाई केन्द्रमा राखेर व्यक्तिगत स्वार्थ सिद्ध गर्ने कर्ममा रमाउने प्रवृत्ति बढ्यो । सत्ता बाहिरको चर्को स्वर र नारा सत्ताको स्वाद र कुर्चीमा पुगे पछि एकाएक सानो हुँदै संकल्पहरु बिर्सिने परिपाटी बढ्यो । जसका कारण देशले सकस बेहोरिरह्यो ।

अहिले देशमा व्यवस्थाहरु बदलियो । प्रजातन्त्र, पञ्चायत बहुदल, राजतन्त्र हुँदै जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । वर्षौ एकतन्त्रिय शासन व्यवस्था चलाएका शाही खानदान नयाँ व्यवस्थासँगै विदाई भए । अहिले सत्ताको कूर्चीमा परिवर्तनको हुंकार बोकेर युद्धदेखि राजनीतिक संर्घषमा उत्रिएका पार्टी र नेता छन् । तर, राजनीतिक संस्कार अहिले पनि पुरानै प्रवृत्तिले ग्रस्त भइरहेको पछिल्लो घटनाक्रमहरुले पुष्टि गर्छ । दुई तिहाइको दुहाई दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेतृत्वको सरकार छ । बिडम्बना भन्नुपर्छ नेकपा आफै सरकारमा छ, आफै प्रतिपक्ष बनिरहेको छ । पार्टी भित्रको बिवाद यतिबेला उत्कर्षमा छ । सैद्धान्तिक बैचारिक बहस भन्दा बिभिन्न स्वार्थ र हठका कारण पार्टी नै बिभाजनको संघारमा पुगेको जस्तो आभाष र अनुभूति नेता कार्यकर्ता स्वंयम्ले गरिरहेका छन् । यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबासँग छलफल गरेको बिषयले देश तरंगित छ ।

वर्तमान सरकारको बागडोर सम्हालेको नेकपा बिभाजन हुने अवस्था आउनु नेपालको राजनीतिमा बिडम्बनापूर्ण घटना होइन, त्यो मुलुकको विकास, परिवर्तन र समृद्धिका लागि दुर्भाग्यपूर्ण पनि हुनेछ । यस्तो दुश्कर्ममा कोको सहभागी हुन्छन्, र त्यसको नेतृत्व जजसले गर्नेछन् । उनीहरु नेपाल र नेपालीका बीचमा कंलकित भएर जानेछन् । यो समय सत्ता दाउपेच र चलखेल गर्ने कदापी होइन । पाँच वर्षका लागि नेकपाले जनताको म्याण्डेट पाएको छ । नेकपा पार्टी भित्रको आन्तरिक रुपमा हल गरेर एकतावद्ध भएर सरकार चलाउनु पर्छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सरकारमा सहभागिता लागि खुट्टा उचाल्नु हुँदैन । यो स्वयम् काँग्रेसका लागि पनि घातक कदम हुनेछ । यस बेला सत्तामा सहभागी हुन ‘अफर’ गर्ने या सत्ताका लागि लालायित हुने दुवै प्रवृत्ति देशका लागि खतरानक छ । यसमा सरकारलाई व्यक्तिगत कुण्ठा या आग्रह पूवाग्रह राखेर कामै गर्न नदिने प्रवृत्ति पनि सच्याउनु पर्छ । अहिले देखिएका सबै खालका खराब पात्र र प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *