कावासोतीमा सहकारी रजिष्ट्रार कार्यालयको अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराले नवलपुरको कावासोतीमा प्रदेश सहकारी कानुन तथा सुशासन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न गरेको छ ।

सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई सहकारी ऐन कानुन, सञ्चालन प्रक्रिया तथा सुशासन, विद्यमान अवस्था र चुनौती लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार रमेश घर्तिले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन कावासोती नगरपालिकाका प्रमुख फुल कुमारी थनेतले गर्नु भएको थियो । उद्घाटन पछि बोल्दै प्रमुख अतिथि थनेतले सहकारी अभियानमार्फत समुदायको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीहरुलाई कृषि, दुग्ध लगायत उत्पादनका क्षेत्रमा केन्द्रीत गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरु स्वनियमनमा सञ्चालन गर्न आव्हान गर्दै स्वनियमनमा सञ्चालन नहुने सहकारीको अनुुगमन नियमन गर्न सुझाव दिनभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ नवलपुरका कार्यवाहक अध्यक्ष तिलक पराजुलीले सहकारी सञ्चालन गर्दा ऐन, कानुन, विनियम र कार्यविधिको कार्यान्वयनमा ध्यान दिर्ने पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमा आउन सक्ने जोखिमको बारेमा सचेत भई सदस्य केन्द्रीत भएर काम गर्न आव्हान गर्नु भयो ।

कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैसी, जिल्ला कृषि सहकारी संघ नवलपुरका अध्यक्ष देवकी कुमारी भण्डारी, राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका सहायक शाखा प्रमुख विक्रम पौडेल लगायतले सहकारीमा देखिएका समस्या, समाधानका उपाय र अभियान र राज्यबीच समन्वय र सहकार्यका बारेमा धारणा राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका रजिष्ट्रार रमेश घर्तिले सहकारीका सिद्धान्त, नीति नियम, वर्तमान अवस्था र चुनौती तथा रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले प्रदेश सहकारी कानुन तथा सुशासन विषयक कार्यपत्र प्रस्तुत गर्र्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश रजिष्ट्रार कार्यालयको नियमन क्षेत्रभित्रका ४० वटा सहकारी संघ संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *