सहकारीहरुको प्रभावकारी नियमनका लागि क्षमता अभिवृद्धि गर्न पालिकाहरुलाई सहकारी बैंकको आग्रह

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडले स्थानीय तह कार्यक्षेत्र भएका सहकारीहरुको प्रभावकारी नियमन र अनुगमनका लागि पालिकामा पर्याप्त जनशक्ति सहितको सहकारी विभागको व्यवस्थापन गरी नियमाकीय क्षमता अभिवृद्धि गर्न आग्रह गरेको छ ।

स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सहकारीको प्रवद्र्धन र विकासका लागि ध्यान दिन आग्रह गर्दै बैंकले सबै पालिकाहरुलाई १४ बुदे सुझाव पेश गरेको छ ।

पालिकाहरुलाई सुझाव दिने अभियान अन्तरगत बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई आइतावर बैंकका तर्फबाट सुझाव पेश गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पालिका भित्रका सहकारीको प्रवद्र्धन र विकासमा सहकार्य गर्न आग्रह गर्नु भएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले सुझावहरुको अध्ययन गरी आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बैंकले देशभरका सबै पालिकाहरुलाई बजेट विनियोजन गर्दा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिन तथा सहकारीहरुको संस्थागत विकासमा सहकार्य गर्न आव्हान गर्दै १४ बुदे सुझाव दिएको सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।

बैंकले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारीलाई पालिकाको राजस्व परामर्श समितिमा पदेन सदस्यका रुपमा व्यवस्था मिलाउन आग्रह गरेको छ । स्थानीय तहमा सञ्चालित सहकारी संस्थाहरुको प्रतिनिधित्व हुने गरी सहकारीहरुको पालिका समन्वय समिति गठन गर्न, सहकारीमार्फत वित्तीय सेवाको पहुँच विस्तारका लागि वित्तीय साक्षरता, सहकारी सदस्य शिक्षा तथा सहकारीको संस्थागत विकासका लागि आवश्यक तालिम कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्न बैंकले आग्रह गरेको छ ।

कृषि उत्पादनमा आधारित सहकारी उद्योगको विकास र बजारीकरणका लागि बजेट विनियोजन गर्न, सहकारी क्षेत्रको प्रवद्र्धनका लागि स्थानीय तहबाट विनियोजन हुने वार्षिक बजेटको ५ प्रतिशत रकम सहकारी क्षेत्रको प्रवद्र्धनका लागि व्यवस्था गर्न बैंकले सुझाव दिएको छ ।

बाँझो जग्गा जमिनहरु उपयोग हुने गरी सहकारी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न, युवाहरुको सीप, ज्ञान तथा क्षमताको उपयोग हुने गरी उद्यम तथा स्वरोजगारीका लागि सहुलियतदरमा सहकारीमार्फत ऋण उपलब्ध गराउन, पालिका भित्र सञ्चालित सहकारी संस्थाहरुलाइृ स्थानीय तहबाट लिइदै आएको कर तथा शुल्कहरुमा छुट तथा सुहलियत प्रदान गर्न सहकारी बैंकले सुझाव दिएको छ ।

यसैगरी गरी स्थानीय तहभित्रका सहकारीहरुलाई सहकारी बैंकको सस्य लिन तथा वित्तीय क्षमता अभिवृद्धिका लागि प्रोत्साहन गर्न, कृषिमा आधारित उत्पादनमुलक व्यवसायको लागि विशिष्टिकृत संघको प्रवद्र्धन गर्न, पालिका भित्रका सहकारीका विवरणहरुको विद्युतिय अभिलेख अद्यावधिक गर्न, उत्कृष्ट काम गरेका सहकारीहरुलाई पुरस्कृत गर्न तथा सहकराीहरुको व्यावसायिक समक्षता अभिवृद्धिका लागि बैंकले सञ्चालन गरेको सवलीकरण कार्यक्रममा सहकार्य गर्न पालिकाहरुलाई बैंकले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *