समाज रुपान्तरणका लागि सहकारी उत्तम विकल्प हो : सहायक प्रजिअ बराल


आदर्श अनलाइन, बागलुङ

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले समाज समग्र रुपान्तरणका लागि सहकारी नै उत्तम विकल्प भएको बताउनु भएको छ ।

संघीय सहकारी विभागले बागलुङमा आयोजना गरेको वित्तीय व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको बुधवार उद्घाटन पछि बोल्दै बरालले यस्तो बताउनु भएको हो ।

आर्थिक रुपमा विपन्न वर्गका जनतालाई वित्तीय रुपमा सक्षम बनाउन, सामाजिक रुपमा समाजमा रहेका विभेदहरुको अन्त्य गर्न तथा उपभोक्ता र उत्पादकका बीचमा रहेको विचौलिया प्रथालाई हटाउनका लागि सहकारी भन्दा उत्तम विकल्प अरु नभएको उहाँको भनाइ छ


सहकारी समाज रुपान्तरणको महत्वपूर्ण आधार हुदा हुदै सहकारी र सिंगो समाजलाई अप्ठेरो पार्ने गरी केही व्यक्ति र संस्थाहरुले गरेको कामबाट यतिबेला आम समुदाय शसंकित भएको उहाँको भनाइ थियो ।

एउटा कुनै घटना हुदा साथ हामीलाई त्यो क्षेत्रसंग सम्बन्धित सबैलाई उस्तै रुपमा बुझ्छौ, केही सहकारीका सञ्चालकहरुले बद्मासी गरेका छन्, तर हामीले सबै सहकारीका सञ्चालक एउटै हुन, सबै बद्मास हुन भन्ने तरिकाले व्यवहार गरेका छौ भने त्यो गलत हो, सहायक प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभयो, गलत गर्नेहरुका कारण राम्रो गर्नेहरुलाई समस्या पर्नु हुदैन ।

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुको जागरुकता आवश्यक रहेको बताउनुभयो । उहाँले सदस्यहरुको प्रत्यक्ष संलग्नतामा सञ्चालन हुने व्यवसाय सहकारी भएकाले सदस्यहरुको सक्रियता, नियन्त्रण र समन्वय आवश्यक रहेको बताउनुभयो ।

सहकारी सदस्यहरुको हो, तर कतिपय सहकारीहरुमा सदस्यको भूमिका नै नहुने, सञ्चालकहरु सर्वेसर्वा हुने, एकाधिकार गर्ने गरेका कारण समस्या आएको हो, सहकारीमा आएको समस्या समाधानका लागि राज्य, अभियान र शेयर सदस्यहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।

सरकारले सहकारीको समस्या समाधानका लागि सुझाव कार्यदल गठन गरेर काम अगाडि बढाएको र कार्यदलले प्रधानमन्त्रीलाई सुझाव दिइसकेको जानकारी गराउदै उहाँले कार्यदलको सुझावका आधारमा छिटै सहकारीको साख बढाउने गरी सहकारी मन्त्रालयले कार्यक्रम अगाडि ल्याउने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल कंडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी., नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तेजेन्द्र बहादुर थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, तरकारी तथा फलफूल सहकारी संघका अध्यक्ष अमृता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको अध्यक्षता, विभागका अधिकृत प्रेम शर्माको सञ्चालन र बागलुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

विभागले बुधवार वित्तीय व्यवस्थापन सम्बन्धमा र बिहीवार सम्पत्ती शुद्धिकरण सम्बन्धमा अन्तरक्रिया गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *