महिला नेतृत्वमा आउन सकेमा देशको कायापलट हुन्छ : बिटालु


आदर्श अनलाइन, म्याग्दी

महिलाहरु राजनैतिक नेतृत्वमा आउन सकेको खण्डमा मात्रै देशको कायापलट हुन सक्ने अखिल नेपाल महिला संघ गण्डकी प्रदेश सचिव खरमायाँ बिटालुले बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट महिलाहरुको संगठन अनेमसंघको बेनी नगरपालिका ६ को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै बिटालुले महिलाहरुले राजनैतिक तथा अन्य सामाजिक संघसंस्थाको पनि नेतृत्व लिएको खण्डमा दिगो बिकास र परिवर्तन गर्न सकिने उहाँको भनाई थियो ।

६ नम्बर वडामा रहेका १८ वटा टोलहरुमा टोल कमिटी गठन पछि भएको वडा भेला तथा अन्तरक्रिया एवम् बनभोजमा सहभागी भएका महिलाहरुलाई सम्बोधन गर्दै उहाँले हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले राज्यले स्थानीय तहको प्रमुख र उपप्रमुखमा फरक लिंगका उम्मेदवार हुनुपर्ने संविधानमै व्यवस्था गरेको भए पनि नेतृत्वमा सकभर अझैपनि महिलालाई लैजान हिचकिचाउने अवस्था रहेको बताउनुभयो । म्याग्दीका छ वटा स्थानीय तहमा कुनैमा पनि महिलाले प्रमुख पदमा विजयी हुन नसकेको तर्फ लक्षित गर्दै उहाँले भन्नुभयो धवलागिरी गाउँपालिकामा नेकपा एमालेले महिला प्रमुख उम्मेदवार बनाएको भए पनि मुलधारका पार्टीले जित्ने खालको उम्मेदवार बनाउन नसकेको धारणा राख्नुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवम् म्याग्दीका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ले अहिले मुलुकमा महिलाको जनसंख्या धेरै भए पनि नेतृत्व तहमा महिला संख्या कम भएको बताउनुभयो । उहाँले महिलाहरु नेतृत्वमा आउनु पर्ने र त्यसका लागि आफै अग्रसर हुनु पर्ने उहाँको भनाई थियो ।

एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले आधा आकाश ढाक्ने महिलाले सामाजिक तथा राजनैतिक क्षेत्रमा पनि आफ्ने मजबुत उपस्थीतीका लागि प्रयास गर्नु पर्ने बताउनुभयो । उहाँले महिलाहरुले आफैले अग्रसर भएर अगाडी आएको खण्डमा घरभित्र देखि मुलुकको नेतृत्व तह सम्मै समान अनि मजबुत उपस्थिति सबैले देखिने गरी नै आउने तर्क गर्नु भयो ।

एमाले म्याग्दीका सचिव सुरत केसीले म्याग्दी जिल्लाको नेतृत्वमा अहिले सम्म आएका मध्ये अधिकांश पुरुषहरु नै रहेकोले आगामी दिनमा जिल्ला मात्र नभएर प्रदेश अनि राज्यकै नेतृत्व लिने गरी महिलाहरु तयार हुनु पर्ने धारणा राख्नुभयो ।

अनेम संघ म्याग्दीकी उपाध्यक्ष पशुपति शाहीले हरेक क्षेत्रमा महिलाहरुलाइ पछाडी पार्न खोजेको जस्तो देखिने भए पनि त्यसबाट माथी उठ्न आफैले प्रयास गर्नु पर्ने बताउनुभयो । वडा वा नगरपालिका क्षेत्र मात्रै नभए समग्र जिल्लाकै नेतृत्वमा पुग्दै अझै अगाडी बढ्न महिलाहरुले प्रयास गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अनेम संघ बेनी नगरकमिटी अध्यक्ष मिना राम्जाली, बेनी नगरपालिका वडा नं. ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, अनेमसंघ वडा ६ का अध्यक्ष शारदा हमाल, सदस्य राधिका विश्वकर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *