बागलुङका आठ अस्पताल : कतै संचालन, कतै जग्गाको खोजी

डम्मर बुढा मगर, बागलुङ
संघीय सरकारले आर्थिक वर्ष २०७७/७८ मा बागलुङका आठ वटा पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिका बाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए । अहिले केही पालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि पालिका स्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरि रहेका छन् भने कही पालिकामा अस्पताल निर्माण भइ रहेका छन् ।

कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गोसमेत लगाउन सकेका छैनन् । हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा सुरु गरि रहेका छन् ।
गलकोट नगरपालिकाले हरिचौर स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि नगर अस्पतालबाट हुने सेवा प्रवाह गरेको छ भने तमानखोला गाउँपालिकाले बोङ्गादोभान स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि सेवा सुरु गरेको हो । गलकोटले गत वर्ष पुस १७ गतेदेखि १५ शैयाको नगर अस्पताल सुरु गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

नगर अस्पताल निर्माणका लागि संघीय सरकारले १८ करोड रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ । प्रवक्ता भण्डारीले भवन निर्माणका लागि हाल संचालन रहेको अस्पताल छेउमा जग्गा व्यवस्थापन भइरहेको बताउनुभयो । हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेको उहाँको भनाइ छ ।

अस्पताललाई थप व्यवस्थापन गर्नका लागि थप भवन आवश्यक रहेको भण्डारी बताउनुहुन्छ । जग्गा खरिदका लागि अहिले आर्थिक संकलन भइरहेको उहाँले बताउनुभयो । प्रवक्ता भण्डारीले भन्नुभयो – “पोहोर साल कार्यपालिकाले निर्णय गरेर नगर अस्पताल संचालन गरेका छौँ, एक जना विशेषज्ञ डाक्टर पनि हुनुहुन्छ, मेडिकल अधिकृत पनि हुनुहुन्छ, अहिले यहाँको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ, स्वास्थ्य चौकीको भवनबाट सेवा दिइ राखेका छौँ, अब छिट्ट जग्गा व्यवस्थापन हुने छ, जग्गा व्यवस्थापन भयो भने नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाउँछौँ, नगर यहाँ सेवा सुरु भएदेखि पोखरा, काठमाडौ र बागलुङ जान परेको छैन ।”

तमानखोला गाउँपालिकाले पनि बोङ्गादोभान स्वास्थ्य चौकीबाट आधारभूत अस्पतालको सेवा सुरु गरेको छ । यस पालिकामा पाँच शैयाको आधारभूत अस्पताल बन्ने छ । जसका लागि संघीय सरकारले ११ करोड विनियोजन गरेको छ । गाउँपालिकाले यही पुस ३ गतेदेखि आधारभूत अस्पालको सेवा सुरु गरेको स्वास्थ्य शाखा संयोजक तिकल छन्त्यालले बताउनुभयो ।

गाउँपालिकाले एक जना मेडिकल अधिकृत, एक जना स्वास्थ्य सहायक, दुई जना अहेव, तीन जना अनमी, एक जना ल्याव असिस्टेन्टको व्यवस्थापन गरि सेवा प्रवाह गरेको उहाँको भनाइ छ ।
“स्वास्थ्य मन्त्रालयले पठाएको नमुना दरबन्दी अनुसार जनशक्ति नहुँदा गाउँपालिकाले एक जना मेडिकल अधिकृतसहित एक जना अनमी र एक जना कार्यालय सहयोगी थप गरि स्वास्थ्य चौकीमा मौजुदा रहेका कर्मचारीबाट आधारभूत अस्पताल तहको सेवा प्रवाह गर्न थालेका छौँ” संयोजक छन्त्यालले भन्नुभयो – “अस्पताल बनाउनका लागि जग्गा प्राप्त भएको छ, तर विभिन्न प्रक्रिया नपुग्दा निर्माण हुन सकेको छैन, अब केही समयमै भवन बनाउने छौँ ।”

बागलुङ नगरपालिकाले वडा नम्बर १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीबाट नगर अस्पतालको सेवा प्रवाह गर्दै आएको छ । १५ शैयाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै दुई वर्ष अगाडिदेखि यहाँ नगरपालिका स्तरीय अस्पतालको स्वास्थ्य सेवा दिइएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि संघीय सरकारले १८ करोड रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ ।

अस्पतालमा एक जना एमबिजीपी, तीन जना मेडिकल अधिकृत, चार जना स्वास्थ्य सहायक, लगायतका जनशक्ति रहने प्रावधान रहे पनि अहिले कार्यरत एक जना मेडिकल अधिकृत, एक जना जनस्वास्थ्य निरीक्षक, एक जना स्वास्थ्य सहायक, एक जना स्टाफ नर्स, एक जना सिनियर अनमी, अनमी र एक जना ल्याव असिस्टेन्ट कार्यरत रहेको खनालले बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ पाखाथर उपत्यकामा १५ शैयाको अस्पताल बन्न थालेको १५ महिना भए पनि यस अवधीमा ४० प्रतिशत काम भएको छ । समयमै भुक्तानी नहुँदा हाल काम रोकिएको छ । वि.सं. २०८२ असार २३ सम्ममा सकि सक्नु पर्ने अस्पतालको भवन करिब आधा सकिदा पनि काम अनुसारको भुक्तानी नभएको निर्माण कम्पनी एसी कन्ट्रक्सनका प्रमुख दीपक अदैले बताउनुभयो ।

अस्पातलको भवन निर्माणका लागि १२ करोड ९६ लाखमा जिम्मा उहाँको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम दुई करोड ४६ लाख मात्रै आएको उहाँले बताउनुभयो । तीन महिना अगाडि छ करोड ६१ लाख रुपैयाँको बिल नगरपालिकामा पठाए पनि हालसम्म भुक्तानी नभएको अदैको भनाइ छ ।

निसीखोला गाउँपालिका–४ झिम्पामा दुई वर्ष अगाडि सुरु भएको १० शैयाको पालिका स्तरीय आधारभूत अस्पतालको काम हालसम्म ८५ प्रतिशत काम सकिएको छ । यही पौष महिनामा सम्पन्न गर्ने गरि निर्माण भए पनि बजेट अभावका कारण काम हुन सकेको छैन । गाउँपालिकाले १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरि जिम्मा लिएर काम गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो । संघीय सरकारले बजेट पठाए काम सुरु हुने उहाँ बताउनुहुन्छ ।

बडिगाड गाउँपालिका–५ को रिखेटारीमा १५ शैयाको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । केन्द्र सरकारले विनियोजन गरेको २४ करोड विनियोजन गरेको बजेटले काम भएको उहाँको भनाइ छ । अस्पतालको काम ९० प्रतिशत सकिएको भण्डारी बताउनुहुन्छ । हाल सात वटा स्वास्थ्य चौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्रबाट बडिगाडका नागरिकले स्वास्थ्य सेवा लिएको उहाँ बताउनुहुन्छ ।

जिल्लाको ताराखोला गाउँपालिकामा तीन वर्ष अगाडिनै पालिका स्तरीय पाँच शैयाको अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवि घिमिरेले जानकारी दिनुभयो । जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको भन्दै मापदण्ड अनुसारको पाइए कामलाई अगाडि बढाउने उहाँको भनाइ छ ।

दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा निःशुल्क प्राप्त गरेको तर मापदण्ड अनुसार नभएपछि भवन निर्माणको काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताउनुभयो । जग्गालाई स्वीकृत गर्नका लागि मन्त्रालयमा पठाइएको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ का मिनबहादुर विकले अहिलेसम्म ढोरपाटन उपत्यका क्षेत्रमा अस्पताल नबन्दा यहाँका हजारौँ नागरिकले पर्यटकले समस्या खेप्नु परेको बताउनुभयो । ढोरपाटन निकै चिसो क्षेत्र रहेको भन्दै बाहिरबाट आउने पर्यटक बिरामी पर्दा नजिकमा उपचार गर्न नपाएको उहाँको भनाइ छ । पोहोर सालदेखि अस्पताल निर्माण हुन थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको विकले बताउनुभयो ।

उहाँले भन्नुभयो – “नगर अस्पताल भनेर बनाउन लागेको धेरै भयो, अहिले बल्ल एक तला भएको छ, कहिले सम्पन्न हुने हो ?, कहिले यहाँ डाक्टर आइएर जनताको उपचार गर्ने हुन् ?, मान्छेहरु बिरामी परे भने घण्टौँ लगाएर बुर्तिबाङ जानु पर्छ, घुम्न आएका पर्यटकहरु पनि बिरामी हुन्छन्, नजिकमा उपचार गर्ने ठाउँ नहुँदा छिट्टै फर्किने गरेका छन्, दुई/चार दिन बस्ने पर्यटक एकै दिनमा फर्किँदा यहाँको व्यापार व्यवसाय राम्रोसँग हुन पाउँदैन, सरकारले छिटो अस्पताल बनाएर डाक्टर पठाई दिए धेरै सजिलो हुने थियो, बुर्तिबाङ पुग्नु पर्ने थिएन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *