‘जिरो वेस्टेज’ प्रविधिमा फोहोर व्यवस्थापन

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको अहिलेको प्रमुख समस्या फोहोर व्यवस्थापन रहेको छ । नगरपालिकाले प्रयोग गर्दै आएको डम्पिङसाइड भरिएर अहिले फोहोर राख्ने ठाउँ छैन । बागलुङ बजारबाट दैनिक पाँच ट्रक फोहोर संकलन हुँदै आएको छ ।

नगरपालिकाले ८ वर्ष अघिसम्म कालीगण्डकी नदीमा फोहोर फाल्दै आएको थियो । नदीमा प्रदुषण भएको भन्दै नगरपालिकाले डम्पिङ साइड व्यवस्थापन गरेको थियो । नगरपालिकाले फोहोरलाई नदीमा फाल्ने काम बन्द गरेर बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित डम्पिङ साइडमा फोहोर थुपार्दै आएको छ । उक्त फोहोरलाई बर्गीकरण नगर्दा डम्पिङ साइड भरिएको छ ।

फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा फोहोरले डम्पिङ साइड भरिएपछि नगरपालिका फोहोर व्यवस्थापनका लागि अग्रसर भएको हो । नगरपालिकाले फोहोरलाई (जिरो वेस्टेज) प्रविधिमा व्यवस्थापन गर्न थालेको छ । बागलुङ नगरपालिकाले नगरपालिकाको फोहोरलाई अबको चार महिना भित्रै व्यवस्थापन गर्नका लागि कोरियन कम्पनीसंग सम्झौता पत्रमा हस्ताक्षर गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार फोहोरलाई जलाएर शुन्यमा छार्ने उपकरण भित्राउने गरी नगरपालिकाले कोरियाको इएलके इसियो कम्पनी संग सम्झौता गरिएको र आगमी चार महिना भित्रै उक्त उपकरण बागलुङ नगरपालिका आइपुग्ने छ । इएलके इसियो कम्पनीका प्रमुख गो यु सेप र निर्देशक सियो जङ डेटोङ संग बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उपकरण खरिद गर्नका लागि सम्झौता गर्नुभएको छ ।

“उक्त उपकरणमा फोहोर हालेपछि बिना धुवाँ र बिना गन्ध फोहोर जल्नेछ र खरानी बन्नेछ, हामीकहाँ कुहिने फोहोरको समस्या छैन, नकुहिने फोहोर व्यवस्थापन हाम्रो चुनौती हो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “जिरो वेस्टेज प्रविधिले नकुहिने फोहोरलाई बातावरणलाई प्रतिकुल असर नपारी जलाउछ, उक्त उपकरणले धुँवा र गन्धलाई समेत बाहिर निस्केर जान जादैन ।”

अहिले जलाउने फोहोरको प्रदुषणलाई उक्त उपकरणले ९० प्रतिशत घटाउने छ । बागलुङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट खाली गर्न थालेपनि डम्पिङ साइड खाली गर्न करोड बढी खर्च लाग्नेभएपछि उपकरण भित्राएर सधैका लागि फोहोर व्यवस्थापन गर्न थालिएको हो । नगरपालिकाले डम्पिङ साइटको फोहोर अन्यत्रै लगेर व्यवस्थापन गर्न थालेपनि संभव नदेखिएपछि अहिले रोकिएको छ ।

नगरपालिकाले रु. १० लाख लागतमा फोहोर स्थानान्तरण गर्न थालेपनि रु.१७ लाख खर्च हुँदा समेत २५ प्रतिशत फोहोर स्थानान्तरण हुन नसकेपछि विकल्प खोजिएको हो । अब उक्त फोहोरलाई कुहिने र नकुहिनेगरी छुट्टाएर कुहिनेलाई मल बनाउने र नकुहिने फोहोरलाई उपकरणको सहायताले व्यवस्थापन गरिने भएको छ ।

नेपालमा कोरियाको नयाँ प्रविधिमा फोहोर व्यवस्थापनका लागि अहिले स्थानीयतहरु इच्छुक देखिएको इएलके इसियो कम्पनीका नेपाली प्रतिनिधि विष्णु ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार उपकरण गन्ध र धुँवा सोस्ने रसायनयुक्त बनाइएको छ ।

फोहोर शुन्य वेस्टेज प्रविधिबाट व्यवस्थापन गर्दा धेरै फाइदा पुग्ने बताउदै ढुङ्गानाले बातावरण प्रदुषण घटाउने, गन्धलाई कम गराउने, रुख र विरुवालाई पर्नेहानीबाट जोगाउने, पानीका मुहान शुद्धिकरणमा सहयोग पु¥याउने र जीव जन्तुलाई समेत सहज बनाउने छ ।

उक्त प्रविधिले ढुङ्गा र सिसा बाहेक सबै बस्तुलाई जलाएर खरानी बनाउन सक्ने जस्ले बातावरणमा समेत कम भन्दा कम असर पु¥याउने इएलके इसियो कोरियन कम्पनीका प्रमुख गो यु सेपले बताउनुभयो ।

उहाँले उक्त उपकरण खरिद गरेबापत कोरियाको कम्पनीले तीन वर्ष सम्म उपकरण मर्मत समेत निःशुल्क गर्ने जनाएको छ । उक्त उपकरणका लागि थ्रीफेस लाईन आवश्यक रहने छ । उक्त उपकरणले थोरै विद्युत खपतमा धेरै काम गर्ने प्राविधिकहरुको भनाई छ ।

जिरो वेस्टेज प्रविधिमार्फत फोहोर व्यवस्थापन गर्नका लागि बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा रु. एक करोड २० लाख बजेट विनियोजन गरेको छ । बागलुङ नगरपालिकाले रु. एक करोड लागतमा उपकरण खरिद गर्ने र अन्य बजेट डम्पिङ साइडमा फोहोर व्यवस्थापन पूर्वाधार निर्माण गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *