भौतिक संरचनापछि शैक्षिक सुधार गर्दै गलकोट नगर

डम्मर बुढा मगर, बागलुङ
आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेक्स, बेन्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुइने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार गठन पश्चात अहिले भौतिक मात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । हटिया बजारदेखि गाउँ–गाउँका विद्यालयहरु पक्की बनेका छन् । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई पनि बढाउन तर्फ लागेको छ । नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइ सकेको छ ।

शैक्षिण गुणस्तर बढाउनका लागि नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनसमेत गरि रहेको छ । ६२ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको गलकोटमा १३ माध्यमिक र ५१ वटा आधारभूत तहका विद्यालय छन् । सबै विद्यालयलाई प्रविधिमन्त्री बनाउनउँदै गएको छ । पहिले जीर्ण भवनमा पठनपाठन गर्दै आएकोमा अहिले सबैभन्दा दुर्गमका वडामा पनि पक्की भवन बनेर शैक्षिक क्रियाकला भइ रहेको छन् । शिक्षाको गुणस्तर बढाउनका लागि कक्षा ५, ८ र १० को अर्धवार्षिक तथा वार्षिक परीक्षा नगरपालिका स्तरीय संचालन गर्दै आएको छ ।

विद्यालय भवनको अभावमा लामो समयदेखि समस्या भोग्दै आएकोमा पछिल्लो दुई वर्ष यता भौतिक संरचनाले पूर्णता पाएपछि पठनपाठन प्रभावकारी बन्दै गएको नव युवक आधारभूत विद्यालय गलकोट नगरपालिका–२ ठानाका प्रधानाध्यापक विष्णुप्रसाद गैरेले बताउनुभयो । भौतिक विद्यालयमा कुर्ची अभाव हुँदा बालबालिका भुइँमै बसेर पढ्दा बिरामी हुने गरेको भन्दै अहिले कुनै पनि विद्यार्थी खुला चौर र धुलो भुइँमा बस्नु नपर्ने उहाँको भनाइ छ । विद्यालय भवन व्यवस्थित भएपछि विद्यार्थीहरुको आकर्षिण बढेको र नतिजा पनि वर्षेनी सुुधार हुँदै गएको बताउनुभयो ।

“गलकोट नगरपालिकाले गाउँका विद्यालयलाई प्राथमिकतामा राखेर काम गरेको छ, पहिले यहाँको विद्यालयको अवस्था निके दयनिय थियो, कच्ची भवनमा विद्यार्थीहरु फोहोर मैलो र धुलोमा बसेर पढ्थे, स्वच्छ खानेपानी, शौचालय र शैक्षिक सामग्रीको अभाव हुन्थ्यो” गैरेले भन्नुभयो – “अहिले भौतिक संरचनाले पूर्णता भएको छ, शैक्षिक गुणस्तर बढाउनका लागि लागि रहेका छौँ, समग्रमा विगतको तुलनामा अहिले गुणस्तर बढेको पाएका छौँ, समय–समयमा शिक्षकहरुलाई प्रबिधिसँग जोड्नका लागि अपडेप हुने खालका तालिमहरु पनि पाइ राखेको छ ।”

गलकोट नगरपालिका–४ चमुवा स्थित चमुवा आधारभूत नगरपालिकामा उत्कृष्ट विद्यालय मानिन्छन् । विं.सं. २०७६ साल यता विद्यालय भवनहरु पूर्ण रुपमा निर्माण भएपछि शैक्षिक गुणस्तर बढेको प्रधानाध्यापक नविन सुवेदीले बताउनुभयो । चार वर्ष अगाडि अव्यवस्थित विद्यालय भवनका कारण गुणस्तर बढाउन नसकिएको भन्दै अहिले पालिकामै राम्रो नजिता ल्याउन सकिएको उहाँको भनाइ छ । नगरपालिकासँगै समुदायले पनि विद्यालय सुधारका लागि ठूलो भूमिका खेलेको प्रधानाध्यापक सुवेदी बताउनुहुन्छ ।

सुवेदी भन्नुहुन्छ – “अहिले विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन हुन्छ, पहिले एउटा ब्लाक बोर्ड पनि गतिलो थिएन, तर अहिले विद्यालयका भवन मात्रै होइन, यहाँको समग्र पक्षमा उल्लेख्य सुधार भएको छ, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला र पुस्तकालय पनि व्यवस्थापन भएको छ, विद्यार्थीहरु खुसी भएर पढ्न रुचाउँछन् भने घरमा भन्दा विद्यालयमै बढी बस्ने चाहना देखाउँछन् ।”

नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन तथा तह मिलान गरि पठनपाठनलाई थप प्रभावकारी बनाउँदै गएको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ बनाएर हालसम्म यहाँ १२ विद्यालय समायोजन गरि सकेको छ । पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि नगरपालिकाले विसं २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो । विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई पालिकाले यातायातको व्यवस्था गर्दै आएको छ ।

नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ । विद्यालयको भौतिक संरचनामा धेरै सुधार आएको हुँदा अब नगरपालिका गुणस्तरीय शिक्षालाई जोड दिन थालेको नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले बताउनुभयो । हरेक वर्ष उच्च जिपीए ल्याउने विद्यार्थी करिब २० प्रतिशतले बढेको उहाँको भनाइ छ ।

विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकला गराउने र प्रतिभासमेत पहिचान गरि प्रोहोत्सान गरि रहेको उहाँको भनाइ छ । अंग्रेजी, गणित र विज्ञान विषयको नगरस्तरीय विषय विज्ञ गठन गरेका गरेको र यसले शिक्षण सिकाई क्रियाकलापमा आएका अप्ठ्यारालाई समाधान गर्ने सम्बन्धित विषयका शिक्षकसँग छलफल गर्ने खड्काले बताउनुहुन्छ ।

गलकोट नगरपालिकाले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनयोजन गर्ने र सोही अनुसारका कार्यक्रम गर्दै आएको प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । पहिलो कार्यकालमा भौतिक संरचना सुधारमा लागेको भन्दै अहिलेको मुख्य उद्देश्य गुणस्तर बढाउनु भएको उहाँको भनाइ छ । सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि निजी विद्यालयमा विद्यार्थी कम जाने गरेको भण्डारी बताउनुहुन्छ । शिक्षकलाई आफ्नो पेसाप्रति जिम्मेवार बनाउनका लाग समय–समयमा तालिम दिने र प्रोहोत्सानसमेत गर्दै आएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *