म्याग्दीमा लक्ष्य अनुरुप क्षयरोगी भेट्नै सकिएन


आदर्श अनलाइन, म्याग्दी

विश्व स्वास्थ्य संगठनको सर्बे बमोजिम म्याग्दीमा क्षयरोगीको पहिचान हुनै नसकेको एक तथ्याङ्कले देखाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा बेनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले लक्ष्य बमोजिम क्षयरोगी पत्ता लाग्न नसकेको बताउनु भएको हो ।

प्रतिलाख दुई सय ४९ जनामा क्षयरोगको पहिचान हुनु पर्ने भए पनि गत आर्थिक वर्षमा ६३ जनामा मात्रै क्षयरोग पहिचान भएको उहाँको भनाई थियो । त्यस्तै चालु आर्थिक वर्षमा पनि हाल सम्म २४ जना मात्रै नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा स्थानियतहमा गरिएको क्षयरोगी पहिचानबाट उक्त संख्यामा पहिचान भएको हो । म्याग्दीमा पहिचान हुनु पर्ने भन्दा ७५ प्रतिशत टाढा अर्थात् २५ प्रतिशत मात्रै बिरामी पहिचान भएको यो तथ्यले देखाउने उहाँले बताउनुभयो । गत वर्ष पहिचान भएका ६३ मध्ये २ जनाको मृत्यु भएको थियो । त्यस्तै गत वर्षकै तथ्य हेर्ने हो भने ९६ प्रतिशत निको भएको र ४ प्रतिशत निको नभएको केस देखिएको उहाँले जानकारी दिनुभयो ।

विश्वमा पहिलो पटक क्षयरोग पत्ता लागेको सन १८८२ मार्च २४ मा लागेको थियो । त्यसैले सोही दिनको अवसर विश्व क्षयरोग दिवसको रुपमा मनाइने र सोही अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले अन्तरक्रियाको आयोजना गरेर चालु आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १२ जना नयाँ क्षयरोग भेटिएको जानकारी दिएको हो । मालिका गाउँपालिकामा चार जना मंगला गाउँपालिकामा दुई जना, धवलागिरी गाउँपालिकामा दुई जना रघुगंगा गाउँपालिकामा दुई जना अन्नपुर्ण गाउँपालिकामा दुई जना क्षेयरोगी पत्ता लागेको जनाएको छ ।

प्रति एक लाख जनसंख्यामा टिबी प्रिभ्यालेन्स सर्वे अनुसार जिल्लाभित्र संख्या दुई सय ४९ क्षयरोगी पत्ता लाग्नुपर्नेमा ६३ जना पत्ता लगाइएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकलपर्सन गणेश सुबेदीले बताउनुभयो । म्याग्दीमा परीक्षणको दायरा बढाउँन नसक्दा पनि सङ्क्रमितको बास्तविक संख्या पहिचानका लागि निकै समस्या उहाँको भनाई छ ।

म्याग्दीका स्थानीय तहले खकार जाँच शिविर, परीक्षण गर्ने ल्याब तथा फोकलपर्सन नियुक्ती नगर्दा, नियमित हुने स्वास्थ्य शिविरमा समेत क्षयरोगका बारेमा सचेतनामुलक अभियान सञ्चालन नगर्दा क्षयरोगको जोखिम बढेको बताइएको छ । हरेक स्थानियतहमा टिवि फोकल पर्सन तोक्नु पर्ने भए पनि म्याग्दीका कुनै पनि स्थानिय तहले त्यस्तो कार्य नगरेको स्वास्थ्य कार्यालय प्रमुख ठकुराठीले बताउनुभयो ।

क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र सङ्क्रमितको परिवारका सदस्यको पनि खकार परीक्षणको कार्य म्याग्दीमा न्यून भएकाले समुदायस्तरमा क्षयरोगीको संख्या अत्याधिक हुनसक्ने बताइएको छ ।

एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने तथा ‘म्याग्दीमा क्षयरोगीको पहिचानका लागी गर्नुपर्ने धेरै काम गर्न सकिएको छैन, जनशक्ती र ल्याबको अभावले समेत परीक्षण प्रभावित भइरहेको छ’ प्रमुख ठकुराठीले भन्नुभयो ।

स्वास्थ्य कार्यालयमै खकार जाँच गर्ने प्रयोगशाला छैन भने बेनी अस्पताल बाहेक दरबाङ आधारभुत अस्पताल दरवाङ र भुरुङ तातोपानी स्वास्थ्य चौकीमा ल्याब भएतापनि नियमित खकार चेकजाँच गर्ने जनशक्ती नहुदाँ समस्या हुने गरेको छ ।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिएमा खकार जाँच गर्नुपर्छ । रोगको पहिचानपछि नियमित औषधि सेवन गरेमा ९० प्रतिशतको उपचार सम्भव छ । नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने बेनी अस्पतालकी डा. अनुषा मानन्धरले बताउनुभयो । ‘अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ, लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउनुपर्छ,’ डा. मानन्धरले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *