धवलागिरी गाउँपालिकाले घरमै पुगेर दियो दुई सय भन्दा बढी अपाङ्गलाई सेवा


आदर्श अनलाइन, म्याग्दी

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाले अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर सेवा दिने उद्देश्यले थालेको घुम्ति शिविरबाट दुई सय भन्दा बढी अपाङ्गता भएका नागरिकलाई आफ्नो थातथलोमा सेवा प्रदान गरेको छ । गाउँपालिकाले शिविरको माध्यमबाट दुई सय सात जना अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रदान गरेको हो ।

गाउँपालिकाले पछिल्लो एक हप्ताको समयमा ५ वटा वडामा गरेको घुम्ति शिविरबाट ७७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरेको छ भने एक सय ३० जनालाई सहायता सामग्री वितरण गरेको हो । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको वडा नम्बर २ मा पाँच जना, वडा नम्बर ३ मा १४ जना, वडा नम्बर ४ मा १४ जना, वडा नम्बर ६ मा आठ जना र वडा नम्बर ७ मा ३६ जना अपाङ्गलाई परिचयपत्र वितरण गरिएको छ । ९५ जना अपाङ्गलाई लठ्ठी, पाँच जनालाई वैशाखी, नौ जनालाई वलाइन्ड स्टिक (ह्वाइट क्यान), छ जनालाइ कम्बोड कुर्ची र १५ जनालाई कम्मर पेटी (वेल) उपलब्ध गराइएको छ ।

अर्को चरणमा ह्वील चियर प्रयोग गर्ने अपाङ्गताहरुलाई ह्विइल चियर पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको अपाङ्गता भएका नागरिकहरुले बताएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्य लगायतको टोलीले परिचयपत्र र सहायता सामग्री वितरण गरेको थियो ।

वडामै निवेदन संकलन गरि अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरि परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रको आधारमा सार्वजनिक यातायात लगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *