बानपाका ३२ सहकारी खारेजी गरिदै


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका भित्रका ३२ वटा सहकारी खारेजीको प्रकृयामा गएका छन् ।
बागलुङ नगरपालिका सहकारी शाखाको सक्रियतामा बागलुङ नगरपालिका भित्र दर्ता भएर नियमित सञ्चालनमा नआएका, विवरण नपठाउने र साधारणसभा नगर्ने सहकारीलाई खारेजी गर्न थालिएको छ ।

पटक–पटक सूचना निकाल्दा समेत अटेरी गर्ने सहकारीलाई खारेजी गर्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरकार्यपालिकाको बैंठक अनुसार ३२ वटा निस्क्रिय सहकारीलाई खारेजीको प्रक्रियामा लैजाने निर्णय अनुसार बागलुङ नगरपालिकाको सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्माले बताउनुभयो ।

“कार्यपालिका बैठकले जिल्लामा निस्क्रिय रहेका ३२ वटा सहकारीलाई खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको छ, सहकारीलाई सक्रिय रहन आग्रह गरेका छौं, सक्रिय नभए खारेज हुन्छ” शर्माले भन्नुभयो “खारेज हुनैको लागि भने केही समय लाग्छ, प्रकृयामा लगेका छौं, थोरै सहकारी भएपनि नियमन गर्न सहज हुन्छ ।”

बागलुङ नगरपालिका भित्र रहेका तर साधारण सभा नगर्ने, निस्क्रिय रहेका, पटक–पटक विवरण माग्दा पनि संस्थाको विवरण दिन अटेरी गर्ने संस्थालाई खारेजीको प्रक्रियामा लैजाने निर्णय भएको शर्माले बताउनुभयो । बागलुङ नगरपालिकाले सूचना निकाल्ने, लिनु पर्ने र दिनु पर्ने दायित्वको बारेमा जानकारी माग गर्ने र सूचना प्रकाशन गर्दा पनि विवरण नबुझाउने सहकारीलाई खारेजी गर्ने शर्माको भनाई छ ।

बागलुङ नगरपालिकामा १०३ वटा सहकारीले विवरण पठाएका छन् । पछिल्लो समय विवरण नपठाएका सहकारीलाई स्पष्टीकरण सोध्ने काम गरिरहेको नगरपालिकाको भनाई छ । पछिल्लो समय २१ वटा सहकारीले एकीकरण गरेका छन् । उहाँले सूचना प्रकाशन पश्चात पनि आवश्यक विवरण पेश गर्नेहरुलाई खारेजी प्रक्रियामा नलैजाने शर्माको भनाई छ ।

“हाम्रो दायित्व भनेको नियमन, प्रबर्धन र अनुगमन हो” उहाँले भन्नुभयो “त्यस कारण ठिक ढंगबाट चलेका सहकारी रहेछन् भने खारेजीको प्रक्रियामा जाँदैनन् तर सूचना निकाल्दा पनि आवश्यक विवरणहरु बुझाउन सकेनन् भने खारेजीको प्रक्रियामा जान्छन् ।” सहकारी संस्थाहरुमा देखिएको बेथिति न्यूनिकरणको लागि यस्तो गरिएको उहाँको भनाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *