अन्तर्राष्ट्रिय फोरममा नेपालको सहकारीको चर्चा

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओमदेवी मल्लले आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । जोर्डन कोअपरेटिभ फाउन्डेशन र कृषि मन्त्रालयको संयुक्त आयोजनामा जोर्डनमा आइतवारदेखि सुरु भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११ औं सम्मेलनमा नेपालको संविधानले सहकारीलाई दिएको महत्वका विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै मल्लले यस्तो बताउनु भएको हो ।

‘सहकारीले समाजको तल्लो तहका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको छ,’ मल्लले भन्नुभयो, ‘नेपालको संविधानले सहकारीमार्फत समाजवादमा पुग्ने लक्ष्य लिएको र संविधानको मर्म र भावना अनुसार सहकारी र राज्य सहकार्य गरेर अगाडि बढेका छौँ ।’

सहकारीमा विपन्न वर्गका जनतालाई आवद्ध गराइ आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा योगदान पु¥याउँदै आएको मल्लले सो अवसरमा जानकारी गराउनु भयो ।

सहकारीले लघु तथा साना उद्यममार्फत सदस्यहरूमा दीगो रोजगारीको अवसर सिर्जना गरेको भन्दै उहाँले सहकारीमा आएका समस्या समाधान गर्न र सहकारीलाई यसको मर्म अनुसार अगाडि बढाउन राज्यको थप सक्रिय र प्रभावकारी भूमिका हुनु पर्नेमा जोड दिनुभयो । विगतमा मुलुकमा सञ्चालन भएको सशस्त्र द्वन्द्वका समयमा समेत सहकारीले ग्रामीण क्षेत्रमा पूँजी संकलन र परिचालन गरी सदस्यहरूबीचमा वित्तीय पहुँच पु¥याएको मल्लले जानकारी गराउनु भयो ।

सहकारी मोडल अगाडि बढाएका राष्ट्रहरूमा विश्वमा आएको आर्थिक मन्दीका समयमा समेत अर्थतन्त्र चलायमान भएको अध्ययनहरूले देखाएको भन्दै मल्लले नेपालले पनि सहकारीले आर्थिक उन्नतिका साथै सामाजिक न्याय स्थापना गर्न टेवा पुर्याउँदै आएको बताउनुभयो ।

सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकोले व्यवसाय सञ्चालन लगायत नीतिगत व्यवस्थापनका लागि सदस्यहरुले नै निर्णय गर्नसक्ने भन्दै सदस्यबीचको सहकार्य नै यसको शक्ति भएको मल्लको भनाइ थियो ।

अर्थतन्त्रको तीनमध्ये एउटा खम्बाको रूपमा सहकारीलाइ लिइएको र समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न राज्यका तर्फबाट नीतिगत तथा व्यवहारिक सहयोग प्राप्त भएको उहाले उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपालबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, सचिव गोकर्णमणी दुवाडी, मन्त्रालयका सहकारी महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटा र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *