सहकारीको ऋण नतिरे राज्यका सेवा सुविधा रोकिन्छ : नगर प्रमुख केसी


आदर्श सञ्चार, म्याग्दी

म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारी संस्थाबाट ऋण नतिर्नेहरुलाई स्थानीय तहले दिने सिफारीस लगायतका सेवा सुविधा रोकिने बताउनुभएको छ ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा बेनी नगरपालिका र जिल्ला सहकारी संघको समन्वयमा बेनीमा भएको सहकारी ऐन नियमावली तथा समसामयीक विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख केसीले कसैको बहकाउमा लागेर होस या बदनियतले ऋण तिरेको छैन भने त्यस्ता ऋणीले स्थानीय तहबाट प्रदान गर्ने सेवा तथा सिफारिस रोकिने बताउनु भएको हो । उहाँले ऋण नतिर्नुको कारण र नियतका बारेमा सहकारी संस्थाहरुले आधिकारीक जानकारी गराएमा ऋण तिर्न अटर गर्नेहरुका लागि सबै प्रकारका सिफारिसहरु रोकिने बताउनुभयो ।

आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममै नगरपालिकाल सहकारीको ऋण नतिर्नेलाई सेवा रोक्ने उल्लेख गरेकोले त्यस्ता सहकारीकर्मीहरु ढुक्क भए हुने उहाँको भनाई थियो । उहाँले सहकारीलाई डुबाउन खोज्ने कसैलाई पनि नीतिगत रुपमा बेनी नगरपालिकाले नछाड्ने भएकाले बचतकर्ताको बचत पनि फिर्ता हुने र सहकारी पनि सामान्य अवस्थामा आउनेमा आफू ढुक्क रहेको तर्क गर्नुभयो । ऋण लगानी भएको पैसा जनताले नै दुख गरेर कमाएको पैसा भएकोले त्यसको दुरुपयोग गर्नेलाई कार्वाही गर्नुका साथै सेवा रोक्नु पर्ने उहाँको धारणा थियो ।

नगरप्रमुख केसीले भन्नुभयो–‘ठूला लगानीकर्ताले सहकारीले साना ऋणीलाई लगानी गर्दा आफूहरुको मुनाफा गिरावट आएको ठानेर सहकारीलाई अप्ठेरोमा पार्ने खेल खेलेको छ ।’ सहकारीलाई अप्ठेरो पर्दा आफूहरुलाई ठिक हुने भन्ने बैंकहरुले ठानेको भए पनि सहकारी अप्ठेरोमा पर्दा कोही पनि सहज अवस्थामा नआउने भएकोले सबै मिलेर सहकारीलाई सामान्य अवस्थामा ल्याउनु पर्ने उहाँको भनाई थियो ।

उपप्रमुख ज्योति लामिछानेले केही सहकारीमा समस्या देखिनुमा संस्थाका प्रवन्धकहरुको बद्नियत पनि देखिएको बताउनुभयो । उहाँका अनुसार सहकारीका कर्मचारी तथा प्रवन्धकले ऋण लगानी गर्दा सफ्टवेयरमा ब्याजदर न्यून राखेर आफ्नो मान्छेलाई लगानी गर्दा संस्था र बचतकर्तालाई पनि समस्या भएको बताउनुभयो ।

स्थानीय तह बनेपछि डिभिजन सहकारी कार्यालयले बेनी नगरपालिकालाई ५७ सहकारी हस्तान्तरण गरेको र नगरपालिकाले दुई वटा नयाँ दर्ता गरेको थियो । त्यस मध्ये ५ वटा सहकारीहरु एकीकरणमा गएको र एउटा सहकारी खारेज भएको बेनी नगरपालिकाका सहकारी शाखा प्रमुख प्रभा शर्माले बताउनुभयो । त्यस्तै निष्क्रिय रहेका ११ वटा सहकारीलाई पनि खारेजीको प्रकृयामा लैजान पर्ने भएकाले अहिले नगरपालिका भित्र कार्यक्षेत्र भएका ४३ सहकारी मात्रै सक्रिय रहेका छन् । नगरपालिका भित्रका ४३ सहकारीमा १४ हजार पाँच सय ७० जना शेयर सदस्य रहेकोमा १० हजार ३९ महिला छन् । नगरपालिका भित्र एक सय २५ जनालाई रोजगारी प्रदान गरेको सहकारीले एक अर्व ६१ करोड ४७ लाख ८ हजार तीन सय ५८ रुपियाँ ऋण लगानी गरेको शर्माले बताउनुभयो ।

कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारीको सबै समस्या बुझेर समाधानका लागि कार्यालय लागि रहेको बताउनुभयो । ठूलो बचत र ठूलो ऋणले नै सहकारीलाई समस्या पारेको बताउँदै कुनै पनि लगानीमा कमसल धितो रहेको भए पुनः धितो मागेर ऋण मुताविकको जमानत बनाउनु पर्ने धारणा राख्नु भयो । उहाँले ११ जिल्ला हेर्नु पर्ने कार्यालयमा जनशक्ति लगायतका कारणले केही अप्ठेरो भएको भए पनि सहकारीको हित र दिगोपनका लागि कार्यालय लागेको धारणा राख्नुभयो ।

सहकारी रजिष्ट्रार कार्यालयकी शाखा अधिकृत इश्वरी ढकालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेल, सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत मधु भण्डारी लगायतले कार्यक्रममा बोल्नु भएको थियो ।

अन्तरक्रियामामा बेनी बचत तथा ऋण सहकारीका माधवप्रसाद रेग्मी, सज्जन शाक्य, मुक्तिनाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष लिलाराम गौतम, गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारीका खुमबहादुर बानियाँ, धवलागिरी बचत तथा ऋण सहकारीका अमृतलाल श्रेष्ठ लगायतले आफ्नो समस्या राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *