तंग्राममा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

आदर्श अनलाइन, बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका-४ तंग्राममा महिला शसक्तीकरण तथा सिपमूलक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले महिलाहरुको नेतृत्व तथा क्षमता विकासका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘कुनै पनि कुरा कसैले पनि गर्भैबाट सिकेर आएको हुँदैन, यही समाजमा हुर्कदै बढ्दै गर्दा सिक्ने हो,’उनले भने,‘कतिपय कुराहरु समयले सिकाउँछ भने कतिपय कुराहरु तालिम गोष्ठीहरुबाट सिक्नुपर्छ । मैले उद्घोषण तालिम लिएर बोल्न सिकेको हुँ । यसले यहाँहरुको क्षमता विकासमा ठूलो अर्थ राख्ने विश्वास छ ।’

मिठो बोली र सरल व्यवहारले समाजमा मेलमिलाप कायम गर्न र आफसी सद्भाव र भाईचारा कायम राख्नका लागि सहयोग पुग्ने उनी बताउँछन् । ‘बोली बचनमा मिठास भयो भने हाम्रो सम्बन्धहरु पनि सुमधुर हुन्छन्,’उनले भने,‘आपसी एकता र भाईचाराका लागि पनि मिठो बोली र सरल व्यवहार जरुरी छ ।’ आफ्ना कुराहरु सरल र सहज तरिकाबाट अरुसंग राख्न सक्दा धेरै कुराबाट फाईदा पुग्ने उनले बताए ।

‘यहाँ आउनु भएका दिदी बहिनीहरु पनि कुनै कुनै संघ संस्था आमा समुह टोल समिति लगायतका नेतृत्व गरेर आउनुभएको छ,’अध्यक्ष थापाले भने,‘यहाँहरुले आफ्ना कुराहरु स्पष्ट र निर्धक्कसंग राख्न सक्नुभयो भने आफ्ना समस्याहरु बुझाउन र अरुलाई आफ्नो विषयमा कन्भिन्स गर्नका लागि पनि सजिलो हुन्छ ।’

कार्यक्रममा काठेखोला गाउँपालिका-४ तंग्रामका अध्यक्ष लक्ष्मण पुनले वडाबासीको विभिन्न क्षमता विकासका लागि वडाले कार्यक्रमहरु अगाडि सारिरहेको बताए । ‘हामीले सामाजिक विकासको क्षेत्रमा धेरै नै लगानी बढाएका छौं,’उनले भने,‘विभिन्न सीपमूलक तालिमहरु मार्फत यहाँका नागरिकको क्षमता विकासका लागि काम गरेका छौं । महिलाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि यो तालिम आयोजना गरेका हौं ।’ महिलाहरु चुलोचौकोमा मात्र सिमित नभई समाजको हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा अगाडि बढाउनका लागि तालिम महत्वपूर्ण हुने उनले बताए ।

‘महिला र पुरुषको समान विकासले मात्रै समाज र देश विकासको गतिमा अगाडि बढ्छ,’उनले भने,‘महिलाहरुलाई हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नेगरी क्षमतावान बनाउनका लागि यी तालिमहरु फलदायी हुनेछन् भन्ने विश्वास छ ।’ कार्यक्रममा बोल्दै काठेखोला गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता टीका संगम विकले काठेखोला गाउँपालिका पछिल्लो समय सामाजिक विकासको क्षेत्रमा केन्द्रित गरेर अगाडि बढेको बताए ।

‘मोटरबाटो र भौतिक विकास मात्रै विकास होईन, सामाजिक विकास मार्फत यहाँका नागरिकको आर्थिक विकासमा ध्यान दिनुपर्छ भनेर हामीले पछिल्लो समय निकै लगानी बढाएका छौं,’उनले भने,‘धेरै सीपमूलक र अन्य तालिमहरु हामीले प्रदान गरेका छौं ।’

नागरिकलाई हरेक क्षेत्रमा अब्बल बनाउने समृद्ध बनाउने अभियानमा काठेखोला केन्द्रीत भएको उनको भनाई थियो । काठेखोला गाउँपालिका-४ तंग्रामकी वडा सदस्य एवं महिला समन्वय समिति संयोजक सम्झना थापामगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत समन्वय समितिका सहसंयोजक हिरामाया विकको स्वागत र सञ्चालन वडा सदस्य भूमिका थापा परियारले गरेका थिए । सोमबारबाट सुरु भएको तालिम बिहीबार सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *