पानी पार्नका लागि रेशवासीले शुरु गरे २४ घण्टे अखण्ड कृतन

रोहन जि.सी, बागलुङ

वर्षा नभएका कारण खेतीपाती सुक्न थालेपछि बागलुङको रेशका स्थानीयले वर्षा गराउन भन्दै २४ घण्टे अखण्ड हरिकृतन शुरु गरेका छन् ।

काठेखोला गाउँपालिका वडा नं. ७ साविक रेश गाविस वडा नम्बर ९ का स्थानीयले बुधवार मध्यान्ह सवा १२ बजेदेखि २४ घण्टे कालिका मन्दिर जिरेदीमा अखण्ड हरिकृतन शुरु गरेका हुन् । भगवान श्रीकृष्णका नाममा २४ घण्टे अखण्ड कृतन गरेपछि वर्षा हुने धार्मिक जनविश्वासका साथ अखण्ड कृतन शुरु गरिएको स्थानीयले बताएका छन् ।

पानी नपरेका कारण कृषकहरुले लगाएको खेती सुकेर सखाप हुने अवस्थामा पुगि सकेको छ, कृषकहरु वर्षात नभएका कारण खेती गर्ने कि नगर्ने अवस्थामा पुगेका छन्, यस्तो समयमा भगवान कृष्णका नाममा भजन कृतन गरेपछि पानी पर्छ भन्ने जनविश्वास रही आएकाले वडाका सबै जनताको सहभागितामा अखण्ड कृतन शुरु गरिएको स्थानीय पूर्ण बहादुर खड्काले बताउनुभयो ।

पानी नपरेका कारण खेतीपाती सुक्ने अवस्था, वातावरणमा परेको असरका कारण थुप्रै समस्याहरु बढ्न थालेका छन्, जनताको स्वास्थ्य अवस्थामा समेत समस्या हुने देखिएपछि जलवर्षाको अपेक्षाका साथ स्थानीयले श्रीकृष्ण भगवानको आराधाना गर्न शुरु गरेको पण्डित मुरारी प्रसाद गौतमले जानकारी दिनुभयो । २४ घण्टासम्म निरन्तर रुपमा भगवान श्रीकृष्णको आराधाना गर्दै हरिकृतन गरेपछि भगवान खुशी भएर पानी पर्ने जनविश्वास रहदै आएको गौतमले बताउनुभयो ।

अखण्ड कृतन गर्नका लागि साविक रेश गाविस वडा नम्बर ९ का वासिन्दाले प्रति परिवार १ सय रुपैया नगद र १ माना चामल संकलन गरेका छन् । परिवारका तर्फबाट गरिने सहयोग बाहेक स्वर्त स्फूर्त रुपमा सहयोग गर्नेहरु पनि रहेको खड्काले जानकारी दिनुभयो । साविकको वडामा १ सय १५ परिवार रहेका छन् ।

धेरै पहिलादेखि वर्षा नभएर खेतीपातीमा समस्या पर्ने अवस्था आउदा यसै गरी अखण्ड कृतन गर्दै आएको उक्त वडाका पूर्व अध्यक्ष रन बहादुर जिसीले जानकारी दिनुभयो । सबै मिलेर भगवानको आराधाना गरेपछि पानी पर्ने गरेको समेत उहाँले जानकारी दिनुभयो ।

बुधवार सवा १२ बजे शुरु भएको अखण्ड हरिकृतन बिहीवार सवा १२ बजे सकिने जनाएको छ । हरिकृतनमा स्थानीय महिला समुह, अन्य उपभोक्ता समुह सहित स्थानीय वासिन्दाको सहभागिता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *