प्रयाप्त वर्षाले बागलुङका किसान खुसी, वन डढेलो नियन्त्रण


खेमराज गौतम, बागलुङ
लामो खडेरी परेपछि निराश बनेका बागलुङका किसान प्रयाप्त वर्षाले खुसी भएका छन् । बागलुङमा छिटफुटरुपमा असिना सहितको वर्षा भएको थियो भने अन्यत्र प्रयाप्त वर्षा भएको थियो ।
वर्षासंगै किसानले लगाएको आलु तथा मकै खेतीमा राहत मिलेको छ भने वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेलले बागलुङका विभिन्न सामुदायिक वनमा लागेको डढेलो वर्षा संगै पूर्ण रुपमा नियन्त्रणमा आएको बताउनुभयो ।

बागलुङका उच्च पहाडी क्षेत्रमा ढिलो मर्कै छर्ने गरिन्छ । तर लामो खडेरीका कारण मकै मर्न थालेपछि चिन्तित किसान खुसी भएका छन् । उच्च पहाडी क्षेत्रको ढोरपाटन, निसीखोला, तमानखोला र ताराखोलाका किसानले लगाएको आलु खेतीमा पानी परेपछि राहत भएको छ ।
लामो समयको खडरेपछि पानी पर्दा बागलुङका आलु, सुन्तला र मकै किसानलाई राहत मिलेको छ । अहिले खडेरीका कारण मकै हुर्कन पाएका थिएनन् भने उच्च पहाडी क्षेत्रमा आलुखेती फष्टाउन नपाएको कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो ।
“चैतै दशैंमा थोरै पानी परेको थियो नत्र राम्रो संग पानी नपरेको ६ महिना हुँनै थाल्यो, किसानले कोदोको बिउँ राख्ने, मकै गोड मेल गर्ने र आलु हुर्काउने समय हो यो” पुनले भन्नुभयो “तर लामो समय खडेरी परेका कारण किसान समस्यामा परेका थिए, हुर्कन थालेका मकै र आलुको बोट मर्न थालेको थियो, बागलुङ जिल्लाका अधिकांश स्थानमा राम्रो संग वर्षा भएको छ, जस्ले मकै र आलु किसानलाई फाइदा पुगेको हो ।”

यतिबेला सुन्तला गोडमेलको समेत समय रहेकाले पानी परेपछि सुन्तलामा राम्रो संग फुल लाग्ने पुनको भनाई छ । खडेरीले बागलुङमा उत्पादनको हिसाबले पहिलो खाद्यान्न बाली मकैमा क्षति पुग्ने आकलन गरिएकोमा वर्षाले राहत मिलेको छ । यहाँ २० हजार सात सय हेक्टर भन्दा बढी जमिनमा मकै लगाउने गरिएको छ । लामो समयदेखि वर्षा नहुँदा मकैबाली सुक्न थालेको थियो ।
“खण्डवृष्टि भएको छ, पानी परेको क्षेत्रमा किसान खुसी छन्, केही ठाउँमा अझै ठूलो पानी पर्न बाँकी छ तर अहिले अधिकाँश क्षेत्रमा पानी पर्दा वर्खे तरकारीको उब्जानीमा समेत सकरात्मक प्रभाव पर्ने देखिन्छ” तित्याङका किसान पदम खत्रीले भन्नुभयो “पानी नपरेकाले बाली सुक्न थालेको थियो, तरकारीमा सोत सिचाईको अभाव भएको थियो, मुलहरु सुक्न थालेका थिए, बर्खे तरकारीका बेर्ना जोगाउनै समस्या थियो, अब सहज हुँनेछ ।”

जिल्लामा सबैभन्दा धेरै खडेरीको प्रभाव मकै र आलु खेतीमा परेको थियो । खडेरीका कारण सुक्न थालेका खाद्यान्न बालीमा वर्षा भएपछि राहत मिलेको छ । हुर्कन लागेका मकै र फल्न थालेको आलुमा वर्षापछि राहत मिलेको हो । वर्षाले गलकोट, मुलपानी लगाएतको क्षेत्रमा लगाइएको चैते धानलाई समेत राहत मिलेको छ ।

खडेरीका कारण ओइलिएका खाद्यान्न तथा मकैबाली वर्षापछि हरियो देखिएका छन् । खडेरी पछिको वर्षाले धुलाम्मे सडकहरुलाई समेत राहत दिएको छ । खडेरीका कारण खुल्न नसकेको आकाश मंगरबारदेखि खुल्ने अपेक्षा गरिएको छ । यस्तै बागलुङको बडिगाड गाउँपालिका र तमानखोलाको उच्च भागमा परेको असिनाले भने मकै बालीमा नोक्सानी पु¥याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *