बागलुङमा गर्भपतन गराउने बढ्दै : गर्भपतन विकल्प होइन बाध्यता बन्नुपर्छ


सिर्जना पन्त, बागलुङ
‘गर्भपतन विकल्प होइन्, बाध्यता हो’ । यो भनाई स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यको हो । बाध्यात्मक परिस्थती बाहेक गर्भपतन गर्नु पर्ने अवस्था आउनै दिन नहुने आचार्यको भनाई छ ।

तर, स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा गर्भपतन गराउने महिलाको संख्या बढ्दो छ । बागलुङ जिल्लाका धौलागिरी अस्पताल, वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बागलुङका ७ सय ९८ जना महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्ष भन्दा कम उमेर समुहका २४ जना रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । २० वर्ष भन्दा तलका २४ मध्ये ४ जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधी खुवाएर सुरक्षित गर्भपतन गराइएको छ ।

यो वर्ष १२ हप्ताभन्दा माथीको गर्भपतन गराउनेको संख्या अत्याधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका १ जना महिलाको १२ हप्ता माथिको गर्भ औषधी सेवन गरेर पतन गरिएको थियो । तर चालु आर्थिक वर्षमा २० वर्ष माथिका १८ र २० वर्ष तलका २ जना महिलाले १२ हप्ता भन्दा माथीको गर्भ औषधी प्रयोग गरेर पतन गरि सकेका छन् । २० वर्ष तलका ४ जनाको महिलाको १८ हप्ता भन्दा माथीको गर्भ उपकरण प्रयोग गरेर पतन गराईएको छ ।

सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने र स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबरजस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ सुरक्षित रुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था ल्याएपछि संख्यामा वृद्धि भएको हो ।

यो वर्ष २० वर्ष भन्दा तलका २९ र माथिका ६ सय ७८ जना महिलाको १२ हप्ता सम्मको गर्भ स्वास्थ्य संस्थामा औषधी सेवन गरेर र ४ जना २० वर्ष तलका र ६३ जना २० वर्ष माथिका महिलाको १२ हप्ता सम्मको गर्भ उपकरणको प्रयोग गरेर स्वास्थ्य संस्थामा पतन गराईएको छ । यो संख्या बागलुङका महिलाको मात्र होइन्, गर्भपतन गराउन अहिले पनि टाढाको स्वास्थ्य संस्था रोज्नेहरुको संख्या उल्लेख्य छ । परिवारकै सहमतीमा हुने अधिकांश गर्भपतन पनि जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरेको कार्यालय प्रमुख आचार्यले बताउनु भयो ।

त्यसैले बागलुङका महिलाहरु गर्भपतन सेवा लिन अन्य जिल्ला गएको हुन सक्ने उहाँको आशंका छ । परिवार नियोजनका साधनको प्रयोग नगर्दा र सावधानी नअपनाउदा र स्वास्थ्य कार्यालयले गाउँ गाउँमै सुरक्षित गर्भपतनको सेवा विस्तार गरेको हुँदा पनि यो संख्यामा वृद्धि भएको हुनसक्ने उहाँले बताउनु भयो ।

गत आर्थिक वर्षमा १२ हप्ता भन्दा कमको सुरक्षित गर्भपतन गराउने महिलाको संख्या १ हजार ८४ रहेको छ । ७९ जना २० वर्ष तलका र ९ सय ४२ जना २० वर्ष माथिका महिलाले औषधी सेवन गरी गर्भपतन गराएका थिए, भने २० वर्ष माथिका ६२ र तलका १ जना महिलाको उपकररण प्रयोग गरेर गर्भपतन गराइएको थियो ।

यो स्वास्थ्य संस्थामा अभिलेख भएको तथ्याङ्क मात्र हो । गाउँ घरमा र सरकारले मान्यता नदिएका क्लिनिकहरुबाट गर्भपतन गराउने महिलाको संख्या पनि ठुलो हुन सक्ने आचार्यको भनाई छ ।
स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउँदा गराउँदै पनि कहिलेकाँही गर्भवती महिलाको स्वास्थ्यमा समस्या आउन सक्छ । गत आर्थिक वर्षमा औषधी खुवाएर सुरक्षित गर्भपतन गराएका २१ र उपकरणको माध्यमबाट गर्भपतन गराएका ४ जना महिलामा जटिल समस्या देखिएको थियो । यो वर्षपनि ९ जना औषधी सेवनबाट गर्भपतन गराएका र १ जना उपकरणको प्रयोगबाट गर्भपतन गराएका महिलामा जटिलता देखिएको छ ।

गर्भपतन गराएपछि धेरै रत्तश्राव हुने, दुखाई धेरै हुने, प्रजनन अंगहरुमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्ने जस्ता समस्याहरु देखिएको कार्यालय प्रमुख आचार्यले बताउनु भयो ।
‘गर्भ रहनै नदिने अनेकन उपाए हुँदा हुँदै पनि सयौ महिलाहरु गर्भपतनका लागि स्वास्थ्य संस्था आउनु हुन्छ,’ आचार्यले भन्नुभयो ‘गर्भपतन विकल्प होइन्, बाध्यता हो भनेर बुझाउँन ग्राहो भएको छ ।

‘अति जोखिमको अवस्थामा बाहेक गर्भपतन गर्नु हुँदैन्, गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा प्रतिकुल असर पर्छ’ आचार्यले भन्नुभयो ‘आज भोली गर्भपतनलाई पनि सामान्य रुपमा लिएको जस्तो लाग्छ, पटक पटकको गर्भपतनले महिलाको ज्याननै जोखिममा पार्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *