बाँदर : मानवको समस्या

सरोजराज पन्त

‘बाँदरको हातमा नरिवल,’ ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको पनि भत्काइदिन्छ’, ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’, ‘बाँदरको पुच्छर लौरो न हतियार’ ‘आदि भनाइले नेपाली समाजले बाँदरलाई तुच्छ प्राणी मानेको मात्र छैन बाँदरप्रति मान्छेको नकरात्मक धारणा र व्यवहार बनेको छ ।

परम्परागत कृषि प्रणालीको अझै बाहुल्यता रहेको नेपाल एक कृषि प्रधान देश हो । यहाँ करिब ६० प्रतिशत नेपालीहरु कृषि पेशामा संलग्न रहेका छन् । कृषि पेशा संलग्न कृषकका लागि उन्नत विउः, मल, सिंचाईको साथै किसानहरुले अनेकन समस्या सामना गर्दै आउनु परेको छ । ती विविध समस्या मध्ये बाँदर आतङक पनि एक हो । किसानले दुखजिलो गरी गुजारा चलाउन लगाएको बाली बाँदरले हरेक बर्ष नष्ट गरिदिदा किसानलाई थप बेदना थपिदिएको छ । श्रमको मूल्य हिनामिना हुन गएको छ ।

अहिले मन्दिर तथा मानवबस्ती वरपर एकैछिनमा पाउन सकिने भएकाले बाँदरहरु जंगल आसपासका बस्तीछेउ तथा मठमन्दिर क्षेत्रमा बस्ने गरेको पाइन्छ । उखान भएझैं मानवबस्ती, कृषिबाली तथा फलफूल खाने मात्र होइन, नखाए पनि नोक्सान गर्ने, बिनास पार्ने गर्दछन । बाँदरले किसानले लगाएका खाद्यान्न, फलफूल, तरकारी बाली, करेला र कुभिण्डो, मकै, गहुँ, धान, कोदो, काँक्रा, घिरौला, लौका, फर्सी, सखरखण्ड, गिठा, भ्याकुर, मेवा, नासपती, सुन्तला, केरा, उँखु, आलु, अम्बा, आँप, सिमी, बोडी जस्ता कोशेवाली लगायत सबैजसो बाली खाएर सताउँने गरेका छन । बाँदरले सामान विगारिदिने, भान्सामा पकाएको भात खाइदिने, फ्यालिदिने, फलफूल नष्ट गरिदिने तथा विजुलीको पोल सर्ट गरिदिने लगायतका समस्या ल्याएपनि कुनै वाँदर दुर्घटनामा पर्दा बढी ह्रिसंक बन्ने गर्दछन । बाँदरको आक्रमणबाट महिला, बृद्धबृद्धा र केटाकेटीलाई बचाउन कठीनहुने गरेको छ । अहिले बाँदरकै कारण समयमा खाना, नास्ता पानी खान, चिया पिउन र अन्न दैनिकी चलाउन समस्या परिरहेको छ । त्यसो त बाँदर मात्रै नभएर बँदेल, दुम्सी, मृग, खरायो आदिले किसानलाई समस्यामा पारेका छन । आफूले लगाएको बाली जोगाउन बाँदर लखेट्न, धपाउन दिनभर दौडिन परिरहन्छ ।

यहाँ बाँदर आतंकबाट कृषकले भोग्नु परेका समस्या समाधान गर्न संघ, प्रदेश वा स्थानीय पालिका तह मध्ये कुन तहको क्षेत्र अन्तर्गत यो समस्या निराकण गर्न पहल गरिनु पर्ने माग पीडितको रहेको छ । राज्यले बाँदरको संरक्षण गर्ने तर किसानको बाली खानबाट नियन्त्रण नगर्ने हुँदा के राज्यले बाँदरको संरक्षण गर्नु कति उत्तम हुन्छ ? आजभोलि देशभर व्यावसायिक खेती, कृषिको पकेट क्षेत्र, ब्लक, जोन समेतका चर्चा भइ रहेका छन । तर किसानले खेतबारीमा आफूले लगाएको बाली आफै उपभोग गर्न पाउने अधिकारमा बाँदरले बाली लुटेर लगिदिदा किसानले क्षतिपूर्ति पाउने अबस्था छैन ।

समस्याहरु
सिनेमा र औषधीय परीक्षणजस्ता कार्यको लागि समेत बाँदरको प्रयोग भएको पाइन्छ । मान्छेको पुर्खा र हिन्दु धर्ममा हनुमानको वंश बाँदर चलाख र फुर्तिलो हुन्छ । यसले रुखका हाँगा, मन्दिर, बिजुलीका तार, घरका छतमा हिँडेर सताउने गर्दछ ।

बाँदरकै कारण अहिले सामाजिक कार्य विवाह, व्रतबन्ध, मृत्यु संस्कार, पुजाआजा आदिमा जुटेर सहयोग लिने दिने काममा असहज भएको छ । बाँदर धपाउन छाडेर यस्ता कार्यमा सहभागी हुन गएमा बाँदरले उत्पादन सखाप पारिदिन्छ नगएमा सामाजिक सरसहयोग लिन दिनबाट बञ्चित हुनु पर्दछ । राम्रा काममात्र होइन बाँदरले खराब काम गरेर देशभरको बिजुली काटिदिएर अन्धकार बनाइदिएका घटना पनि छन । नेपालमामात्र होइन अफ्रिकी देश केन्यामा एउटा बाँदरले पूरै देशलाई अन्धकारमय बनाइदिएको छ । केन्यामा बिजुली उपलब्ध गराउने केन्जेन नामक कम्पनीका अनुसार एउटा बाँदरका कारण पूरै देशको बिजुली आपूर्ति रोकिएको थियो । बाँदरको आतंक दिनप्रतिदिन बढ्दै गएको कारण देशका बिभिन्न स्थानमा बाँदर पीडित संघर्ष समिति समेत बनाइएका छन् ।

चुनावको बेला घरदैलो अभियानमा रहेका उम्मेदवारसँग मतदाताको अपेक्षा खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सडक, बाटो रोजगारी बाँदरको समस्या समाधान गर्न माग राख्नु र ‘जसले बाँदरको समस्या समाधान गर्छ त्यही पार्टीको उम्मेदवारलाई भोट दिने हो भनी अडान लिनुले पनि यो समस्या गहन रहेको पाइन्छ । खेतीबाली लगाउने र हुर्काउन जस्तै बाँदरबाट जोगाउनु चुनौति बनेको छ । बाँदर धपाउन कृषकको धेरै श्रम, पसिना र समय खर्च भएको छ । आँखा झिमिक्क गर्दा साथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छन । ‘ बाँदर धपाउँदा कैयौले भिरबाट लडेर ज्यान गुमाएका छन् ।

समाधानका लागि गरिएका प्रयासहरु
नेपालमा आसामी रातो, रातो र सेतो रंगको हनुमान लंगुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो हनुमान लंगुर बाँदर एक–दुई वटाको संख्यामा बस्छ । आसामी र रातो बाँदर भने समुहमा बस्छन् । केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घाँस खेति गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन । बाँदर आतंक नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नुपर्ने कृषकको माग छ ।

अहिले बाँदरको सङ्ख्यामा वृद्धि भएको छ । उनीहरूका लागि जङ्गलमा भएको कन्दमूल वा जङ्गली फलले नपुग्ने भएपछि बस्तीमा आउन थालेका छन् । तीन चार दशक अघिसम्म नआउने ठाउँमा अहिले त्यहाँका किसानहरूको समय बाँदर धपाउनमै बित्ने गरेको छ । अहिले गाउँमा प्रत्येक घरमा एक दुई जना बाँदर धपाउनकै लागि कुरुवा नबसी नहुने अबस्था भएकोले खे ितगर्नमा किसान निरुत्साही देखिन्छन् । बस्तीमा आउने बस्ने गर्दे गर्दा सामान्य किसिमले धपाउँदा बाँदर नभाग्ने गरेको किसानको दुखेसो छ । एउटा रूखबाट अर्को रूखमा हाम फाल्ने क्षण भरमा फर्कि हाल्ने बाँदर जमीनमा आउनासाथ बालीनाली बिनास गर्दछ । शिकारी कुकुरले मार्न सक्ने भएपनि सामान्य खालको कुकुरसँग अहिले बाँदर नडराउने गरेको पाइन्छ ।

“जल, जमीन, जङ्गल, जडीबुटी, जलवायु, जनशक्ति र जनावरको पहिचान, संरक्षण, सम्वद्र्धन, उत्पादन तथा व्यावसायिक प्रयोगको पक्षमा सक्रिय रहँदै आए पनि यो समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिन सरकारले सकेको छैन । बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको छ । गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसँगै बाँदर धपाउन समस्या भएको छ । महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा पटकपटक हैरानी परेको गुनासो बाँदर पीडितले गर्दै आएका छन् । कुस्मा, फलेबास नगरपालिकाले कार्यपालिकाको बैठकबाटै निर्णय गरेर निजी आवादीका रुख काट्न थालेको छ । कुस्मा नगरपालिकाले रुख फडानी गर्न थालेको छ । बाँदरले खेतीपाती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि रुख काट्ने अभियान चलाइएको हो ।

कसैकसैले बाँदरलाई सौखको लागि घरमा पाल्ने, चटक देखाउनको लागि प्रयोग गर्ने गरेता पनि हामीकहाँ बाँदरले बालीनाली खाएर सखाप पारिदिएको छ । तर एउटा बाँदरको शक्ति बाली खानमा मात्र कहाँ सिमित हुँदो रहेनछ । विकासक्रमको हिसाबले बाँदर र मानिसलाई नजिकका प्राणी मानिन्छ र बाँदरको बुद्धि पनि मानिसकै हाराहारीमा हुने गर्दछ । बाँदरकै कारण जापानको टोकियास्थित काबुकी रेष्टुरेन्ट देशभर चर्चामा रहेको छ । त्यहाँ वेटरको काम बाँदरले गर्ने,े खानाको अर्डर लिने र अर्डर बमोजिमको खानेकुरा ल्याएर सर्ब गर्नेसम्मको काम गर्दछ । त्यहा बाँदरले पनि अरु वेटरले जस्तै कपडा लगाउँने गर्दछन् । नेपालका केही रेष्टुरेन्टमा यस्तै अभ्यास गर्न सकेमा आन्तरिक र वाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिन्थ्यो कि ?

बाँदरलाई मार्नु पर्छ भन्ने तर्कहरु

बाँदरलाई कतिपय देशमा संरक्षण गर्ने र कतिपय देशमा मार्ने गरेको पाइन्छ । धेरै विकसित देशमा बाँदरलाई मारेर व्यवस्थापन गरिएको छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा बाँदरलाई वन्यजन्तु संरक्षणभित्र समावेश गरी संरक्षण गरिंदै आएको छ । अहिले पौराणिक कथा अनुसार महाभारत युद्धमा जानु अगाडि आफ्नै वंशका दाजुभाइ कौरव, आफ्ना गुरु दोणाचार्य जस्तालाई पनि गोली हानी मार्दा मानव हितको पक्षमा हुने भएकोले गोली हान्न भनि कृष्णले अर्जुनलाई सल्लाह दिए भनिन्छ । मानव हितका लागि आफ्ना वंशीय दाजुभाइ र गुरु समेतलाई गोली हानी मार्न हुने तर मानव हित बिरुद्ध काम गर्ने बाँदरलाई मार्न किन नहुने ? भन्ने प्रश्न उठेको पाइन्छ ।

समाधानका उपायहरु

मकै तथा तरकारी उत्पादन हुने क्षेत्रदेखि १० मिटर टाढासम्म बाँदर बेहोस हुने घाँसको खेती गर्दा बाँदर नियन्त्रण हुनेछ । बाँदर घाँसमा प्रवेशसँगै बेहोस हुने र सोही समयमा नियन्त्रणमा लिन सकिनेछ ।

बाँदर समात्ने र तालिम दिएर घरायसी काममा लगाउने जस्तै पशुपालन, रेखदेख, चितुवाजस्ता मांसाहारी जन्तुलाई बाँदरहरुले आतंक गरेको क्षेत्रको जंगलमा छाड्ेमा बाँदरको समस्या कम गर्न सकिन्छ । तर, यसका कारण चितुवा तथा मांशाहारी जनावरको त्रास बस्तीमा आउन नदिन थप सावधानी आवस्यक हुन्छ । मानवबस्ती तथा कृषि क्षेत्रमा आउने बाँदरलाई नजिस्काउने, खानेकुरा नखुवाउने गरेमा यो समस्या कम हुन सक्छ । जङ्गलसँग जोडिएका बस्ती तथा कृषि क्षेत्रमा बाँदरले मन नपराउने बालीहरु जस्तै मोलासेस, टिमुर, मेन्था केमोमाइलजस्ता सुगन्धित तेल तथा वनस्पती प्रजाति लगाउँदा आय आर्जन गर्न सकिनेर बाँदरको आतङ्क केहीहदसम्म कम गर्न सकिन्छ । हेरालु राख्ने, बारबन्देज गर्नेजस्ता कार्य बाँदर आतङ्क कम गर्ने तात्कालीन केही उपायहरु हुन् । राहत तथा क्षतिपूर्ति कोष, विमा आदिको व्यवस्थापन गरी नोक्सानी व्यहोर्ने, ढोरपाटन शिकार आरक्षमा नाउर लगायतका केही प्रजातिको शिकार गरेझैं बाँदरको शिकार गर्ने अभ्यास गर्न सके यो समस्या समाधान गर्न सकिन्छ । बाँदरको सख्या नियन्त्रणका लागि नश्लबन्ध तथा बन्ध्याकरण गर्न सकेमा सहज हुनेछ । त्यसैले खासगरी वन क्षेत्रमा फलफूलका बृक्षारोपण तथा व्यवस्थापन गरी बाँदरले मन पराउने खानेकुरा वनजंगलमा उपलब्ध गराउन सके गाउँबस्तीमा कम असर हुन सक्दछ । बाँदरलाई निकुञ्ज वा अन्य संरक्षित क्षेत्रतर्फ सार्न सकेमा केहिहदसम्म समस्या समाधान गर्न सकिन्छ । पशुपतिका बाँदर ल्याएर कास्की र स्याङ्गजा जिल्लाका वन क्षेत्रमा छोड्दा त्यसले असर समुदायमा परेकोले गहन अध्ययन विश्लेषण गरि निर्णय लिन जरुरी छ ।

निष्कर्ष
घर आसपासका जमीनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरको रेखदेख गर्न नसकिएकै कारण आफ्नो जग्गा बाँझै राख्नुपर्ने बाध्यता रहेको किसानको दुखेसो छ । बाँदरका कारण बसाइँसराइ गर्नु पर्ने बाध्यता रहेको छ । बाँदरको समस्या स्थान, समय र परिवेशअनुकुल र सम्बन्धित सरोकारवालाहरुको समन्वयमा यसको नियन्त्रणको लागि उपयुक्त रणनीति अपनाउन जरुरी छ । बाँदर एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पु¥याउँदा पनि समस्याको दीर्घकालीन समाधान नभएकाले संघ र प्रदेशले नीति बनाएर नियन्त्रण नगर्दासम्म यो समस्या समाधान नहुने भएकोले यस बिषयमा नीतिगत निर्णय गरी कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *