सड्किएका शिक्षकको बकपत्र

शिवशरण ज्ञवाली
‘छोराछोरी पाएर मात्रै हुँदैन ? पढाउन पनि जान्नुपर्छ । पढाउन नजान्नेले किन पाउने ?’ उनी मेरो पाखुरा च्याप्प समातेर सारा गाउँ सुनिने गरी चिच्याए । मानौँ, उनी कटुवाल नै हुन् । तलतिरको बाक्लो गाउँले सुन्यो होला उनको आवाज । म भने लाजले मुन्टो निहुराएँ । मेरा दुई छोराछोरीलाई सम्झिएँ । केही बिराएछु कि जस्तो लाग्यो । कसरी पढाउनुपर्दो रहेछ कुन्नि मनले गुन्न थाल्यो ?

त्यसदिन म बुटवलको गाडी चढ्नको लागि घुम्टे निस्किएको थिएँ । आजकाल सधैँ घरबाट गाडी चढे पनि यसपटक बिहानै छ बजे घरबाट घुम्टेको लागि हिडेको थिएँ । हाम्रो घरतिर डम्म कुहिरो लागे पनि हटिया निस्कदाँ घाम पूर्वीय लालीमा झुल्कदै थियो । म लुरुलुरु हिड्दै धेरै वर्ष पछि यसपटक घुम्टे निस्किएको हुँ ।

घुम्टे दरबार मोटर बाटो हामीले जान्दा जस्तो थियो अहिले पनि उस्तै छ । अलि फराकिलो बन्नु बाहेक यसको स्वरुप बदलिएको छैन । हामी तम्घास जाँदा खुब हिड्थ्यौँ पैदल । फेदीबाट उकालो लाग्दा मात्रै होइन, घुम्टे नजिकै पुग्दा पनि तम्घास जाने गाडीहरु छुट्थे । हामीले भेटाउन सक्दैनथ्यौँ । दौड्दै जाँदा पनि भेटाउन सकिदैनथ्यो । कोहीकोही हातको सिठी बजाउन जान्ने साथीहरु सिठी बजाएर रोक्थे । तर आफू त केही नजान्ने बाहुने चरी परियो । कसरी रोक्नु ?

गाडी छुट्दा कहिलेकाही त थचक्क बाटोमा बसेर टाउको समातिथ्यो । त्यसपछि त तम्घाससम्मको यात्रा भँगारी दुविचौर ह्वाक्ने छहरा हुँदै पैदल सुरु हुन्थ्यो । फेरि अर्को गाडी आउन दिन कुर्नुपथ्र्यो । तर आजकाल समय बदलियो । मिनेटमिनेटमा एक से एक गाडीहरु आतेजाते गरिरहन्छन् । चिल्लो सडकमा गाडीहरु सुलुल बग्छन् । तापनि महत्वपूर्ण मार्गहरु गुल्मी छिचोलेर कहींकतै जाँदैनन् । यो भने गुल्मीको अविकास हो । पछौटेपन हो । भौगोलिक अपयस हो ।

यसरी नहिडेको पनि मस्तै वर्ष भएछ । बिहानको शीतले बाटोको धुलो पनि मरेको रहेछ । कुनै कुनै सवारी साधन आए भने मात्रै अलिअलि धुलो उडथ्यो । नभए हिड्न त्यति गारो थिएन । म घुम्टे आइपुग्दा बिहानको आठ बज्दै थियो । आज भने बिहानैदेखि बस आएका रहेनछन् । माइक्रो बसमा म हिड्न नसक्ने ठूलो बस नआइपुगेकाले म त्यसै टोलाएर उभिइरहेको थियो । यहाँको पुरानो प्रतिक्षालय पहिरोले लगेपछि बस्ने ठाउँको अलिक अभाव छ । नयाँ अत्याधुनिक प्रतिक्षालय कहिले बन्ला कुन्नि ? त्यो प्रतिक्षालय मेरो गाउँको पहिचान थियो । दैवले पहिरो चलाइदियो । त्यहाँ चलेका पसलहरुले प्रतिक्षालयको पहिचान सुरक्षित गर्ने कुरा भएन । घुम्टेमा बस्तीको सुरुवात नै त्यही प्रतिक्षालयले गरेको हो नि !

त्यही बेला खोइ उनी कतातिरबाट आएर मलाई पाखुरामा च्याप्प समाते । उनी मैले अलिअलि चिनेको अलिअलि नचिनेको मान्छे हुन् । आठ दश कक्षा पढ्दादेखि नै उनलाई मैले देखें । उनी कहिले बोरा ओढेर र कहिले झुत्रा कपडा लगाएर हिड्थे । गाउँका सबै मान्छेहरु भन्थे, ‘उनको दिमाग अलिकति सड्केको छ रे । पढाउँदापढाउँदै सड्केको रे । दिमाग सड्केपछि उनलाई स्कुलले अवकाश दियो रे । घरले पनि माया गरेन रे । त्यसैले आजकाल यसरी बाटोबाटोमा चिच्याउँदै हिड्छन् रे ।’

मलाई समाते पनि उनी मेरो मुखमा हेरेर होइन आकाशतिर फर्किएर बर्बराउन थाले । चिच्याउन थाले । छोराछोरी जन्माए पछि राम्रो शिक्षादीक्षा पनि दिन जान्नुपर्छ । केवल तनमौजी र मनमौजीका लागि मात्रै छोराछोरी जन्माइदैंनन् । ए समाज ! तैले खोइ बुझेको ? छोराछोरीलाई समय दिएको खोइ ? तिमीहरुलाई हतार थियो भने किन झन्झट गर्छौ ? मोज गर न मोज । जापानीजहरुले गरेकै छन् । चाइनिजहरुले पनि गरेकै छन् । तिमी राष्ट्रवादीहरु न त चाइनीज जापनीज हौँ न त भारतीय नै हो । दुवै होइनौँ । एकातिर दुई सन्तान भन्छौँ अर्कोतिर छोराछोरीको वास्तापास्ता छैन ।

छोराछोरीको वास्तापास्ता नगर्ने भन्ने कुरालाई तिमी उल्टो बुझ्छौँ । उनले मलाई फेरि झसङ्ग गराउँदै बोले । अनि बर्बराउँदै गए । तिमीलाई छोराछोरीको आची पनि सुगन्धयुक्त लाग्छ । बाटोभरि साथी पायौँ भने छोराछोरीको आची माहात्म्य सुनाउँछाौँ । सुसु माहात्म्य सुनाउँछाँै । तिमीले उनीहरुलाई सबै किसिमका भौतिक सुख सुविधा पु¥याइदिएका छौँ । उनीहरुलाई अभाव र सङ्घर्ष चिन्ने अवसर नै दिएका छैनौँ । टर्रो बोली पनि हुन्छ भन्ने बुझाएका पनि छैनौँ । बरु रिस उठे सिधै झापट दिन्छौँ । नभए, पशुप्राणीले आफ्नो नवजात शिशु चाटेजस्तो सदासर्वदा चाट्छौँ । पशुले त जन्मने बित्तिकै मात्र चाट्छ । बाटोमा हिड्दा उनीहरुकै कुरा गर्छाै । बालबालिकाले देखाउने सामान्य मानवीय प्रवृति तिमीहरुलाई विशिष्ट लाग्छ । तिमीहरुलाई जतिखेर पनि उनीहरुको चिन्ता छ । अन्जान चिन्ता । उनीहरुलाई आफै सङ्घर्ष गर्न सिकाउँदैनौँ तिमीहरु । कपडा धुन सिकाउँदैनौँ । कुचो लगाउन सिकाउँदैनौँ । शौचालय सफा गर्न सिकाएका छैनाँै । आफू बस्ने बेन्च सफा गर्न सिकाएका छैनौँ बरु बेन्च सफा छैन भनेर गुनासो गर्न सिकाएका छाँै । कपडा लगाउन सिकाएका छैनौँ । घाँटीमा दाम्लोजस्तो भिराएको टाइ बनाउन सिकाएका छैनाँै । दिमाग तदुरुस्त हुन शारीरिक श्रम पनि चाहिन्छ भन्ने सिकाएका छैनौँ । बारी वा करेसामा तरकारी रोप्न सिकाएका छैनौँ । आफूले खाएको थाल माझ्न सिकाएका छैनाँै । घरको काम गर्न पनि दिएका छैनौँ ।

बोली नफुट्दै तिमीहरुले उनीहरुलाई स्कुल पु¥याउँछौ । स्कुल पु¥याउन हतार छ । पल्लारे पनि पु¥याइ तल्लारेले पनि पु¥याइ । सफलको बाबाले पनि पु¥यायो । अर्चनाको मम्मीले पनि पु¥याइ । म किन छाडिन मन्टेश्वरी मुन्टाइदिन । लौ जा !

विद्यार्थी शिक्षक र अभिभावक ! त्रिशुल भन या ओदान । एकको अभावमा अन्य दुई पूरा हुन सक्दैनन् । तर तिमीहरु स्कुल पु¥याए पछि आफ्नो काम सकियो भन्ने ठान्छौँ । अब जे गर्छ स्कुलले गर्छ । तिमीहरुले त पैसा बुझाए पुग्छ रे ! पैसा बुझाए पछि तिमीले तिम्रा छोराछोरीको चिन्ता लिनु नपर्ने ? के पैसामा किन्न पाइन्छ योग्यता ? के पैसामा किन्न पाइन्छ सामाजिक व्यवाहर ? के पैसामा किन्न पाइन्छ मानवता ? इतिहासमा कही कतै सर्टिफिकेट किन्न पाइए होला तर आज त्यो पनि सम्भव छैन । तिमीहरुले छोराछोरीको पढाइका लागि तिरेको पैसामा पनि नाफा खोज्दा रहेछौँ । तिमीहरु मान या नमान मुनाफा होइन शैक्षिक लगानी । पैसा तिरेकै भरमा तिमीले प्रमाणपत्र पाइदैन । योग्यता दक्षता सिप पाइदैन । शैक्षिक दक्षता भनेको बजारमा किन्न पाइने आलु सुन्तला पनि होइन । फेलमा पनि योग्यता र पासमा पनि अयोग्यता हुन सक्छ । यो बडो लचिलो पनि हुनसक्छ । जे भए पनि यो पैसाले पाइने कुरा होइन । सरस्वती र लक्ष्मीको सहकार्य कहिल्यै हुँदैन । पैसा त तिमीले तिम्रो इज्जतका लागि तिरेको हो । तिम्रो रवाफका लागि तिरेको हो । छोराछोरीको शिक्षाका लागि हुँदै होइन ।

तिमीले छोराछोरीलाई कम्तीमा बोली फुट्न त देऊ न स्कुल जानुभन्दा पहिला । त्यो तिम्रो जिम्मेवारी हो । तर त्यो जिम्मेवारी पनि तिमी लिन सक्दैनाँै । जस्तो विरुवा रोप्यो फल उस्तै आउँछ भन्छन् । आज तिमीले छोराछोरी नहेरे पछि भोलि उनीहरुले तिमीहरुलाई वृद्धाश्रम नलगे चीनको ग्रेटवाल रुनेछ । छाडेर विदेश भासिएनन् भने भारतको ताजमहलको ताज हराउनेछ । आफ्नो परिवार लिएर अर्को ठाउँ गएर बसेनन् भने इजिप्टको पिरामिडले गिज्याउनेछ । त्यतिबेला तिमीहरुलाई छोराछोरी सम्झने अधिकार पनि हुनेछैन ।

स्कुलमा पुगेपछि फेरि तिमीलाई अङ्ग्रेजी चाहिन्छ । पाजी नेपाली जानेर तिमी गवाँर भयौँ । त्यसैले छोराछोरी नेपाली बोलेको तिमी सुन्न सक्दैनौँ । अनि आफै विश्वास गुमाइरहेका छौँ । छोराछोरी नेपालमा बस्दैनन् भनेर । कसरी बसुन् त नेपाल ? जब शिक्षा नै तिमी विदेशका लागि उपयोगी दिन्छौँ । दुरदराजका कुनाकानी बस्नेलाई कहाँको हो कहाँका पाठ पढाउँछौँ । घरमा काम लगाउनु भनेको उनीहरुको पढाइ बिगार्नु हो भन्ने तिमी ठान्छाँै । बिचरा बालबालिकाले न त घरको काम गरेर आफ्नो घरलाई माया गर्न पाउँछन् न त स्कुलमा आफ्नो गाउँठाउँका कुरा पढ्न पाउँछन् । न भाषा बोल्न पाउँछन् न त संस्कृति नै सिक्न पाउँछन् । अनि कसरी बस्छन् त छोराछोरी स्वदेशमा ?

उनी बर्बराउँदै गए । म सुन्दै गए । कुरा त राम्रै गर्छन्, फेरि । उनी बर्बराउन छाडेनन् । यसमा तिमीहरुको मात्रै दोष छैन । सरकारको पनि दोष छ । सरकार छ र नेपालमा ? कैयौँ वर्षदेखि नेपालमा सरकार छ (इन) । उनले ठोकुवा गरे ः राजा महेन्द्र मरेपछि नै नेपालमा सरकार छैन । अहिलेको शिक्षा पनि महेन्द्रकै शिक्षा न हो ।

पाठ्यक्रम कसले बनाउँछ ? कसैलाई थाहा छैन । सबैभन्दा साना र कलिला बालबालिकाका न पुस्तक छन् न पाठ्यक्रम नै छ । तल्ला कक्षाको पाठ्यक्रम पब्लिकेसनले प्रकाशित गर्ने पुस्तकभित्र कैद छ । पुस्तकमा जे आउँछ बालबालिकाले मज्जाले पचाउनुपर्छ किनकी उनीहरुको पाठ्यक्रम नै त्यही हो । अहिले उपल्ला कक्षाको पाठ्यक्रम पाइन्छ तर तल्लाका कक्षाको पाठ्यक्रम नै छैन । बरु ठुलालाई पाठ्यक्रम चाहिदैँन । उनीहरु आफूलाई पढ्ने कुरा आफै पनि तयार गर्न सक्छन् नि । संविधानले त्यही भनेको छ नि । स्थानीयतामा सम्पन्नता खोज भनेको छ नि । खोइ बुझेको ?

बच्चाले विद्रोह गर्नु हुँदैन । विद्रोहीलाई समाजमा कुनै स्थान छैन । मैले विद्रोह गर्दा मलाई मगज सड्केको भनेका छन् । म सद्दे हुँ या यी सद्दे हुन् । बुझ्नै सक्दिन म । बालबालिकालाई बिना पाठ्यक्रमको ज्ञान कोचाइनु भनेको उनीहरुको भविष्यमाथि गरिएको खेलवाड हो । उनीहरुलाई देशबाटै लखेट्ने र आफूहरुले लुटतन्त्र मच्चाउने दाउ हो ।

बिना पाठ्यक्रमको यो पढाइ भविष्यमा कति महंगो पर्ने हो अहिल्यै भन्न सकिन्न । भन्न नसकिए पनि अनुमान लगाउन सकिने संकेत पाइन्छ । गाउँबाट सहर सहरबाट देश रित्तो हुँदैछ । यसरी रित्तो हुनुमा नेपालको शिक्षा नीति जिम्मेवार छ । सरलबाट जटिल होइन जटिलै जटिलको बाटोमा छ अहिलेको शिक्षा । हुँदाहुँदै सरकारी शिक्षा नै सकियो । सकें छोटे राजाहरुले । हट्टाकट्टा र बलिया तथा पढेका मै हुँ भन्नेहरु बाहिरिनुमा अहिलेको शिक्षा जिम्मेवार छ । भ्रष्ट नेता र कर्मचारी जन्माउनुमा पनि अहिलेकै शिक्षा कामयाव छ ।

अहिले देशभर कही पनि पैसा नतिरीकन पढ्न पाइने स्कुल छैनन् ? गरिबका छोराछोरीले पढ्ने ठाउँ खोइ ? सामुदायिक विद्यालयहरु गैरअभिभावकको कब्जामा छन् । लगभग उन्नासय प्रतिशत स्कुलका व्यवस्थापन समितिका अध्यक्ष गैरअभिभावक छन् । उनीहरुले स्कुलबाट कि त राजनीतिक लाभ लिन्छन् कि त आर्थिक । उनीहरुका छोराछोरी शहरमा या निजी स्कुलमा पढ्छन् । अथवा पढाइ सकेर बाहिरिइ सकेका पनि हुनसक्छन् । धेरै वर्षदेखि सबै सरकारी विद्यालयको व्यवस्थापन समितिको नेतृत्व गैर अभिभावकले गरिरहेका छन् । गैरअभिभावकलाई अभिभावकको पीडा के था ? यही कारण सरकारी स्कुलहरु बोर्डिङ भए । सपिङ कम्प्लेक्स भए । कमाइ खाने भाँडो भए । राजनीति गर्ने थलो भए । पूर्वाग्रही विचार रोप्ने माध्यम भए । सामुदायिक स्कुललाई पैसा किन चाहिन्छ हँ ? सरकारी वेतन जाने स्कुलमा पैसाको प्रयोजन के हो ?

मलाई उनका कुराहरु रोचक लागे । समयसापेक्ष पनि लागे । त्यही अलमलिएको बेला तम्घासबाट अंकलले फोन गर्नुभयो । पहिला घर आमासँग कुरा गर्नु भएछ । त्यसपछि मलाई फोन गर्नुभयो । म पनि बुटवल जान आउँदै छु, बसमा । संयोग प¥यो सँगै जाऊ भन्नुभयो । अंकललाई पर्खदा मलाई उनको कुरा थप सुन्ने फुर्सद मिल्यो । आधा घन्टा समय उब्रियो । मैले उनी रोकिएको बेला सोधें, ‘आमाबाउले के गर्नुप¥यो त ?’

तिम्रो छोराछोरी अर्काले पढाउँछ ? तिमीले पढाउनु पर्दैन ? उनी फेरि बोल्न थाले । उनी बोल्न थालेपछि अरु कोही बोल्न पर्दो रहेनछ । एकोहोरो सुन्नु मात्रै रहेछ । नेता र उपल्ला तहका कर्मचारीहरुको जस्तो । टप टु बटम डेमाक्रेसी !

तिमी आधा एक घन्टा छोराछोरीसँग बस्न सक्नुपर्छ, पढाइको सन्दर्भमा । अक्षर हेरे पुग्छ । पढेको सुने पुग्छ । हिसाब गरेको देखे पुग्छ । मोबाइल छाडेर किताबमा भुलेको भेटे पुग्छ । अँ तिमीलाई मोबाइलका बारेमा भन्नुप¥यो । तिमी आफै मोबाइल हेर्छौ त उनीहरुले के सिकुन् ? बालबालिकाका लागि नयाँनयाँ किताब किनिदिएका छौँ ? तिम्रा घरमा किताब राख्ने कुनो छ ? किताबहरु यततत्र छरिएका छन् ? तिमी नभएको बेला बालबालिकाले तिम्रो किताब केरिदिएको छ ? तिम्रो घरमा रेडियो छ ? तिम्रो घरमा भित्ते र हातमा लगाउने घडी छ ? बन्द भएको टेलिभिजन कहिलेकाही खुल्छ ? कि कम्प्युटर र मोबाइल बाहेक केही छैन ? के तिमीलाई थाहा छ मोबाइलमा पनि रेडियो बज्छ ? अनि न बच्चाले मोबाइल छाड्छ । अरु पनि खेलाउँछ ।

तिमीले बाटोमा सँगै हिड्दा छोराछोरीले साइनबोर्ड देखाउँदै पढेको बुझे पुग्छ । भाडा दिंदा पैसा गनेको हेरे पुग्छ । पाहुना आउँदा कोठाभित्र नलुकेर बाहिर निस्केर अभिवादन गर्दाको मुस्कान छरे पुग्छ । पैसा तिरेको छु ए प्लस आउनैपर्छ नभने पुग्छ । बत्तीसे पासको जमानामा पनि जम्मा छत्तीस नम्बरले पनि रेकर्ड राखेको उदाहरण सुने पुग्छ ।

पढाइ त मुलुकभरको एउटै हो । पाठ्यक्रम एउटै हो । स्कुल पनि तिनै हुन् । शिक्षक पनि उनै हुन् । बरु संविधानले फरकफरक ठाउँमा फरकफरक पाठ्यक्रमको कल्पना गरेको छ । तर आमाबाबुले छोराछोरी नहेरेपछि कसको के लाग्छ ? आफ्नो छोराछोरी पढाउनु नपर्ने ? शिक्षकले वा स्कुलले पढाइदिन्छ रे ! हामी जान्दैनौँ रे ? जान्नै पर्छ र पढाउन ? पर्दैन ? तर आफ्ना बालबालिकालाई त सुन्न प¥यो नि । पढ्न प¥यो नि ! छोराछोरीसँग एकाध घन्टा सँगै बस्नुप¥यो नि । के लेख्यो सोध्नुप¥यो ? के बुझेन बुझ्नुप¥यो नि । गृहकार्यको रातो चिन्न प¥यो नि । बाआमाले पढ्न प¥यो नि छोराछोरीसँग नै । अपवादलाई आधार मानेर केही हुँदैन । तिम्रो छोराछोरी तिमीले नपढाए कसैले पढाउँदैन । किताब पढेछ भने पनि त्यो काम लाग्ने छैन जब कि तिमीले पढाएनौँ भने ।

त्यति नै बेला म चढ्ने गाडी आइपुग्यो । तर उनको कुराले मेरो मथिङ्गल भने फनफनी घुमिरह्यो । उनले भनेको कुरा साँचो हो कि हो कि जस्तो लाग्यो । करिअर नाममा दौडिरहँदा आफूले केही गुमाइरहेको जस्तो लाग्यो । जय नेपाल !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *