लोमान्थाङमा लामखुट्टे सवार !

हिमाल पारिको जिल्ला मुस्ताङको लोमान्थाङमा आजकाल लामखुट्टे देखा पर्न थालेका छन्।

समुन्द्री सतहदेखि ३८ सय मिटर उचाईमा रहेको चिसो उपत्याकामा पनि लामखुट्टे देखिन थालेको हो।
अघिल्ला वर्षहरुमा लोमान्थाङमा लामखुट्टे देखिन्नथे। यो वर्षबाट यहाँ लामखुट्टे देखिन थालेको स्थानीय पेमा याङ्दु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मोटर आएसँगै लोमान्थाङमा लामखुट्टे देखिन थालेका छन्। ‘गर्मी भूभागमा पाइने लामखुट्टे चिसोमा कसरी पुगे र कसरी बाँच्न सकेरु’, मुस्ताङ घुम्न पुगेका मिथुन गुरुङको जिज्ञासाको छ।
मुस्ताङको सदरमुकाम जोमसोममा २०५३ सालमा पहिलो पटक लामखुट्टे देखिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङस्थित रेन्जर पोस्टमा काम गरिसकेका राजु आचार्यलाई सम्झना छ। अहिले जोमसोममा लामखुट्टे देखिनु सामान्य भएको छ। तर, लोमान्थाङमा नै लामखुट्टे देखिएको कुरा आफुलाई जानकारी नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका कार्यालय प्रमुख तुलसी प्रसाद दाहालले बताउनुभयो।
पछिल्लो सममा सवारी साधन बेनी, पोखरा हुँदै एकैदिनमा मुस्ताङ पुग्छन्। गाडीको सिटमुनी रहेका लामखुट्टे सोझै लोमान्थाङसम्म पुगेको हुन सक्ने कार्यालय प्रमुख दाहालको अनुमान छ। हिमालपारीकव् जिल्ला मुस्ताङ स्याडोरेन जोनको रुपमा चिनिन्छ। तर, पछिल्ला वर्षहरुमा बढी पानी पर्न थालेको स्थानीयले बताउँदै आएका छन्।
वर्षा बढेकै कारण पछिल्लो समय मुस्ताङका घरहरुमा भएको माटोको ढलानबाट पानी चुहिन थालेको छ। यहीकारण जिल्लावासीले सिमेन्टको ढलान गर्न थालेको एक्याप लोमान्थाङ इलाका संरक्षण कार्यालयका सुचना अधिकृत रामबहादुर गुरुङले बताउनुभयो।
लामखुट्टे लोमान्थाङसम्म पुग्नुको कारण सडक सञ्जाल रहेको प्राध्यापक करण बहादुर शाहले बताउनुभयो। सवारी साधनमा राखेर बोरामा लगिने खाद्यन्न, लगायतका सामानसँगै लामखुट्टे त्यहाँ पुगेको उहाँको अनुमान छ। हाइअल्टिच्युटमा लामखुट्टे भेटिनुसँग जलवायु परिवर्तनको कुनै सम्बन्ध नरहेको उहाँ बताउँनुहुन्छ। ‘लामखुट्टे धेरै गर्मीमा र धेरै चिसोमा बाच्न सक्दैन। समुन्द्र सतहदेखि बढी उचाई हुनु भनेको सूर्य नजिक हुनु पनि हो। त्यसैले वर्षा याममा दिउँसो तापक्रम बढी हुन्छ र त्यहाँ गाडीबाट गएका लामखुट्टे बाच्न तापक्रम प्रयाप्त हुन्छ,’ उहाँले भन्नुभयो । (अन्नपूर्ण पोस्टबाट साभार)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *