बागलुङमा ट्राफिक सप्ताह : ‘सबै नागरिक ट्राफिक प्रहरी’

रोहन जि.सी, बागलुङ

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि बागलुङ सहित गण्डकीका ११ वटा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह’ भन्ने मूल नाराका साथ बागलुङमा पनि विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह शुरू गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, ग्रामीण भेगमा सचेतनाका कार्यक्रम गरिने जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरिक्षक सुमन न्यूरेले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवाला निकायले सबै स्थानमा ट्राफिक प्रहरी पुग्न नसक्ने भन्दै सबै नागरिकले ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।

सप्ताहको उद्घाटन पछि बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले ट्राफिक नियमको पालना गरेमा दुर्घटनाबाट बच्न सकिने बताउनुभयो ।

उहाँले समुदायको तल्लो तहसम्म सडक दुर्घटनासम्बन्धी सचेतना फैलाएर दुर्घटना न्यूनीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । प्रमुख थापाले राज्यले ट्राफिक व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले ट्राफिर्क व्यवस्थापन अन्र्तगतको पार्कीङ स्थानमा नीजि क्षेत्रसंग समन्वय गर्न थालिएको बताउनुभयो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कार्यक्रमले व्यक्तिदेखि समाजसम्मलाई सुरक्षित ट्राफिक व्यवस्थापनका बारेमा प्रेरणा प्रदान गर्ने बताउनुभयो । उहाँले यान्त्रीक, वातावरणीय र मानविय कारणले दुर्घटना हुन्छ, तर यसको कारक तत्व मानव नै रहेकोमा जोड दिनुभयो ।

दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔँ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताउनुभयो ।

एसपी कंडेलले विश्वमा हरेक वर्ष सवारी दुर्घटनाबाट १३ लाख ५० हजार मानिसले ज्यान गुमाउँछन् भने हरेक दिन तीन हजार ५ सयको सवारी दुर्घटनामा परी मृत्यु हुनेगरेको बताउनुभयो ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख गुमादेवि शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, धौलागिरी बस प्रालिका अध्यक्ष उमेश केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षता, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरिक्षक सुमन न्यूरेको स्वागत तथा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपकबाबु के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ट्राफिक सप्ताहको दोस्रो दिन तथा वैशाख २६ गते चोकचोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डाखुल्डी पुर्ने र तेस्रो दिन तथा बैशाख २७ गते ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस्ने, मास्क वितरण गर्ने, हुटमा बसेर यात्रा गर्ने यात्रु प्रशिक्षण दिने ट्राफिक प्रमुख निउरेले बताउनुभयो ।

ट्राफिक सप्ताहको चौथो दिन तथा बैशाख २८ गते चालक परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाइ पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

ट्राफिक सप्ताहको पाँचौं दिन तथा बैशाख २९ गते ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थी लाई प्रशिक्षण त्यस्तै छैठौं दिन तथा बैशाख ३० गते स्वास्थ्य संस्था संग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य जाँच, ब्लड प्रेशर, आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन तथा बैशाख ३१ गते पत्रकारहरू संग ७ दिने कार्यक्रमको समिक्षा गर्ने दुर्घटनाबाट ज्यान गुमाएका ब्यक्तिहरूको स्मरणमा बागलुङको मुख्य चोकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *