‘शेयर सदस्यलाई संयमित बन्न सहकारीका अध्यक्षको आग्रह’

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा सञ्चालित सहकारी संघ संस्थाका अध्यक्षले सहकारीमा देखिएको समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्न शेयर सदस्यलाई आव्हान गरेका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सोमबार अपरान्ह आयोजना गरेको छलफल कार्यक्रमका सहभागी संस्थाका अध्यक्ष तथा पदाधिकारीले बागलुङमा देखिएको असहज परिस्थितिलाई व्यवस्थापन गर्ने कार्य सकारात्मक रुपमा अगाडि बढेको भन्दै केही समयका लागि थप संयमित भई सहयोगी भूमिका निर्वाह गरिदिन सदस्यलाई सामुहिक रुपमा आव्हान गरेका हुन् ।

असहज परिस्थितिमा संस्थाका शेयर सदस्यले सहकारी सञ्चालनमा सहजता प्रदान गर्नका लागि यतिबेला अति आवश्यक नपर्दासम्म सहकारीको रकम नझिक्न, ऋणका लागि आवेदन दिदा विचार गर्न, अति आवश्यक परेपछि मात्र न्यूनतम वचत फिर्ता गर्न, आफुले संस्थाबाट लगेको ऋणको किस्ता तथा ब्याज समयमै भुक्तान गर्न, आफ्नो सहकारीलाई परेको अप्ठेरोमा असल सदस्यका रुपमा वचत गरेर सहयोग गर्न अध्यक्ष तथा पदाधिकारीले आव्हान गर्नु भएको छ ।

सहकारी सदस्यको हो, सदस्यले आफुलाई परेको अप्ठेरोमा सहकारीको साथ खोज्नु पर्छ र सहकारीलाई समस्यापर्दा सदस्यहरुले साथ दिन आवश्यक छ, भन्दै सहकारीका अध्यक्ष तथा पदाधिकारीले यतिबेला सहकारीमा समस्या आएको छ, संकट आएको होइन, सबै सदस्यले केही समय मात्रै धैर्यता राख्न सके समस्या समाधान भएर पहिलेकै अवस्थामा सहकारी पुग्ने बताएका छन् ।

एउटा सहकारीमा समस्या आउदा अर्कोलाई पनि असर गर्ने भएकाले अहसजता भएको हो, शेयर सदस्यहरुले धैर्यता गर्न सके तत्काल यो समस्या समाधान हुने भएकाले सबै शेयर सदस्यले यतिबेला बजारमा चल्ने चर्चाका पछि नलागेर आफ्नो संस्थाको यथार्थ अवस्थाका बारेमा ख्याल गर्नु पर्नेमा जोड दिइएको छ ।

बागलुङ बजारमा सञ्चालित २ वटा सहकारीमा वचत फिर्ताको समस्या आयो, भक्तपुर मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी सम्पर्कमा नभएका कारण समस्या देखिएको छ, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) ले भन्नुभयो,–‘इमेज वचत तथा ऋण सहकारी संस्थाले आफ्नो नियमित कारोबार सोमबारबाट शुरु गरेको छ र सबै शेयर सदस्यहरुले सहजताका लागि सहयोग गर्नु भएको छ ।’

इमेज सहकारीलाई सहजता प्रदान गर्न शेयर सदस्यको जुनखालको भूमिका देखिएको छ, त्यसबाट सबै सहकारीमा सकारात्मक प्रभाव परेको देखिएको छ । छलफल कार्यक्रममा जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार, बागलुङ बजार क्षेत्रमा सञ्चालित सहकारी संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघका सचिव तेज प्रसाद शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *