पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग

डम्मर बुढा मगर, बागलुङ
सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण कौडे लेक आधा दशक अगाडिसम्म ओझेलमा थियो । बरेङ बजारदेखि पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाईमा रहेको छ । बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारदेखि सिग्दी गाउँ हुँदै वनजंगल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ । यस लेकमा दैनिक जसो सिग्दी गाउँका स्थानीय घाँस दाउरा गर्न पुग्ने गर्छन् ।

पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकसमेत कौडे लेकमा पुग्न थालेका छन् । गाउँपालिकाले सिग्दी गाउँदेखि करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ । पदमार्गले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज बनाइ दिएको छ । सूर्योदय र अनेकौँ दृश्यावलोक गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । बागलुङ र गुल्मी जिल्लाको संगम स्थलसमेत रहेको कौडेलाई प्रवद्र्धनका लागि बरेङ गाउँपालिका जुटि रहेको छ । गाउँपालिकाले पदमार्गको छेउछाउँमा पर्यटकलाई थकाई मार्नका लागि चौपारीसमेत निर्माण गरेको छ भने वन्यजन्तुलाई खानेपानीका लागि पोखरी समेत बनाई दिएको छ । बाइसे चौबिसे राज्यबा बेला यहाँ भुरेटाकुरे राजाले राज गरेको इतिहास छ ।

अहिले पनि यहाँ दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयको भनाई छ । बागलुङकै अग्लो पहाड मध्येमा पर्ने कौडे लेकलाई पर्यटकीय हब बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरि रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँले अघिल्लो कार्यकालदेखि सुरु गरेको पदमार्ग निर्माणका काम सकिएको भन्दै अब यसको प्रचारप्रसारलाई जोड दिने उहाँको भनाई छ । बरेङ बजारदेखि साढे दुई घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिने शर्माले बताउनुभयो ।

अध्यक्ष शर्मा भन्नुहुन्छ– “कौडे लेक एतिहासि ठाउँ हो, यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागि रहेका छौँ, अहिलेसम्म पदमार्ग, पाखरी, बगैचा र चौपारी लगायतका संरचना बनाएका छौँ, अझै पूर्वाधारहरु बनाउनु पर्ने छ, रहेक वर्ष बजेट विनियोजन गरेर काम भएको छ, यस वर्ष पनि केही काम भएका छन् भने पदमार्गले गर्दा केही पर्यटकहरु पनि आउने गरेको पाइएको छ ।”

उहाँले अहिलेसम्म पदमार्ग लगायतका संरचना निर्माण गर्दा ८० लाखभन्दा बढी खर्च भएको भन्दै थप संरचना क्रमागत रुपमा बन्ने बताउनुभयो । पर्यटक भित्राउन प्रचारप्रसारसँगै सिग्दीमा पुनः घरबास (होम स्टे) संचालनका लागि स्थानीयसँग सहकार्य गर्ने अध्यक्ष शर्माको भनाई छ । सिग्दीदेखि करिब तीन किलोमिटरको दूरीमा कौडे लेक रहेको छ ।

बरेङ गाउँपालिका–२ का स्थानीय हिरा पुन मगरले पदमार्गले पर्यटकलाई आकर्षण गरेको बताउनुभयो । पहिले कौडे लेक स्थानीयको घाँस दाउरा गर्ने थलो भए पनि अहिले पर्यटकहरु घुम्न आउने गरेको उहाँको भनाई छ । पदमार्ग नहुँदा यस लेकमा बाहिरी मान्छे नपुग्ने गरको भन्दै अहिले आन्तरिक पर्यटकको आगमन हुन थालेको उहाँ बताउनुहुन्छ ।

“पदमार्गले कौडे लेकको प्रवद्र्धन हुँदै गएको छ, पहिले स्थानीयलाई मात्रै थाहा थियो कौडे लेकको विशेषता, अहिले घुम्न आउने सबैले थाहा पाउन थाले, अग्लो पहाड यति धेरै सुन्दरताले भरिएको छ, त्यसले गर्दा यहाँ एक पटक घुम्न आएकाहरु पुनः अर्को पटक आउने गरेका छन्,” पुन मगरले भन्नुभयो– “सिग्दी गाउँ हुँदै कौडे पुग्ने हुँदा यहाँको आय आर्जनमा पनि केही परिवर्तन आउँछ कि भन्ने अपेक्षा गरेका छौँ, अहिले बिदाको समयमा पर्यटक बढी आउने गरेका छन्, सम्बन्धित निकायले पर्यटक बढाउने खालका कार्यक्रम ल्यायो भने दैनिक यहाँ आउने बढ्ने छन् ।”

कौडे लेकबाट धौलागिरी, माछापुछ्रे, अन्नपूर्ण लगायत पूर्वदेखि पश्चिमसम्मका अनगिन्ती हिमश्रृङ्खलासँगै बागलुङको अधिकांश भू–भाग तथा गुल्मी, पर्वत, पाल्पा लगायतका ठाउँहरु र भञ्ज्याङ्हरु सहज रुपमा अवलोक गर्न सकिन्छन् । सूर्योदय र सूर्यास्तसमेत यहाँबाट देख्न सकिन्छ ।

छहरेखोला झरना र भैँसेखोला झरनाको प्रवर्धन
गाउँपालिकाले वडा नम्बर ४ मा रहेका छहरेखोला झरना र भैँसेखोला झरनालाई व्यवस्थित बनाउन थालेको छ । यहाँसम्म पुग्ने पदमार्ग, मन्दिर र प्रतिक्षालयहरु निर्माण गर्न थालिएको भन्दै यी दुई झरनाको विकासका लागि यस वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर काम अगाडि बढाएको अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउनुहुन्छ । गत वर्ष पनि झरना प्रवद्र्धनका लागि १० लाख विनियोजन गरेर कामको सुरुवात गरेको अध्यक्ष शर्माको भनाई छ ।

पर्यटन मार्फत बरेङमा समृद्धि हाँसिल गर्न सकिने हुँदा यस क्षेत्रको विकासलाई जोड दिएको अध्यक्ष शर्माको भनाई छ । गाउँपालिका भित्रका सत्यवती मन्दिर, कालीलेक, सद्धिथान मन्दिर, छहरेखोला, भैंसीखोला झरना, भित्रिवन, भातेपोखरा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा रहेक वर्ष बजेट विनियोजन गरेर पूर्वाधार विकास गर्दै आएको उहाँको भनाई छ ।

“यहाँका पर्यटन प्रवर्धनका लागि पहिलो कार्यकालदेखिनै काम गर्दै आएका थियौँ, अघिल्लो कार्यकालमा केही बजेट विनियोजन गरेर कामको थालिन गरेका थियौँ, अहिले धेरै संरचनाहरु बनेका छन्” उहाँले भन्नुभयो । गाउँपालिकाले धार्मिक पर्यटकीय स्थलको विकाससँगै कला संस्कृतिको समेत संरक्षणमा जुटेको अध्यक्ष शर्माको भनाई छ ।

उहाँले बरेङ गाउँपालिका विभिन्न जातजातिको संगम स्थल भएको भन्दै उनीहरुको रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षणका लागि आफूहरु लागेको बताउनुभयो । गाउँपालिकाले मौलिक कला संस्कृति, भेषभूषा र परम्परालाई संरक्षणका लागि यस वर्ष दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *