लगानी सम्मेलन : नेपालका लागि ऐतिहासिक अवसर

सम्पादकीय
नेपालमा लगानीको यथेष्ट बहस हुन सकिरहेको छैन । लगानीको वातावरण, त्यसको सुरक्षा, सुनिश्चितता र प्रतिफलमा चौतर्फी संशय छ । मुलुकको राजनीति उस्तै बेथितिग्रस्त र अस्थिरता उन्मुख छ । पछिल्लो समय त विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा उल्लेख्य ह्रास छ । धेरै लगानीकर्ताहरु यतिबेला ठुलो संकट र सकसको मझधारमा छन् । कैयन साना लगानीकर्ता त अहिलेको मन्दी थेग्न नसकेर उठिबास भइसकेका छ्रन् । कैयन व्यवसायी विदेश पलायन भइसकेका छन् । उद्योग व्यवसायथ धराशायी हुने अवस्थामा छन् । यस्तो बेला सरकारले उद्योगी व्यवसायीहरुलाई सरकार हुनुको अनुभूति दिलाउनु पर्ने हो । अरु विकसित देशमा अप्ठ्यारा समस्या, संकटमा साथमा राज्य हुन्छ । नेपालमा अहिले सम्म यसको खासै गुञ्जायस हुन सकिरहेको छैन । जुन नेपाल र नेपालीका लागि दुर्भाग्यको कुरा हो ।

नेपालमा लगानी गर्ने कुरा अहिले निकै सोचनीय विषय बनिरहेको छ । संयोग यही बेला काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर हो । लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी छन् । नेपालका तीन सय ८५, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी रहेको लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन÷तीन, फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई÷दुईजनाको सम्मेलनमा सहभागिता छ । त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता छ ।

अहिलेको चौतर्फी आर्थिक मन्दी र निराशाका बाबजुद नेपालमा लगानी सम्मेलन हुनु सुखद कुरा हो । नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउने, लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य छ । उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिनु अपरिहार्य छ । तर, लगानी सम्मेलनमा कति सार्थक छलफल, बहस र लगानीको सुनिश्चितता हुन्छ ? सम्मेलनले क्रममा लगानीकर्ता र सरोकारवाबीच कति सम्झौता, समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुन्छ ? त्यसको भोलिका दिनमा कार्यान्वयन के कसरी हुन्छ ? त्यसका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । अहिले नेपाल सरकारको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्ने जुन पहल र प्रयास गरिएको छ, यो सकारात्मक छ । नीति निर्माता, लगानीकर्ता, विशेषज्ञ र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुन सक्नुपर्छ । यसका लागि नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गर्नुपर्छ । त्यसलाई व्यवहारिक रुपमा समेत कार्यान्वयन गरेर देखाउन सक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *