इलाम उपचुनावको सन्देश


सम्पादकीय\ प्रदेश र संघीय संसदको चुनाव भएको पुरा कार्यकाल नसकिँदै केही दिन यता उपनिर्वाचनले पुरै देशमा चुनावी सरगर्मी बढ्यो । २०७९ मंसिरमा भएको आमचुनावमा इलाम क्षेत्र नम्बर–२ बाट एमालेका सुवास नेम्वाङ र बझाङ (क) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । नेम्वाङ र सिंह दुवैको निधन भएपछि निर्वाचन आयोगले उपचुनाव गराएको हो । यसपटकको उपनिर्वाचनले सिट संख्याका आधारमा राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने अवस्थात थिएन । तर उपचुनावबाट प्राप्त नतिजा र सन्देश भने महत्वपूर्ण देखिएको छ । इलाम २ को उपचुनावमा संघीय संसदको दोस्रो ठूलो शक्ति नेकपा एमालेले बिजयी हासिल गरेको छ । इलाम–२ मा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ फराकिलो मतान्तर सहित बिजयी बनेका छन् भने उता, बझाङ जिल्लाको (क)मा पनि एमाले उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

इलाम २ को उपचुनाव यसपटक अधिक चर्चामा रह्यो । कारण यो क्षेत्र पहिचानका लागि आन्दोलित क्षेत्र हो । जहाँ कोशी प्रदेश नामाकरणको विषयमा चर्को असन्तुष्टि र आक्रोश छ । कोशी नाम राख्ने निर्णयविरुद्ध भएको आन्दोलनमा गत वर्ष ५ चैतमा एक जनाको ज्यान नै गएको थियो । नाम संशोधन नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिइरहेको पहिचान पक्षधरहरुले यो उपचुनावमा साझा उम्मेदवारका रुपमा डकेन्द्र थेगिमलाई उम्मेदवार बनाएका थिए । सरकारमै रहेका जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा सहित सबै जातीय तथा सामाजिक संस्थाहरुको समर्थन थेगिमले पाएका थिए । उनीहरुको उद्देश्य यो उपचुनावबाट जितेर आफ्नो एजेण्डालाई राष्ट्रिय बहसमा लैजानु थियो । त्यसका लागि बलियो जनमत भएको एमालेलाई हराउनुपर्ने थियो । अझ धरानका मेयर हर्क साम्पाङले थेगिमको उम्मेदवारीलाई प्रतिष्ठाको सवाल बनाएका थिए । तर, मुढा चिन्ह पाएका थेगिमले एमालेलाई रोक्न सकेनन् । अर्को तर्फ नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गम्भीर धक्का खायो । इलाम क्षेत्र नम्बर¬–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भयो । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसके जमानत जफत हुने व्यवस्था छ ।

यो निश्चय हो कि आम नागरिकको पुराना दलहरु प्रति चर्को गुनासो र आक्रोश छ । यसकै उपज हरेकजसो चुनावमा नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरु नयाँ शक्तिको रुपमा उदाउने गरेका छन् । गत वर्षको संघीय निर्वाचनबाट रास्वपा त्यसरी नै चामत्कारिक रुपमा उदाएको थियो । त्यति मात्र होइन, तनहुँबाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए पछि भएको उपनिर्वाचनमा पनि बिना संगठन रास्वपाका तर्फबाट डा.स्वर्णिम वाग्लेले अपत्यारिलो जित हासिल गरेका थिए । तर, यसपटकको उपनिर्वाचनमा त्यही रास्वपा जमानत जफत हुने अवस्थामा पुग्यो । यो किन त ? यसका पछाडि रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने सहित केही नेता सहकारी ठगी प्रकरणमा जोडिएका छन् । अर्को तर्फ मिसन ८४ को नारा दिएर अहिले हठात सरकारमा गएकोमा धेरैको बिरोध छ । कुरा नयाँ गरे पनि काम र कार्यशैली पुरानै देखाउने थालेको प्रतिफल अहिले रास्वपाले हासिल गरेको खस्कदो मत हो । पहिचानवादीको उम्मेदवार र उनले पाएको मतका आधारमा हेर्ने हो भने केही सन्देश जरुर छ । तर, निर्वाचनमा बिजयी एमालेजनहरु भने उपचुनावको सन्देश कोशी नामको अनुमोदन पनि भएकाले पहिचान पक्षधरले आत्मसाथ गरेर जानुपर्ने बताइरहेका छन् । यस विषय र पाटोमा त बहस हुँदै गर्ला । तर, उपचुनावले नेपाली राजनीतिक दल र नेताहरुलाई भने गतिलो सन्देश र पाठ भने जरुर दिएको छ । पुराना दलहरु सकिने जोखिममा त छन्, त्यसका बाबजुद पनि अझै सच्चिने आशामा नागरिक छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *